साउने सङ्क्रान्ति र यसको महत्त्व

 असार ३१, २०७८ बिहिबार १७:४६:५१ | बलराम उपाध्याय खकुरेल
unn.prixa.net

फाइल फाेटाे

कुनै पनि ग्रह एउटा राशिबाट अर्को राशिमा जाने समयलाई सङ्क्रान्ति भनिन्छ । अन्य ग्रहहरू भन्दा सूर्य ग्रहको राशि परिवर्तनको समयलाई अर्थात् सूर्यको सङ्क्रान्तिलाई ज्योतिष शास्त्रमा महत्त्वपूर्ण मानिएको छ । प्राचिन ज्योतिष शास्त्रका विद्वानहरूले सूर्य एक राशिबाट अर्को राशिमा प्रवेश गर्ने समयको १६ घडीअघि र १६ घडीपछिको समयलाई विशेष पुण्य समय भनेका छन् । १६ घडीमा पनि जति सक्दो राशि पर्वतनको नजिकको समयलाई झनै पुण्यदायी समय मानिन्छ ।  सूर्य ग्रहको गतिको आधारमा नै महिना र गतेको गणना गरिन्छ । सूर्यको आधारमा नै गतेको गणना गरिने भएकाले सङ्क्रान्ति पनि सूर्यको आधारमा नै हेरिन्छ । 

सूर्यले सौरमण्डलको परिक्रमा गर्न तीन सय ६५ दिन अर्थात् एक वर्ष लगाउँछ । सूर्यले सौरमण्डलमा मेष राशिमा प्रवेश गर्ने दिनलाई वैशाख १ गते भनिन्छ । यही सूर्य सौरमण्डलमा आफ्नो दुरी पार गर्दै जेठ १ गते वृष राशिमा, असार १ गते मिथुन, साउन १ गते कर्कट राशिमा हुँदै माघ महिनाको १ गते मकर राशिमा प्रवेश गर्दछ । माघ १ गतेदेखि नै सूर्य उत्तरतिर लाग्ने भएकाले माघ १ गतेदेखि उत्तरायण सुरु हुन्छ । र असारको मसान्तसम्म सूर्य उत्तरायण भइ साउन १ गतेदेखि सूर्य दक्षिणायन हुन्छ । 

हाम्रो देश नेपाल तथा आसपासका देशहरू पृथ्वीको उत्तरी गोलार्द्धमा पर्दछन् । त्यस कारण साउन महिनाको १ गतेदेखि नै सूर्य पृथ्वीको उत्तरी गोलार्द्धबाट दक्षिणी गोलार्द्धतिर बढ्छ । अर्थात् यो समयमा सूर्य अन्य समयभन्दा टाढा जान्छ र यस बेलादेखि दिन छोटो र रात लामो हुने गर्दछ ।

बृहद् ज्योतिषसार नाम गरेको ज्योतिष ग्रन्थका अनुसार सोमवार, बिहीवार, बुधवार तथा शुक्रवार परेको सङ्क्रान्तिले मानिसमा सुस्वास्थ्य, दीर्घायु, एक–आपसमा प्रेम जस्ता कुराको वृद्धि गर्ने र सम्पूर्ण मनुष्य जगतको कल्याण हुने मानिन्छ । आइतवार, शनिवार तथा मङ्गलवार सङ्क्रान्ति पर्नु चाहिँ खासै शुभ मानिँदैन । यस पटक साउने सङ्क्रान्ति शुक्रवार परेको छ । त्यस कारण यस महिनामा शुक्र ग्रहको प्रभावले प्रायः कामकाजका क्षेत्रमा केही सकारात्मकता देखिनेछ । राजनीतिक क्षेत्रमा कलह र आपसी मनमुटावको समस्यालाई हल गर्दै लैजाने अवस्था देखिन्छ । एक अर्काप्रतिको सहयोग र समझदारीमार्फत गरेका कार्यहरूको नतिजा राम्रो हुनेछ भन्ने ज्योतिष शास्त्रको मान्यता रहेको छ ।

हिन्दू धर्ममा सबै चाडपर्व चन्द्रमाको आधारमा नै मनाइन्छ । तर सूर्यको आधारमा यो पर्व मनाइने हुनाले सङ्क्रान्तिको दिनलाई अन्य दिन भन्दा विशेष दिन मानिन्छ । त्यसमा पनि साउने सङ्क्रान्ति र माघे सङ्क्रान्तिलाई अझै विशेष मानिन्छ । माघे सङ्क्रान्तिदेखि उत्तरायणको समय हुने भएकाले यस समयलाई देवताहरूको दिन मानिन्छ । साउने सङ्क्रान्तिदेखि पुस मसान्तसम्मको दक्षिणायनलाई देवताहरूको रात मानिन्छ र यस दक्षिणायनको समयमा नै हाम्रा ठूला चाडपर्वहरू पर्दछन् ।

साउने सङ्क्रान्तिको दिन गरेको तीर्थ स्नान र दानका कार्यहरूको पुण्य धेरै बढ्ने भएकाले यस दिन प्रसिद्ध तीर्थस्थलहरूमा गएर नुहाउने, श्राद्ध गर्ने र दान जस्ता पुण्य कार्य गर्नेहरूको घुइँचो लाग्छ । 

आजको दिन कण्डारक पूजा गरिन्छ । नेपालीहरूले साँझको समयमा घरमा विभिन्न प्रकारका सुकेका काठहरू बालेर लुतो फाल्ने प्रचलन र आफ्नै मौलिक संस्कृति रहेको छ । थारु समुदायले माघे सङ्क्रान्तिको दिनमा माघी पर्व मनाए जस्तै साउने सङ्क्रान्तिको दिनलाई पनि कगुरिया पर्वको रूपमा विशेष रूपले मनाउँछन् । र आजको दिन बैतडीको गुजरमा बनारसी पूजा लगायतका विभिन्न कर्महरू गरिन्छ । आजदेखि नै साउने मेला विधिवत् रूपमा सुरु हुन्छ । 

सङ्क्रान्तिको बारेमा ज्योतिष शास्त्रमा धेरै कुराहरू लेखिएको छ । तिथि, वार, योग, नक्षत्र, करण, लग्न, राशि आदिको आधारमा पनि यसको फलहरूको बारेमा लेखिएको छ । साउने सङ्क्रान्तिका दिन स्वर्गका देवताहरू पनि विभिन्न तीर्थहरूमा आएर स्नान गरी दानहरू गर्दछन् भन्ने मान्यता छ । यो दिन देवघाटधाम, वराहक्षेत्र, रुरुरिडी क्षेत्रहरू जस्ता तीर्थस्थलहरूमा गइ स्नान र पुण्य आदिका कार्यहरू गर्ने गरिन्छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया