सार्वजनिक गाडीमा यात्रा गर्दा कसरी सावधानी अपनाउने ?

 असार २२, २०७८ मंगलबार ९:४७:१९ | डा. समिर अधिकारी
unn.prixa.net

कोरोनाको जोखिम कम भएको छैन । तर पनि निषेधाज्ञाहरू थप खुकुलो बनाइएको छ । सामाजिक, आर्थिक, मानसिक र सांस्कृतिक लगायतका जनजीविकाका विभिन्न पाटोहरुलाई सहज बनाउनका लागि निषेधाज्ञा खुकुलो पार्दै लगिएको हो । 

कोरोनाको दोस्रो लहरको चुनौतीपूर्ण अवस्था धेरै जनाले भोगिसकेका छन् । स्वास्थ्य मापदण्डको पालना गरेमा कोरोना सङ्क्रमणबाट जोगिन सक्छ भन्ने जानकारी धेरैलाई छ । सार्वजनिक ठाउँमा जाँदा आउँदा त्यति धेरै समस्या नहोला र मानिसहरुले स्वास्थ्य मापदण्डको पालना गर्नेछन् भन्ने विश्वास गरेर निषेधाज्ञाहरू थप खुकुलो पारिएको हो भनेर बुझ्न आवश्यक छ । त्यहीअनुसार व्यवहार गर्न आवश्यक छ ।  

हामी सार्वजनिक ठाउँमा जाँदा हाम्रो बानी व्यवहारहरु परिवर्तन हुन जरुरी छ । हामीले सार्वजनिक यातायातमा हिँड्दा, सार्वजनिक ठाउँहरुमा जाँदा कोरोना छैन, हामी सामान्य अवस्थामा नै छौँ, भन्ने बुझ्यौँ र त्यहीअनुसारको व्यवहार गरेमा ठूलो जोखिम हुन सक्छ । 

हामीले सङ्क्रमण रोक्नै पर्छ । त्यसका लागि हरेक कुरामा विचार गर्नुपर्छ । कतै निस्कनुभन्दा अगाडि घरमै बसेर काम पो गर्न सकिन्छ कि, त्यसको लागि केही उपाय अपनाउन सकिन्छ कि भनेर सोच्नुपर्छ । घरमा बसेर काम गर्नै नसक्ने अवस्था भएर बाहिर निस्कनै पर्ने अवस्था भएमा मात्र बाहिर निस्कनु पर्छ । 

मलाई लक्षण नभएको सङ्क्रमण हुन सक्छ अथवा मैले भेट्ने मानिसमा कोरोनाको सङ्क्रमण भएको हुन सक्छ । मलाई सर्न वा  मैले सार्न सक्छु भन्ने मनन गरेर त्यहीअनुसारको व्यवहार गर्नुपर्छ । कोरोना भएमा लक्षण  देखिने मात्र होइन, जोखिमपूर्ण अवस्था आउन सक्छ भनेर विचार गर्नुपर्छ । अस्पताल नै भर्ना हुनुपर्ने अवस्थाहरु  आउन सक्छ । 

त्यसैले एक व्यक्ति अर्को व्यक्तिसँग डराएर टाढा बस्नु पर्छ। मास्क लगाउनुपर्छ । सार्वजनिक गाडीमा चढ्दा र  झर्दा समाउने ठाउँमा अरु धेरै जनाले समाउने भएकाले त्यहाँ भाइरसको जोखिम  हुन सक्छ । ती ठाउँमा किटाणुहरु हुन सक्छन् भन्ने कुरा ख्याल गर्नुपर्छ । सङ्क्रमणको चक्र रोक्नका लागि सावधानी अपनाउनै पर्छ । 

नागरिकलाई यसबारे सुसूचित  गर्ने र बुझाउने काम सरकारले गरिरहेको छ ।  सरकारको तयारी यी कुराहरुमा नै धेरै छ । गाडीमा धेरै भीडभाड गर्न हुँदैन । सकेेसम्म दुई मिटरको दूरी कायम गर्नुपर्छ । सकेसम्म पैसा हातमा दिन हुँदैन, खुद्रा पैसा बोकेर हिँड्ने गर्नुपर्छ । सार्वजनिक गाडीमा पैसा राख्नका लागि कुनै एउटा भाँडो अलग्गै राख्ने  र त्यसमा अलग्ग खसाल्ने गरेमा जोखिम कम हुन सक्छ ।  गाडीका चालक, सहचालक, तथा यात्रुले मास्कको प्रयोग गर्नु अति नै आवश्यक छ । 

हातले कुनै पनि सतह छुनु हुँदैन । झुक्किएर छोइएमा सतहमा छोइएको हातले नाक, मुखमा छुनु हुँदैन । भाइरस आँखाले देख्न नसकिने भएकाले हाम्रो हातको माध्यमबाट शरीरमा प्रवेश गर्नसक्छ । एउटा व्यक्तिको सामान अर्को व्यक्तिले सकेसम्म नछुने गर्नुपर्छ । 

बेलाबेला थुकिरहने, मास्क खोलेर हाच्छ्यूँ गर्ने गर्नु हुँदैन । राम्रोसँग मुखमा टपक्क मिल्ने गरी मास्क लगाउनुपर्छ । मिलाएर मास्क नलगाउँदा सुरक्षित भइँदैन। यात्राबाट आइसकेपछि आफूले ल्याएका सामान, लगाएका कपडा अलग्गै राख्नुपर्छ । सकेसम्म नुहाएर मात्र घरमा छिर्नुपर्छ । ताकि हामीले बाहिरबाट ल्याएको कोरोना घरमा बसेका अरु सदस्यलाई सर्न नपाओस् । 

कोरोना सङ्क्रमण रोकथामबाहेक चिकित्सा विज्ञानसँग अरु कुनै उपाय छैन । त्यसैले सङ्क्रमण रोकथामका लागि आफ्नो बानी परिवर्तन गर्नेभन्दा बाहेक अरु प्रभावकारी उपाय केही हुन सक्दैन । घरमा बस्न गाह्रो भए पनि,  साबुनपानीले बेलाबेला हात धुन गाह्रो भए पनि, मास्क लगाउन गाह्रो भए पनि हामीले गर्नुपर्ने भनेका यिनै कुराहरु हुन् । यी निर्विकल्प उपायहरु हुन् ।

(स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता अधिकारीसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख १२, २०८१

डा. समिर अधिकारी

डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया