हल्ला नगरिकन छिट्टै खाेप ल्याएर देखाउँछाैँ, बाढी–पहिरो प्रभावितलाई प्राथमिकता दिन्छाैँ : मन्त्री श्रेष्ठ

 असार ११, २०७८ शुक्रबार १५:३४:१९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै यस्ताे निर्णय गर्नुभएको हो । 

उहाँले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताउनुभयो । कोभिड–१९ विरुद्धको खोपका बारेमा धेरै अब हल्ला होइन, काम गरेर देखाउँछौँ, उहाँले भन्नुभयो, हामी कुराभन्दा काममा विश्वास गर्दछाैँ, त्यसैले हल्ला नगरिकन छिट्टै नै खोप ल्याएर चमत्कारी देखाउने छौँ ।

उहाँले खोप ल्याउनका लागि विभिन्न देशसँग छलफल भइरहेको समेत बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र पालिकाकाे समन्वयबाट मात्रै कोरोना भाइरस नियन्त्रण गर्न सकिने भनाइ राख्नुभयो । 

उहाँले कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि नै सरकारले तयारी थालेको जानकारी दिनुभयो । उहाँले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता रहेको भन्दै कोभिड–१९ नियन्त्रण गर्न सके अरू क्षेत्रलाई चलायमान गराउने सकिने धारणा राख्नुभयो । 

यस्तै मन्त्री श्रेष्ठले तेस्रो लहरबाट बालबालिकालाई बचाउनका लागि स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधार बनाउन बैंकिङ एसाेसिएशनले उपलब्ध गराउने ३३ करोड रुपैयाँको स्वीकृत गर्ने सैद्धान्तिक सहमतिमा निर्णय गर्नुभएको छ । 

यस्तै उहाँले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ६ सय सघन उपचार कक्ष (आईसीयू), एक सय भेन्टिलेटर, एक हजार चार सय हाई–डिपेन्डेन्सी युनिट (एचडीयू), दुई सय ५० बालबालिकाका लागि शय्या थप गर्ने निर्णयमा समेत हस्ताक्षर गर्नुभएको छ । 

पदबहालीका क्रममा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदाे असोज मसान्तभित्र ३३ प्रतिशतलाई खोप दिनसके सङ्क्रमण नियन्त्रणको नजिकमा पुग्ने बताउनुभयो । उहाँले एक करोड १० लाख डाेज खोप किन्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । उहाँले पहिलो र दोस्रो लहरको कोभिड–१९ को नियन्त्रण गर्न स्वास्थ्यकर्मीको महत्त्वपूर्ण भूमिकाले गर्दा अन्य देशको तुलनामा राम्रो काम भएको बताउनुभयो । 

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा. रोशन पोखरेललगायतले लक्षित जनसङ्ख्यालाई खोप नै उपलब्ध गराउन सकेमात्र सङ्क्रमण कम गर्न सकिने धारणा राख्नुभएको थियो । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया