‘आलाेचना र टिप्पणी हाेलान् तर देउवाकाे नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने सङ्ख्या ठूलाे छ’

 असार २३, २०७८ बुधबार १३:३९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीको विधानले चुनावबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो–कोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताउनुभएको छ । पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा कुराकानी गर्दै उहाँले वडादेखि केन्द्रसम्मको चुनाव प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको भन्दै उहाँले योग्य र सक्षम उम्मेदवार आकाङ्क्षीका रूपमा अघि आउन सक्ने बताउनुभयो । विधानले दोस्राे पुस्तालाई अगाडि आउन नरोकेको भन्दै उहाँले पुर्खाको योगदान वा पुर्ख्याैली विरासतको आधारमा नभइ पार्टीमा योगदान गरेको आधारमा उम्मेदवारी चयन गर्न सबैलाई आग्रह गर्नुभयो ।

पार्टीभित्रका तीन पुत्र नेताहरूको भेटघाटलाई लक्षित गर्दै उहाँले पिताले गरेको योगदानको ब्याज खान पाउनुपर्छ भन्दा पनि योगदानको आधारमा स्थापित हुनुपर्ने दाबी गर्नुभयो । भेटघाटले सकारात्मक सन्देश नदिएको भन्दै उहाँले पार्टीमा ठूलो योगदान दिएका लाखौँ नेता तथा कार्यकर्ता रहेको बताउनुभयो । उहाँले आफू सभापति पदका लागि पनि योग्य रहेको भए पनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताउनुभयो । उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान विशिष्ट राजनीतिक परिस्थिति बुझेर उपयुक्त नेतृत्व चयन गरिनुपर्ने बताउनुभयाे । 

प्रस्तुत छ, डाक्टर महतसँग महाधिवेशनको तयारी, आउँदाे नेतृत्व र उम्मेदवारीबारेमा गरिएकाे अन्तर्वार्ताको सम्पादित अंश

प्रश्न : महाधिवेशन नजिकिएको छ, व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी ?

उत्तर : हाम्रो महाधिवेशनलाई कोभिड–१९ ले धेरै प्रभावित गर्‍याे । धेरै पटक कार्यतालिकामा संशोधन गर्नुपर्‍याे ।  नचाहँदा नचाहँदै यो परिस्थिति आयो । तर नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ । यसको तयारी सबै पक्षबाट भइरहेको छ । क्रियाशील सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुङ्गो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ । मौसमजन्य चुनौती र कोभिड सङ्क्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।

प्रश्न : नेतृत्वलाई लिएर आकाङ्क्षीहरू धेरै छन् । पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्ति र नयाँ आकाङ्क्षी पनि देखिएका छन् । यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ ?

उत्तर : पार्टीको विधानले कोषाध्यक्षबाहेक अधिकांश पदमा चुनावकाे व्यवस्था गरेकाे छ । पालिकाको वडादेखि केन्द्रसम्म चुनाव हुन्छ । यसले धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खोलेको छ । यसले आकाङ्क्षी र उम्मेदवारलाई बढाउँछ । यसबाट पहिलो पिँढी रामचन्द्र दाइ, शेरबहादुर दाइसँगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौँ । यसले सबै पदमा उम्मेदवार हुने सङ्ख्या बढ्यो । यस्तो अवस्थामा चुनावले आफैँ व्यवस्थापन गर्छ ।

अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिस्पर्धा गर्छ, चुनावमा आन्तरिक रूपमा कसलाई कहाँ मिलाउने भन्ने हुन सक्छ तर निर्वाचित हुने विषय त चुनावले नै व्यवस्था गर्छ । यसमा चुनौती पनि छ अवसर पनि छ । त्यसैले सबैको व्यवस्थापन चुनावले गर्छ । जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो, हामीलाई पनि लाग्छ पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी लिन तयार छौँ । यसको बाबजुद राजनैतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टीभित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ । अहिले विशिष्ट परिस्थितिमा हामी छौँ । यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय हो । पार्टी सम्हाल्ने कुरा बाहिर देखिए जस्तो हुँदैन । यस कारणले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्क नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना र टिप्पणी होलान् देउवाको तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो सङ्ख्या छ ।

प्रश्न : यसको अर्थ रामचन्द्र पौडेल, शेरबहादुर देउवा, शशाङ्क कोइराला, विमलेन्द्र निधिलाई एकै ठाउँमा लडाउने हो त ?

उत्तर : यस्तो छ कुरा, अहिले उपसभापति दुई जना हुनुहुन्छ । पहिला एक जना हुनुहुन्थ्यो । महामन्त्री दुई जना निर्वाचित हुन सक्नु हुन्छ । यदि हामीसँगै काम गरौँ फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ । होइन म पछि गर्दिन अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ ।

प्रश्न : ल फेरि पनि शेरबहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईँहरूको राजनीतिक समय, उमेर र भविष्य पाँच वर्ष पछाडि धकेलिने छ । योबारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?

उत्तर : म आफूलाई पनि नेतृत्वका लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ । हाम्रो अग्रज रहनुभएका दाइहरू हुँदा हुँदै अगाडि बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दा जान्दै पार्टीको परम्परा, संरचना र अनुभवले दाइहरूको सान्दर्भिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छौँ । हामी केही वर्षपछि धकेलिनेछौ तर हामी त्यो दाबी गरिरहेका छैनौँ । मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भइसकेँ, सबै किसिमको अनुभव छ तर सभापति दाबी गरिरहेको छैन । यस्तै अरू साथीहरूले पनि माथि दाबी गरिरहनुभएको छ । जस्तै:- विमलेन्द्रजी पनि हुनुहुन्छ । चुनावकाे समय आइसकेपछि कतिपय बन्छु भनेकाहरू फेरि नबन्ने दाउमा पुग्नुहोला । कतिपय उम्मेदवारी नै नदिएका साथीहरू नै अगाडि सर्नुहोला । त्यसकारण अहिले नै यस्तो भइसक्यो भन्ने अवस्था आइसकेको छैन ।

प्रश्न : पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसङ्ग तीन शीर्ष नेताका सुपुत्रहरू संयोगले सबैको पार्टीभित्र अलग–अलग योगदान छ । यसलाई वंश वा नाताले जोड्नुपर्दैन । तीनै जनाको घरमा लञ्च मिटिङ्ग भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ । पार्टीभित्र दुई समूह अहिले पनि छ । यसलाई कसरी हेर्नुभएको छ ?

उत्तर : उहाँहरूको भेटघाट मात्रैको कुरा त केही होइन तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सीमित रहेर बैठक बस्यो । यसलाई आम कार्यकर्ता पङ्क्तिले सहज रूपमा लिएको छैन । यो पार्टी समग्र जनताका छोराछोरीको पार्टी हो । उहाँका पिताजी नेताहरूले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान पनि छ । तर यो पार्टी त मेरो बुबा, मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौँ ।

हामी पार्टीमा सबै वर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौँ । उहाँहरूले जसको बुबाहरू नेता हुनुहुन्थ्यो, त्यसमा मात्रै सीमित भएर पटक–पटक बैठक बस्नुभयो । यसले उहाँहरूका लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौँ नेता तथा कार्यकर्ता छन्, सबैको धेरै–थोरै योगदान छ । कतिपय अवस्थामा उहाँहरूले गरेको भन्दा बढी योगदान गरेका साथीहरू पनि छन् । यसकारण हामी मिल्यौँ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रूपमा स्वीकार गर्दैनन् । त्यसमा नेता पुत्र पनि बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ ।

प्रश्न : यो प्रसङ्गको अर्को पाटो पनि छ, अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ । मान्नुहुन्छ ?

उत्तर : विकल्प खोज्दा नेता पुत्रमा नै सीमित हुनुपर्छ भन्ने छैन नि ! विकल्प खोज्न पाइन्छ । पिता नेता नभएका अरू पनि योग्य पात्र छन् नि ! विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिस्पर्धा छ तर यसमा नै सीमित हुनुपर्छ भन्ने छैन ।

प्रश्न : लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरिनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ । यसको मूल्याङ्कन कसरी गर्नुभएको छ ?

उत्तर : शेरबहादुरजीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्रजीले म अलग्गै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीहरूले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुरजीले एक पटक नेतृत्व गर्छु भन्नुभएको छ । समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ । तर म के भन्छु भने अहिले नै अन्तिम टुङ्गो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुँदैन । नोमिनेशन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ । तर उहाँ आफै उम्मेदवारी दिन योग्य हुनुहुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्याे, अलग–अलग बाटो लागिसक्नुभयो भन्ने मूल्याङ्कन अलि अपरिपक्व हुन्छ ।

प्रश्न : सबैले आ–आफ्नो उम्मेदवारी दाबी गरिसकेका छन् तर तपाईँले गर्नुभएको छैन । तपाईँको दाबी कुन पदमा हो ?

उत्तर : पार्टी सभापति स्वयंले पनि साथीहरूको बीचमा भने पनि औपचारिक रूपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले पनि घोषणा गर्न हतार गर्नुभएन । तथापि म सहमहामन्त्री भइसकेको छु । पहिला नै महामन्त्रीका लागि दाबी थियो । त्यसका लागि योग्यता र पृष्ठभूमि मसँग छ । सभापति पदमा शेरबहादुर दाइ आफैँ लड्छु भनेकाले सभापति पदमा दाबी छैन । म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु । नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ । समय आएपछि, समझदारी र टिम बनेपछि यसकाे औपचारिक घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।

प्रश्न : फेरि पनि नेतृत्वले तपाईँलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि ! 

उत्तर : यी कुरा भइसकेको छ । यी कुरा नभइ म यसरी बोल्ने थिइनँ । त्यो राम्रो पनि हुँदैन । हामी संस्कार अँगाल्छौ । उत्ताउलो भएर राजनीति कहिले पनि गरेनौँ । यस विषयमा छलफल भएको छ । तर औपचारिक रूपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया