अब नेपालकै बाटाे हुँदै वाल्मीकि आश्रम

 असार ९, २०७८ बुधबार १८:१७:१८ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – नेपाली भू–भागमा रहेकाे महत्त्वपूर्ण धार्मिक पर्यटकीय स्थल वाल्मीकि आश्रम अब नेपालकै बाटो हुँदै सहज रूपमा जान सकिने भएको छ । भारतीय सीमासँग जोडिएको चितवनमा पर्ने वाल्मीकि आश्रम अहिले भारतको बाटो हुँदै जानुपर्ने बाध्यता छ ।

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) नवलपुरको त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरी नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुल सम्पन्न हुने चरणमा रहेकाले अब चाँडै नेपाली भूमिबाट वाल्मीकि आश्रम पुग्न सकिने छ । छ वर्ष अघिदेखि पुल निर्माणको पहल भए पनि विभिन्न अवरोधका कारण पुल निर्माणको कामले गति लिन सकेको थिएन । निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पुल निर्माणको प्रक्रिया सुरु गर्न नै लामो समय लागेको थियो । अब भने चाँडै नेपालका दुई महत्त्वपूर्ण धार्मिक क्षेत्र त्रिवेणी धाम र वाल्मीकि आश्रम झोलुङ्गे पुलमार्फत जोडिने भएका छन् ।

वाल्मीकि आश्रम चितवनमा पर्ने भए पनि नेपालकै बाटो भएर जान असम्भव जस्तै रहेको छ । नेपाली भूमिमै रहेको धार्मिक तथा पौराणिक स्थल वाल्मीकि आश्रम पुग्न भारतीय भू–भाग हुँदै पुग्नुपर्ने बाध्यता रहँदै आएको छ । वाल्मीकि आश्रम पुग्न पूर्वी नवलपरासीको त्रिवेणी हुँदै भारतीय बाटो प्रयोग गरेर पुग्नुपर्ने बाध्यता छ । चितवनबाट सडक सञ्जालले जोड्न सकिएको छैन । त्रिवेणीबाट नेपालको बाटो हुँदै पुग्न नारायणी नदीमा डुङ्गाबाट पार गर्नुपर्छ । तर अब झोलुङ्गे पुल निर्माणपछि सहज रूपमा नेपाली भूमि हुँदै वाल्मीकि आश्रम पुग्न सकिने छ ।

त्रिवेणी र वाल्मीकि आश्रम जोड्ने गरी निर्माणको क्रममा रहेको झोलुङ्गे पुलका लागि नारायणी नदी वारिपरि लठ्ठाका लागि टावर निर्माण (बेस) को काम सम्पन्न भएको छ । अब लठ्ठा तान्ने काम मात्रै बाँकी रहेको पुलका सब–कन्ट्र्याक्टर ताराप्रसाद पौडेले जानकारी दिनुभयो । पौडेलका अनुसार लठ्ठा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएकाले केही ढिलाइ भएको छ । १५ दिनअघि मात्रै लठ्ठा उपलब्ध भएको उहाँले बताउनुभयो । चैत महिनामै लठाठा उपलब्ध भएको भए यति बेलासम्म काम सम्पन्न हुने उहाँकाे भनाइ छ । पुल सम्पन्न गर्ने पछिल्लो सम्झौता जेठ  मसान्तसम्म रहेको थियो ।

वर्षा रोकिएर काम नियमित हुन पाएमा साउन महिनाभित्र पुलको काम सकेर हस्तान्तरण गर्ने योजना रहेको पौडेलले बताउनुभयो । झोलुङ्गे पुलको लम्बाइ पाँच सय ३५ मिटर छ । रुबिना–मना जेभी कन्स्ट्र्क्शनले झन्डै ६ कराेड रुपैयाँकाे लागतमा पुल निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार काम भइरहेको छ ।

नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश मल्लसहितको टोलीले पुलको कामको निरीक्षण गरिरहेकाे छ । सरकार र राष्ट्रपति कार्यालयले समेत निकै महत्त्वका साथ हेरेको यस पुलको कामलाई जतिसक्दो छिटो पूरा गर्न ताकेताका लागि प्रशासनको टोली केही दिनअघि त्रिवेणी पुगेको थियाे । ‘राष्ट्रपतिज्यूले समेत निकै चासो दिनुभएको छ, वाल्मीकि आश्रम भारतको बाटो होइन झोलुङ्गे पुल तरेर नेपालकै बाटो भएर जाने हो भन्नुभएको छ । त्यसैले हामीले यो पुल निर्माणको काम छिटो गर्न ताकेता गरेका हौँ’, प्रमुख जिल्ला अधिकारी पंगेनीले भन्नुभयो ।

नदी तारेर लठ्ठा पारि लैजान काठको डुङ्गाबाट नसकिने हुँदा मोटरबोटको प्रयोग गरेर लैजानुपर्ने भएको प्रजिअ पंगेनीले बताउनुभयो । काममा ढिलाइ नहोस् भन्नका लागि समन्वय गरिएको उहाँले बताउनुभयो । भारतीय गण्डक नहर हेर्ने निकायसँग समन्वय गरेर मोटरबोटमार्फत् लठ्ठा पारि लैजाने कुरा भएको उहाँको भनाइ छ । भारतीय निकायले पनि मोटरबोट सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ पंगेनीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया