‘व्यवहार परिवर्तन गरौँ : परिवर्तित भाइरसलाई लिएर चिन्तित बन्नु पर्दैन’

 असार १४, २०७८ सोमबार ९:५२:५५ | डा. समिर अधिकारी
unn.prixa.net

काठमाण्डाै - भाइरसहरु स्वाभाविक रुपमा परिवर्तन हुन्छन् । कोरोना महामारी सुरु भएदेखि अहिलेसम्म कोरोना भाइरस विभिन्न स्वरुपमा परिवर्तन भइसकेको छ । परिवर्तन भएको भाइरसकै कारण दोस्रो लहरमा चुनौतीपूर्ण अवस्था भोग्यौँ । धेरै सङ्क्रमित भयौँ । अझै जोखिम टरेको छैन । 

दोस्रो लहरमा हामीले भोगेको डेल्टा भाइरसको स्वरुपमा परिवर्तन भएर नयाँ देखिएको भाइरस ‘डेल्टा प्लस’ हो । ‘डेल्टा प्लस’ नेपालमा समेत पुष्टि भएको छ । यो भाइरस विश्वका अरु १० वटा देशमा पुष्टि भइसकेको छ । परिवर्तन भएको भाइरस सङ्क्रामक भए पनि  जनस्वास्थ्य मापदण्डका पालना गरेमा आत्तिनु पर्दैन ।

भीडभाडमा नजाने, जनस्वास्थ्य मापदण्डको  पालना गर्ने, मास्क लगाउने, भौतिक दूरी कायम गर्ने गरेमा डेल्टा प्लस भाइरस देखिँदैमा चिन्ता लिनु पर्दैन । खोप लगाइसकेकाहरुमा सङ्क्रमण पुष्टि भएमा भाइरसले जोखिमपूर्ण अवस्थामा पुर्याउँदैन। हामी संवेदनशील भएर व्यवहार परिवर्तन गर्नै पर्छ। जनस्वास्थ्यको मापदण्डको पालना नगर्ने, भीडभाड जाने, नारा, जुलुस र सभा सम्मेलनमा हिँड्ने अनि भाइरस परिर्वतन भयो भनेर चिन्ता गरेर हुँदैन। कोरोनाको पहिलो र दोस्रो लहरमा सिकेका व्यवहार परिवर्तनका कुराहरुलाई निरन्तर पालना गर्नुपर्छ । 

व्यवहार परिवर्तन गर्नसकेमा आफू पनि जोगिन सकिन्छ अरुलाई पनि जोगाउन सकिन्छ । हेलचेक्र्याइँ गर्याैँ भने सङ्क्रमण बढ्दै जान्छ र अवस्था झनै चुनौतीपूर्ण बन्दै जान्छ। नयाँ देखिएको ‘डेल्टा प्लस’ भाइरसले एक जना सङ्क्रमित भएमा धेरै जनामा सङ्क्रमण हुने, चाँडो फैलने, जोखिमपूर्ण अवस्थामा पुर्याउन सक्ने हुन सक्छ । त्यसैले हामीले घर परिवार, काम गर्ने क्षेत्र र वरपरका सबैलाई कोरोना भएको छ कि भनेर शङ्काको दृष्टिले हेरेर जनस्वास्थ्यको मापदण्डको पालना गरेमा हामी आफू बच्न र परिवार, आफन्त र छरछिमेकीलाई बचाउन सक्छौँ । 

उ मेरो साथी हो, मेरो परिवारको सदस्य हो, उनीहरु सबै सुरक्षित छन्, उनीहरुमा कोरोना छैन भन्ने व्यवहार गर्‍याैँ भने सङ्क्रमण  फैलँदै जान्छ । त्यसैले सबैले एकले अर्कालाई शङ्का दृष्टिले हेर्नुपर्छ । सङ्क्रमण रोक्न हामीसँग अरु विधि वा तरिकाहरु छैनन् । कोरोनाको दोस्रो लहरमा हामीले जुन कहालीलाग्दो अवस्था भोग्यौँ, त्योभन्दा खराब अवस्था  भोग्न नपरोस् भन्नका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्नै पर्छ । हामी सचेत बन्नै पर्छ । 

निषेधाज्ञा खुकुलो हुँदै जानुको  अर्थ  जोखिम कम भइसक्यो भन्ने होइन । निषेधाज्ञा खुकुलो हुँदै जाँदा र जनस्वास्थ्यका मापदण्डको पालना गर्न छोड्दै  जाँदा सङ्क्रमण फैलिएर भयावह अवस्था आउँछ कि भनेर विज्ञ र  सरकार दुवै चिन्तित छ ।

दुवै डोज खोप लगाएकाहरुलाई नयाँ भाइरसको सङ्क्रमण भएमा जोखिमपूर्ण अवस्थामा पुर्याउँदैन भनेर अहिलेसम्मको अध्ययनहरुले भनेको छ । विश्व स्वास्थ्य सङ्गठन लगायतका संस्थाहरुले सूचना तथा जानकारी दिइरहेका छन्। सर्ने चक्रहरुका सम्बन्धमा थप अध्ययनहरु भइरहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न ठाउँबाट फरक–फरक उमेर समूहको ४८ वटा नमुना सङ्कलन गरेको थियो । नमुना परीक्षणका लागि भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एन्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला पठाइएको थियो । जसमध्ये नौवटा नमुनामा भाइरसको परिवर्तित रूप ‘डेल्टा प्लस’ पुष्टि भएको थियो । 

जुन यसअघि पनि नेपालमा देखिइसकेको छ । भाइरसको प्राकृतिक रुपमा सामान्य र धेरै परिवर्तन भइराख्ने हुन्छ भनेर सबैले बुझ्न आवश्यक हुन्छ  । सामान्य मात्र परिर्वतन हुँदा धेरै असर पार्ने सम्भावना हुँदैन । धेरै नै परिवर्तन भयो भने त्यसले  पार्ने  प्रभाव पनि अलि फरक हुन सक्छ । तर अहिलेसम्म परिवर्तन भइरहेका भाइरसका स्वरुपका लागि जनस्वास्थ्यका मापदण्ड प्रभावकारी छन् । यसको पालना गनुपर्ने हुन्छ । 

जनस्वास्थ्यका मापदण्डको पालना गरेनौँ भने र बिस्तारै निषेधाज्ञा खुकुलाे हुँदै गए सङ्क्रमण धेरै बढ्न सक्ने हुन्छ। कोरोना भाइरस रोकथाम गर्ने बाहेक हामीसँग अर्को उपाय छैन । त्यो रोकथाम जनस्वास्थ्यको मापदण्डको पालना गरेमा वा व्यवहार परिवर्तन गरेमा मात्र हुन्छ । रोक्ने कुरा हाम्रै हातमा छ ।

भाइरसले यस्तो हुन्छ, उस्तो हुन्छ भनेर हल्लाहरुको पछाडि लागेर हामी चिन्तित बन्नै पर्दैन । व्यवहार परिवर्तन गरेमा र जनस्वास्थ्यका मापदण्डको पालना गरेमा घर, परिवार र आफन्तलाई जोगाउन सक्छौँ । जानेको व्यवहार गर्न नचुकौँ । धेरै चिन्तित पनि नबनौँ ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ४, २०८१

डा. समिर अधिकारी

डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया