सरुवा, बढुवा र विदेश पठाउने अवसरका निम्ति एउटा पुलिस मकहाँ नआओस् : मन्त्री पाैडेल

 असार ११, २०७८ शुक्रबार १६:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारीअनुसारकाे काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताउनुभएको छ । शुक्रवार गृह मन्त्रीका रूपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताउनुभएको छ । 

उहाँले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताउनुभयो । संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ । हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यही हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । कुनै प्रहरी सङ्गठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रबन्ध र स्थापित प्रणालीहरू छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पूरा गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’

मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफू कहाँ नआउनका लागि निर्देशन गर्नुभयो । आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उहाँले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म कहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साँच्ची नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतीका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस् । प्रहरी सङ्गठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरू स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही/जिम्मेवार छौँ, त्यस ढङ्गले गर्नेछौँ । त्यसबाहेकका सबै काम यहाँहरूले गर्नुपर्दछ ।’

उहाँले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताउनुभयो । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरिकन आफ्नो काम गर्न पनि उहाँले निर्देशन दिनुभयो । 
मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताउनुभयो । उहाँले गृह सचिवसँग दिनमा एक पटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृह सचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिनुभयो ।    

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया