हेर्दाहेर्दै मेलम्ची बजार यसरी बगर बन्यो

 असार ५, २०७८ शनिबार ११:१४:५३ | सीताराम दुलाल
unn.prixa.net

मेरो घर सिन्धुपाल्चोक, मेलम्ची–११ बजारमै पर्छ । पेसाले बैंकमा जागिरे हुँ । असार १ गते बेलुकी साढे पाँच बजे बैंकका म्यानेजर सरलगायत एक/दुईजना अरु साथीसँगै खाजा खाएर रोमन भाइको घरमा बसिरहेका थियौँ। रोमनको बुबा र मेरो बुबा इन्द्रावती तेस्रो जलविद्युत आयोजनामा जागिर गर्नुहुन्छ । 

रोमनको बुबाले फोन गरेर बाढी आएको छ भन्नुभयो । हामीले सामान्य त होला नि भनेर खासै वास्ता गरेनौँ । त्यसपछि फेरि मेरो बुबाले पनि फोन गरेर ठूलो बाढी आएको र घर छाडेर बाहिर जान भन्नुभयो। बाहिर निस्केर हेर्दा त साँच्चिकै डरलाग्दो गरी इन्द्रावती खोला उर्लेर आएको रहेछ । मेरो घर बजारमा चोकमै पर्छ । त्यसपछि म घर फर्किएँ । 

खासै असर गर्दैन होला भनेर घरमै बसेको थिएँ । एकछिनपछि मेलम्ची खोला पनि माथि थुनिएको छ भन्ने समाचार आयो । त्यसपछि घरमा बसिरहने अवस्था रहेन ।  हामी सबै घर छाडेर माथि डाँडामा गएर बस्यौँ । खोलामा पानीको मात्रा बढ्दै गयो । साढे एघार बजेतिर मेलम्ची र इन्द्रावती दुवै उर्लेर आए । चारैतिर डरलाग्दो गरी खोला कराएको आवाज सुनिन थाल्यो । 

चकमन्न रातमा हेर्दाहेर्दै मेलम्ची बजार बाढीभित्र समाहित भयो । बाढीको भयानक स्वरुप नियाल्नु र मानिसको कोलाहल सुन्नुबाहेक हामीले गर्न सक्ने केही थिएन । मेलम्चीका सबै मानिस माथि आइसकेका थिए । टर्च बालेर तल बाढीको उर्लँदो रुप हेरिरहेका थिए । सुत्न सक्ने अवस्था नै थिएन । बाढी थामिने कुनै सङ्केत नै देखिएन । 

तल्लो बजारमा त बेलुकी साढे पाँच ६ बजेतिरै मानिसहरु हटिसकेका थिए । दुईवटै खोला थुनिएका छन् र ठूलो बाढी आउँदैछ भन्ने थाहा भएपछि यहाँका युवाहरु मिलेर बुढापाका, केटाकेटी, महिला सबैलाई गाडी र मोटरसाइकलमा राखेर माथि टारमा पुर्याएका थियौँ । 

बजारमा बहुउद्देश्यीय कभर्डहल निर्माणाधीन अवस्थामा थियो । छाना छाइसकेको थियो । राति १२ बजे खोलाले त्यही कभर्डहललाई हान्यो । कभर्डहल ढल्यो । त्यसैले गर्दा त्यहाँ बाँध बाँधेजस्तो भयो । बालुवा जम्न सुरु भयो । ठूलो पोखरी बन्यो । त्यसको केही समयमा नवलपुर जोड्ने पुल र इन्द्रावती गाउँपालिका स्कुल पनि बाढीले बगायो । त्यहीँनेर भएको अर्को झोलुङ्गे पुल पनि लिएर गयो । 

भोलिपल्ट बिहान चार बजे फड्के जोड्ने ढलानको पुल पनि बगायो । कस्तो बाढी आएछ भनेर हेर्न जाँदा अचम्ममा परियो । खोलामा पानी छैन ।  बालुवा र ढुङ्गा मात्र बगेको देखिने । त्यो पनि कतिबेला वारि किनारा र कतिबेला पारि किनारा जाने । त्यही बालुवा र ढुङ्गा मिसिएको लेदो थुप्रिएर बिस्तारै जमिनको सतह बढ्दै गयो र पानी माथि आउन थाल्यो र मेलम्ची डुबानमा पर्यो । तल्लो बजारमा रहेको बसपार्कबाट पानी छिर्यो र सडक हुँदै बगेको बाढीले बिस्तारै सबै घर डुबे । एक तला, दुई तला, तीन तला र कुनै घर त पुरै डुबे । 

खानेपानीभन्दा तल नयाँ बस्ती बसेको छ । त्यो बस्तीमा बिहानसम्म पानी पसिसकेको थिएन । पछि मात्रै बाढी पस्यो । सबै पुरेर बगर बनायो । खोलाले चौकीतर्फका ५ र ६ घर छन् । ती घरहरुलाई खोलाको जोखिममा छन् । ती घरहरु जोगाउन  गाह्रो देखिन्छ । अहिले लेदो पानी बग्न केही कम भएको छ । होटलवालाले आफैँले ढुङ्गाहरु हालेर आफ्नो ठाउँमा छेक्दै छन् । तल तार जाली हालेर खोलालाई उतापट्टी पठाउने प्रयास भइरहेको छ । 

पुरिएका घरहरुमा त अब बस्न सक्ने कुनै अवस्था नै छैन । उहाँहरु त्यहाँबाट अन्तै सरिसक्नुभयो । ५०,६० घरजति बस्नै नमिल्ने छन् । त्यहाँ दबदबे हिलो र कुनै ठाउँमा साह्रो बालुवा आएर अड्केर बसेको छ । कसैले पनि सोच्दै नसोचेको बाढी आयो । बुढापाकाहरुसँग सोध्दा पनि यस्तो पहिले कहिल्यै पनि नदेखेको बताउनुहुन्छ । उहाँहरु आफैँ अचम्म पर्नुभएको छ । बितेको सय वर्षमा पनि यो ठाउँमा यस्तो बाढी आएको भन्ने कुनै जानकारी छैन । 

भूकम्पले जति पनि कच्ची घरहरु भत्केका थिए, ती घरहरु पक्की बनेर सुन्दर बजार बनेको थियो । बसपार्क, पार्क, खेलमैदान, कभर्डहल बनिसकेका थिए । विकासको गतिसँगै राम्रो स्वरुप लिँदै थियो बजारले । यहीबेला बाढी आएर निको भएको घाउमा खुकुरीको प्रहार परेजस्तो भएको छ । मेलम्ची बजार सिन्धुपाल्चोकका तीनवटा पालिकालाई जोड्ने केन्द्रबिन्दु हो । अहिले पुलहरु बगाउँदा ओहोरदोहोर गर्ने ठाउँ छैन । पक्की पुल पनि छैन ।

झोलुङ्गे पुल एउटा बाँकी छ, त्यो पनि चुँडिएको छ । त्यसको भर छैन । राहतहरु आइरहेका छन् । नगरपालिकाले पनि एकद्वार प्रणालीमार्फत बाँडिरहेको छ । जसको घर छैन उहाँहरुलाई बिहानको खाजा, दिउँसोको खाजा र बिहान बेलुकाको खानाको व्यवस्था नगरपालिकाले नै गर्दै आएको छ । यस्तै अन्य जति पनि ठाउँबाट राहत आउँछ, त्यो नगरपालिकाले लिन्छ र वितरण गरिरहेको छ । मनसुन भर्खर सुरु भएकाले अझै बाढी आउने त्रास बाँकी नै छ।

(सिन्धुपाल्चोकको मेलम्ची बजार घर भएका दुलालसँगकाे कुराकानीमा आधारित)
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सीताराम दुलाल

सीताराम दुलाल सिन्धुपाल्चोक मेलम्चीका स्थायी बासिन्दा हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया