‘याे तेराे मान्छे, याे मेराे मान्छे भन्ने स्वभावका कारण शेरबहादुरजी सफल सभापति बन्न सक्नुभएन’

‘अब पार्टीकाे नेतृत्व दाेस्राे पुस्ताका नेताले गर्छन्’

 असार २६, २०७८ शनिबार १४:५२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको आउँदाे नेतृत्व दोस्राे पुस्ताका नेताले गर्ने बताउनुभएको छ । शनिवारकाे अन्तर्वार्तामा उहाँले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको नेतृत्व आफू, विमलेन्द्र निधि र प्रकाशमान सिंहमध्ये एक जनाले लिने उद्घोष गर्नुभयो । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अभिभावकत्वको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले नेताद्वयलाई आफूले त्यस किसिमको भूमिकाका लागि आग्रह गर्ने बताउनुभयो । तेरो र मेरो भन्ने स्वभावका कारण सभापति देउवा पार्टीको सफल सभापति बन्न नसकेको टिप्पणी नेता काेइरालाले गर्नुभयो ।

नेता पुत्र त्रयको भेटघाट गुट–उपगुटको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाइ सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रित भएको उहाँले स्पष्ट पार्नुभयो । तीन नेताको भेटघाट पार्टीभित्र नयाँ शक्ति र गुट निर्माणका लागि नभइ एकताका लागि भएको एउटा सफल र प्रभावकारी प्रयासको रूपमा बुझ्न पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

प्रस्तुत छ आसन्न महाधिवेशन, क्रियाशील सदस्यता तथा नयाँ नेतृत्वका सम्बन्धमा नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालासँग गरिएकाे अन्तरवार्ताको सम्पादित अंश–

प्रश्न : आसन्न महाधिवेशनको तयारी कहाँसम्म पुगेको छ, व्यक्तिगत र संस्थागत रूपमा ?

उत्तर : सबैभन्दा पहिला म पार्टीकै तयारीको कुरा गर्न चाहन्छु । अहिलेसम्म क्रियाशील सदस्यताको टुङ्गो लाग्न सकेको छैन । यो अन्त्य–अन्त्यसम्म आइपुगेको छ । मलाई लाग्छ यो महिनाको अन्त्यसम्म क्रियाशील सदस्यताको अन्तिम टुङ्गाे लाग्छ र एउटा खाका तयार हुन्छ, त्यसपछि हामी अधिवेशनतर्फ जान्छौँ । अहिले पार्टीको ध्यान नै क्रियाशीलतर्फ छ । आज पनि हाम्रो छलफल भएको थियो । क्रियाशील सदस्यतामा के गर्ने भनेर कुरा भएको थियो । केन्द्रीय सदस्यहरू रामचन्द्र दाइ, शेखर काेइराला, मिनेन्द्र रिजाल र अन्य सदस्य पनि हुनुहुन्थ्यो । हामी क्रियाशील सदस्यतालाई कसरी टुङ्गो लगाउने भनेर छलफल गर्दै थियौँ । क्रियाशील सदस्यता टुङ्गो नलगाइकन त हामी महाधिवेशनमा जान सक्दैनाैँ । त्यही नै अवस्था हो ।

प्रश्न : क्रियाशील सदस्यता तत्काल टुङ्गो लाग्न सक्ने अवस्था देखिएको छैन । यसले महाधिवेशनलाई पो प्रभाव पार्छ कि भन्ने आशङ्का उब्जिएकाे छ । कि त्यो आशङ्का गलत हो ?

उत्तर : यो महिनाभित्र क्रियाशील सदस्यता टुङ्गाे लगाउन सकिएन भने त आशङ्का त भइहाल्यो नि ! यति जटिल छ नि क्रियाशील सदस्यको बारेमा, हरेक जिल्लामा केही न केही छ । भन्छन् ४६ जिल्लामा भइसक्यो । त्यसमा पनि उजुरी आएको छ, त्यसलाई पनि हेर्नुपर्‍याे । तसर्थ अहिलेको अवस्थामा भन्न सकिँदैन कि समयमा नै अधिवेशन हुन्छ कि हुँदैन भनेर । प्रश्न चिह्न चाहिँ छ । तर हाम्रो ध्यान त्यतैतिर गएको छ र हामी क्रियाशील सदस्यता छिटो टुङ्ग्याउँ भनेर भरमग्दुर प्रयास गर्दैछौँ ।

प्रश्न : अहिले शीर्ष नेताका तीन जना पुत्र नेताहरूको संयुक्त भेटघाटलाई लिएर विभिन्न विश्लेषण भएका छन् । अर्को गुट आउन खोज्यो अथवा शक्ति केन्द्रित गर्न खोजियो भनेर पनि टिप्पणी भएका छन् । खासमा के थियो तपाईँहरूको बैठकमा ?

उत्तर : खासमा विमलेन्द्र निधिले नै इनिसियट गरेको हो । सबैभन्दा पहिले उहाँको वैवाहिक सम्बन्धको ३५ वर्ष भएको थियो । त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो । दोस्राे पटक यही छलफल गर्‍याैँ र तेस्राे पल्ट प्रकाशमानजीकोमा । हाम्रो भनाइ के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्‍याे । सभापतिका लागि हामी तीन जनामध्ये कोही लड्छ भने ठिकै भयो । हामीमध्ये एकता हुनुपर्‍याे भन्ने कुरा आयो । यसमा धेरै कुरा उत्पन्न छन् । एउटा के भने विमलेन्द्र निधिले शेरबहादुरजीलाई छाड्नुभयो भने भन्ने पनि सङ्केत देखिन्छ । दोस्राे कुरा हामी तीनै जनामध्ये एक जना लड्ने तर त्यत्तिले पुग्दैन । रामचन्द्र दाइ, शेखर दाइ हुनुहुन्छ, प्रकाशमान र म त छँदैछु । विमलेन्द्र निधि हुनुहुन्छ । मैले के भनेँ भने, हामी तीन जनाबाट पाँच जना गरौँ, पाँच जनाबाट सात जना गरौँ, ताकि हामी एउटै सुत्रमा बाँधिन सकौँ भन्ने धारणा हाम्रो थियो । तर यता आएर हाम्रोबीचमा केही छलफल भएको छैन ।

हामी तीन जना एक ठाउँमा उभियौँ भने वेभ पनि आउँछ र पार्टी सङ्गठनलाई राम्रो गर्छ भन्ने दृष्टिकोणले नै गर्नुभएको रहेछ विमलेन्द्र निधिले । राम्रो पनि भयो । नकारात्मक पक्ष पनि छन् तर त्योभन्दा भन्दै पनि हामीले तीनै जना एकै ठाउँमा (नेता पुत्रहरू) एकै ठाउँमा उभियो भने नेपाली कांग्रेस एकै ठाउँमा आउँछ भन्ने सङ्केत चाहिँ प्रष्टै रूपमा दिएको छ ।

प्रश्न : देशकाे समूल राजनीतिक अवस्था प्रतिकूल भएकाले नेतृत्व परिर्वतन नगरौँ भन्ने आवाज पनि छ फेरि यता नेतृत्व परिवर्तनका लागि तपाईँहरूको पहल पनि भइरहेको छ । ठयाक्कै समय आएको हो पुस्तान्तरण वा नेतृत्व परिवर्तनको ?

उत्तर : समय त आएको छ । मेरो भनाइ के हो भने, अधिवेशन आउँदै छ, हामीले अधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्छ किनभने हाम्रो दुर्दशा भएको छ अहिलेको अवस्थामा । यसलाई दृष्टिगत गरेर नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नेमा हामी तीन जना नेता पुगेका छौँ । कसरी हुन्छ परिर्वतन ? कसले गर्छ परिर्वतन ? त्यो प्रश्न त आजसम्म यथावत् नै छ । तसर्थ हामी तीन जना, पाँच जना, सात जना हुँदै समूहलाई ठूलो पार्दै गयो भने एकै ठाउँमा उभिन सक्ने सम्भावना हुन्छ । त्यसले पार्टीलाई पनि बलियाे पार्छ । एकै ठाउँमा उभिँदा शक्ति पनि मिल्छ र एक जना मात्रै उम्मेदवार भयो भने हामी सजिलोसँग पुस्ता हस्तान्तरण गर्न सजिलो हुन्छ भन्ने ध्येयले हामीले यो कार्यक्रम सञ्चालन गरेको हो ।

प्रश्न : तीनै जना नेतृत्वको आकाङ्क्षी हुनुहुन्छ, कि त व्यवस्थापन गर्नपर्‍याे कि त तीनै जना लड्नुपर्‍याे । व्यवस्थापन गर्न सकिन्छ ? कुनै उपाय छन् ?

उत्तर : यो त हामीबीचको वार्ताबाट नै समाधान हुन सक्छ । होइन भने त तीनै जनाले लड्नुपर्‍याे । वार्तामा बसेर कुनै टुङ्गोमा त पुराउनुपर्‍याे नि ! हामीलाई लाग्छ कि नेतृत्व परिर्वतन हुनुपर्छ र हामी गम्भीर छौँ भनेर त एक जना मात्रै उभिनुपर्‍याे नि ! तीनै जना उभियौँ भने त फेरि परिर्वतन हुँदैन । त्यसैले हामी तीन जनाले यति चाहिँ के भन्नुपर्‍याे भने हामीमध्ये एक जना उभियौँ भने चाहिँ सजिलोसँग हस्तान्तरण हुन्छ भन्ने कुराको पुष्टि हुन्छ भन्ने मलाई लागेको छ ।

प्रश्न : अनि त्यो समयमा रामचन्द्र र शेरबहादुरजीको व्यवस्थापन कसरी गर्नुहुन्छ ?

उत्तर : शेरबहादुरजीको त धेरै उमेर पनि भइसक्यो । रामचन्द्र दाइ पाको मान्छे हुनुहुन्छ । उहाँको राजनीति धेरै उतारचढाव भयो । तर मलाई लाग्छ उहाँले पनि अघि आएर अभिभावकको रूपमा लिनुपर्ने हो ठाउँ तर उहाँ पनि प्रत्याशी त हुनुहुन्छ । उहाँलाई हामीले सम्झाउन सक्नुपर्‍याे कि तपाईँ अभिभावकको भूमिका खेलेर हामीलाई गाइड गर्नुहोस् । मलाई लाग्छ शेरबहादुरजीको पनि त्यही नै अवस्था देखिन्छ । धेरै बूढो भइसक्नुभयो । उहाँहरू कतिञ्जेलसम्म राजनीति गरिरहनुहुन्छ त ? अभिभावक बनेर हामीलाई गाइड गर्नुपर्ने बेलामा उहाँहरू आफैँ लड्ने विचार गर्दै हुनुहुन्छ । यसरी चाहिँ अप्ठयारो हुन्छ ।

प्रश्न : अहिले तपाईँ महामन्त्री हुनुहुन्छ । तपाईँको आफ्नो तयारी कस्तो छ ? आफ्नो उम्मेदवारीलाई कसरी स्थापित गर्नुहुन्छ ?

उत्तर : सबैभन्दा पहिले त मैले देशभरिका कांग्रेस कार्यकर्तासँग भेटघाट गरिरहेको छु । उनीहरूको राय, सल्लाह, सुझाव एउटा त्यो भयो । दोस्राे कुरा नेताहरूबीचमा पनि संवाद हुनु जरुरी छ । हुन त कुरा भइरहेको छ नभएको होइन । शेखर दाइ, प्रकाशमानजी, रामचन्द्रजी र विमलेन्द्रजीसँग पनि कुरा त भइरहेको छ । हामी यही आधारमा अगाडि बढ्यो भने हामी एउटा टुङ्गोमा पुग्छौँ । म हुन्छु वा को हुन्छ । जो सुकै होस्, एक जना उभिनुपर्छ, अहिलेको दृष्टिकोण मेरो त्यही नै हो ।

प्रश्न : आफ्नो कार्यकालमा शशाङ्क कोइरालाले बोल्नुपर्ने बेलामा बोलेनन्, कार्यकाल सकिएको समितिले भटाभट नियुक्ति गर्‍याे, त्यसमा दह्राे गरी बोलेनन् । नेतृत्वले आफ्नो हिसाबले पेलेर नियुक्ति दिने, मनोनय गर्ने कुराहरू भए, त्यो बेला पनि बोलेनन् । जुन बेला नबोल्नुपर्ने थियो, धर्मनिरपेक्षतालगायत विषयमा त्यस बेला किन बाेले ?

उत्तर : म भन्न चाहन्छु । एउटा त शेरबहादुर हाम्रो सभापति, हाम्रो यत्रो हार भयो चुनावमा हरेकले उहाँलाई विरोध गरे । ममात्रै एउटा व्यक्ति थिएँ जसले उहाँलाई डिफेन्ड गरेँ । मैले के भनेँ भने उहाँको मात्रै गल्ती होइन । हामी पनि पदाधिकारी हौँ । हाम्रो पनि उत्तिकै गल्ती हो । म ढाल बने शेरबहादुरजीको । मैले शेरबहादुरजीलाई धेरै सेभ गरेको हो र मैले नै विरोध गरिदिएको भए त पार्टी एक त छिन्न–भिन्न भएर झन् बिग्रेर जान सक्ने अवस्था देखेर मैले शेरबहादुरजीको ढाल बनेर उहाँलाई प्रोटेक्ट गरेको हुँ । नत्र भए त मैले पनि त बोल्न सक्थेँ नि ! तपाईँले भन्नुभयो किन बोलिनस् भनेर ? त्यही उत्तर म तपाईँलाई दिँदैछु । मैले बोलेको भए उहाँको विरोधमा बोल्नुपर्‍थ्याे । विरोधमा बोलेको भए अवस्था के हुन्थ्यो पार्टीभित्र ? त्यो हिसाबले मैले नबोलेको ।  

प्रश्न : तर यता पार्टी विधान, संविधानभन्दा बाहिर गएर बोलेको चाहिँ ? एक पटक होइन तीन–तीन पटक धर्मको बारेमा बोल्दिनुभयो । जुन बेला समय नै थिएन ।

उत्तर : हाम्रो संविधान बन्दै थियो । त्यो बेला मैले सुशील दाइलाई भनेँ– ‘हेर्नुहोस् सुशील दा, यो वीपी कोइरालाले बनाएको पार्टी, यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो । तपाईँले धर्मनिरपेक्षता किन गर्दै हुनुहुन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो । पाँच/सात दिनमात्रै बाँकी थियो । उहाँले भन्नुभयो– ‘यो प्रेसर छ मलाई के गर्छस् । पछि यो चेन्ज गराैँला’ । त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन । किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ । उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि ! यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि ! त्यो उपलब्धि पनि जान सक्ने सम्भावना देखेँ । त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई ।

प्रश्न : सभापतिको उम्मेदवारी दिँदै गर्दा यहाँका मुद्दा के–के हुनेछन् ?

उत्तर : सबैभन्दा पहिला पार्टीलाई एकजुट बनाउने कुरा छ । गुट–उपगुटले ध्वस्त पारेको छ । सभापति आजको मितिमा पनि तेरो मान्छे, मेरो मान्छे भन्नुहुन्छ । उहाँ त सबैको सभापति हो नि ! उहाँले आफ्नो धारणा परिवर्तन गरेको भए उहाँ नै सफल सभापति हुनुहुन्थ्यो तर उहाँले आजको मितिसम्म ‘उसको मान्छे, मेरो मान्छे’ भन्नुहुन्छ । म के चाहन्छु भने पार्टीलाई एक बनाऔँ । पार्टीभित्र अहिलेको विधान राम्रो विधान होइन । वीपी कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिट चाहिँ मनोनित हुनुपर्छ भन्नुभएकाे थियाे  किनभने प्रेसिडेन्सियल सिस्टममा प्रेसिडेन्ट त चुनावबाटै आउनुपर्‍याे तर ऊ आइसकेपछि उसले आफ्नो शक्तिलाई सन्तुलित राख्नका लागि मनोनित गर्ने ठाउँ हुनुपर्छ । महामन्त्री एक जना, उपसभापति यति जना... यस्तै गरेर उसको पार्टीप्रतिको पकड बलियो हुनुपर्‍याे । सबैले लडेर हुँदैन । अधिवेशन भइसकेपछि महासमिति डाकेर यो विधानमा परिवर्तन ल्याउनुपर्छ भन्ने मैले सोचेको छु ।

प्रश्न : शासकीय स्वरूपलाई पनि सत्तारुढ दलले बहसमा ल्याउनुपर्छ भनेको छ । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको कुरा गरिरहेको छ । यसमा तपाईँको टिप्पणी के छ ?

उत्तर : प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको विषय धेरै वर्षदेखि उठिरहेको छ । म चाहिँ वेस्ट मिनिस्टर सिस्टममा नै विश्वास गर्छु । पहिले दलको नेता हुन्छ । हाउसमा आफ्नो बहुमत ल्याउँछ । त्यहीअनुसार हामी जानुपर्छ । प्रेसिडेन्सियल सिस्टम, डाइरेक्ट चुनाव प्रेसिडेन्सको, त्यो हाम्रो लागि राम्रो हुँदैन ।

प्रश्न : अन्त्यमा अब महाधिवेशनकै प्रसङ्ग, क्रियाशील सदस्यको छिनोफानो, उम्मेदवार टुङ्गाेलगायत महाधिवेशनको अर्को कार्यतालिका कहिलेसम्म आउला ?

उत्तर : सबैभन्दा पहिला त क्रियाशील सदस्यतालाई यो महिनाको अन्तिमसम्म टुङ्ग्याउनुपर्छ । त्यसमा हामी लागिरहेका पनि छौँ । समिति बनाएर जिम्मा पनि लगाएका छौँ । अरू पार्टीबाट आएका पनि समावेश हुनुपर्‍याे । विजय गच्छदारको पार्टी, सुनिल थापाजीको पार्टीको क्रियाशील सदस्य पनि समावेश हुनुपर्‍याे र त्यसपछि हाम्रो आन्तरिक पनि समावेश हुनुपर्‍याे । मलाई लाग्छ यो चाँडै नै सम्पन्न हुन्छ । त्यसमा फेरि विवाद भयो भने हाम्रो अधिवेशनलाई नै असर गर्छ । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया