मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग

 असार ३, २०७८ बिहिबार १०:२१:४७ | रासस
unn.prixa.net

झापा  - पुरानो व्यापारिक सहर भद्रपुरलाई भारतको बिहार र बङ्गालसँग जोड्ने मेची पुल बनेको तीन वर्षपछि बल्ल भारतीय पक्षले पहुँच मार्गको निर्माण गरेको छ । भारतीय सीमा क्षेत्रमा पहुँच सडक नबन्दा लामो समयदेखि पुल प्रयोजनविहीन भएको थियो । 

भारतको बिहार सरकारले पहुँच मार्गका रूपमा रहेको गलगलिया बजारबाट मेची पुलसम्मको ६५० मिटर लामो दुई लेनको पक्की सडक र त्यही सडकमा ३० मिटर लम्बाइको पुलसमेत निर्माण गरेको नेपाल–भारत मैत्रीसङ्घ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले बताउनुभयो ।

मेची पुलको पश्चिम भागमा नेपालतिर सडकको कुनै समस्या छैन । अब भारतीय क्षेत्रमा समेत पहुँच मार्गको निर्माण भएपछि दुवै देशबीच आवतजावत र मालसामानको ढुवानीमा सहज हुने रेग्मीले बताउनुभयो । पहुँच मार्ग नबन्दा मालसामान ढुवानी गर्ने र गाडीलाई ओहोरदोहोरमा कठिनाइ थियो ।

गलगलियाका पूर्वमुखिया गणेश रायले पहुँच मार्ग आठ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको जानकारी दिनुभयो । मेची पुल नेपाली भूभागमा रहेको छ । पुल जोड्ने भारतीय भूभाग पश्चिम बङ्गाल र बिहार प्रान्तको सिमानामा पर्ने भएकाले पहुँच मार्ग कता लैजाने भन्नेमा भारतीयहरुबीच विवाद थियो । अहिले पहुँच सडक बिहारतिर लगिएको छ ।

नेपाल–भारत मैत्रीसङ्घ झापाका अध्यक्ष रेग्मीले नेपाली पक्षले मेची पुल निर्माण गरिसकेको तीन वर्षसम्म भारतीय पक्षबाट पहुँच मार्ग नबनाइँदा नेपाली व्यवसायी र भद्रपुरबासीले दबाब सिर्जना गरेका कारण अहिले सडक बनेको बताउनुभयो ।

पहुँच मार्ग छिटो निर्माण गर्नका लागि प्रदेशसभा सदस्यद्वय ओमप्रकाश सरावगी र वसन्त बानियाँ, झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश-१ का अध्यक्ष टीकाराज ढकाल, नेपाल–भारत मैत्री सङ्घका जिल्ला अध्यक्ष रेग्मीलगायतले भारतीय सरोकारवाला पक्षलाई भेटेर याे सडक बनाउन पटक-पटक दबाब दिनुभएको थियो ।

पहुँच सडक बनेपछि बाह्रै महिना मेची पुल प्रयोगमा आउने र त्यसबाट भद्रपुर भन्सारमार्फत व्यापार बढ्ने अपेक्षा गरिएको छ । यसअघि सडक नबन्दा कोइला, क्लिङ्कर, पेट्रोललगायतका ठूला मालबाहक ट्रकद्वारा आयात गरिने सामग्री मेची भन्सार हुँदै नेपाल ल्याइने गरिएको थियो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया