सुरक्षित र भरपर्दो साइबर स्पेस बनाउन सरकारलाई सूचना प्रविधिसँग सम्बन्धित संस्थाको सुझाव

 असार ४, २०७८ शुक्रबार १६:५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सूचना प्रविधिसँग सम्बन्धित तीन वटा संस्थाले सुरक्षित र भरपर्दो साइबर स्पेस बनाउन सरकारलाई सुझाव दिएका छन् । कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ क्यान, सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेशन र इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालले एक वर्षभित्रै सुरक्षित एवम् लचिलो साइबर स्पेस निर्माणका लागि कानुनी व्यवस्था गर्न र त्यसका लागि ६ महिनाभित्र संस्थागत र सङ्गठनात्मक पूर्वाधार स्थापना गर्न संयुक्तरुपमा सरकारलाई सुझाव दिएको हो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जेठ १४ गते सार्वजनिक गरेको राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदामा राय दिँदै तीन वटा संस्थाले साइबर सुरक्षाजस्तो संवेदनशील विषयमा जतिसक्दो चाँडो कानुन र संस्थागत संरचना निर्माण गर्नुपर्ने जोड दिएका छन् । मस्यौदामा सुरक्षित साइबर स्पेस निर्माणका लागि तीन वर्ष र त्यसका लागि संस्थागत तथा सङ्गठनात्मक पूर्वाधार निर्माणका लागि पाँच वर्षको समय प्रस्ताव गरिएको छ । 

त्यसैगरी नीति कार्यान्वयनका लागि एक वर्ष प्रस्ताव गरिएकोमा त्यसलाई तीन महिनामा झार्न सुझाइएको छ । नागरिकका संवेदनशील तथ्याङ्क सङ्कलन, प्रशोधन, प्रयोग तथा भण्डारण गर्ने निजी तथा सार्वजनिक निकायहरुको संस्थागत सुरक्षा नीतिको आवधिक परीक्षण गर्न र नागरिकको अनलाइन पहिचानको डाटा सुरक्षा, डाटा गभर्नेन्स र वैयक्तिक गोपनीयताका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सेवा प्रदायकसँग डाटा आदानप्रदान गर्न पूर्वाधार निर्माण गर्न र साइबर बीमासम्बन्धी कानुन बनाउन पनि आग्रह गरिएको छ ।   

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया