सिन्धुपाल्चाेक : इन्द्रावती र मेलम्चीमा आएकाे बाढीमा हराएकामध्ये एक जनाकाे शव भेटियाे

 असार २, २०७८ बुधबार १६:४५:६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा हराएकामध्ये एक जनाको शव भेटिएको छ भने आठ जना हराइरहेका छन् । बाढीमा बगेर हराएकाहरू जीवितै भेटिने सम्भावना कम भएको स्थानीयवासीले बताएका छन् । बाढीमा फसेकामध्ये ४३ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । केहीलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । 

हेलम्बु र पाँचपोखरीका फरक दुई नदीबाट उर्लिएको बाढीले इन्द्रावती करिडोरमा मानवीय क्षतिसहित ठूलो क्षति गरेको छ । बाढीले सयौँ घरटहरा, कृषि फर्म, सवारी साधन, सडक लगायत संरचना बगाएको हो । बाढीले मेलम्ची नगरपालिकाको सिटी पार्कको चिह्नसमेत नराखी बगाइदिएको छ । १२ करोड लगानीमा निर्माणाधीन सिटी पार्क उद्घाटनकाे तयारीमा थियो ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र प्रमुख व्यापारिक केन्द्र मेलम्ची जोड्ने पक्की पुल बाढीले बगाएको छ । बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको आयोजनाको हेडवक्स स्थलमा पनि क्षति पुर्‍याएकाे छ  ।

हिजो खोलामा बाढी आएदेखि बन्द भएको विद्युत् आपूर्ति अझै पनि सञ्चालन हुन सकेको छैन । सञ्चार विच्छेद हुँदा मेलम्ची बजारमाथिको अवस्था र क्षतिबारे यकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

पर्यटकको प्रमुख आकर्षण रहेको इन्द्रावती र मेलम्ची करिडोरका कराेडौँ लगानीका ट्राउट माछा फार्म सबै बगाएको छ । करिडोर नजिक रहेका रिसाेर्टका भवनसहित सबै सामग्री इन्द्रावतीमा विलय भएको पीडित द मेलम्ची भ्यु रिसोर्टका सञ्चालक लक्ष्मण गौतमले बताउनुभयो ।

बाढी हिजो बेलुका ६ बजेदेखि बढेको हो । घाम हुँदै बाढी आएकाले स्थानीयले थाहा पाएकाले मानवीय क्षति कम गराउन सके पनि धेरै संरचना बाढीको सिकार भए । मेलम्चीको ह्योल्मो बसपार्क पूरै डुबाउँदा सवारी साधन र बसपार्कमा रहेका होटलहरूको निसानासमेत देखिँदैन ।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हेलम्बु हुँदै आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु र चनौटे बजार पनि डुबानमा परेको छ । आयोजनामा फसेका ३७ जना कामदारलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

एक सय ४५ जनाको ज्यान जाने गरी २०७१ सालमा गएको जुरे पहिरोपछि सिन्धुपाल्चोकमा बर्सेनि जस्ताे विपत्ति आइरहेका छन् ।     

अन्तिम अपडेट: चैत १०, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया