खोप लगाउन जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

 साउन १, २०७८ शुक्रबार १२:४४:१६ | डा. समिर अधिकारी
unn.prixa.net

खोप कहाँ, कहिले र कसरी लगाइन्छ भन्नेबारे पालिकाहरुसँग समन्वय गरेर थाहा पाउन सकिन्छ । सम्बन्धित जिल्लामा रहेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको खोप समन्वय समितिको निर्णयको आधारमा जिल्लाभित्र कहाँ केन्द्र राख्ने, कसलाई लगाउने र कहिलेदेखि लगाउने भनेर निर्णय  गरिएको हुन्छ । 

जिल्ला तहमा भएका निर्णय थाहा पाउनका लागि पालिकासँग समन्वय गर्नुपर्छ । सञ्चारमाध्यमबाट पनि खोपबारे सूचना वा जानकारी प्रवाह भइरहेको हुन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले, खोप केन्द्रहरुलाई व्यवस्थित बनाउँदै सहज तरिकाले खोप लगाउने वातावरण बनाउनका लागि खोप केन्द्रमा खटिएकाहरुलाई निर्देशन दिएको छ । 

खोप केन्द्रमा भीडभाड हुन नदिन के गर्ने ? 

खोप लगाउनुपर्ने व्यक्तिहरु अथवा लक्षित वर्गमा परेका व्यक्तिहरुका लागि खोप लगाउनका लागि  पाँच, सात दिनको समयअवधि तोकिएको छ भने पहिलो र दोस्रो दिन धेरैजना एकैपटक गयौँ भने अवश्य पनि भीड हुन्छ । पहिलो दिन सहज हुनेले पहिलो दिन, दोस्रो दिन सहज हुनेले दोस्रो दिन र तेस्रो दिन सहज हुनेले तेस्रो दिन र अन्तिम दिनतिर सहज हुनेले अन्तिम दिन खोप लगाउन जाँदा धेरै भीडभाड नहुन सक्छ । 

अर्को कुुरा भनेको लक्षित वर्ग मात्र तोकिएको समयमा जानुपर्छ ।  लक्षित वर्गभन्दा बाहेकका अरु वर्ग खोप केन्द्रमा गएर मलाई पनि खोप चाहिन्छ भनेर अनावश्यक दबाब दिनु हुँदैन । आफ्नो पालोमा मात्र खोप लगाउन जानुपर्छ । 

आफू केको आधारमा खोप लगाउन जाँदैछु भन्ने कुराको ध्यान दिनु पर्छ । उमेर अनुसार हो भने उमेर खुल्ने परिचयपत्र साथमा लैजानुपर्छ । कुनै सेवाको आधारमा खोप लगाउन गइएको छ भने सेवा गरिरहेको हो भन्ने  कुरा खुल्ने परिचयपत्र लैजानुपर्छ । अथवा  कुनै अपाङ्गता भएका कारण खोप लगाउन गएको भए त्यसको पनि आवश्यक कागज साथमा लैजानुपर्छ । त्यस्तै विदेश जानुपर्ने कारणले खोप लगाउनु पर्नेछ भने विदेश जानुपर्ने कुरा उल्लेख गरिएको कागजात लैजानुपर्छ । 

खोप केन्द्रमा गएका जति सबै सुरक्षित हुँदैनन् । कोरोना भएर कसैलाई लक्षण देखिएको वा कसैलाई नदेखिएको हुन सक्छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ भने खोप केन्द्रमा जानु हुँदैन । छुटेकाहरुले पछि पनि खोप लगाउन पाइन्छ । 

‘सबैलाई पुग्ने गरी खोप ल्याउन तयारी भइरहेको छ’ 

खोप केन्द्रमा जाँदा भौतिक दूरी कायम गर्नुपर्छ । अनिवार्य रुपमा मास्क लगाउनुपर्छ । खोप केन्द्रबाट फर्किसकेपछि कसैले कोरोना सारेको छ कि भनेर आफ्ना सामानहरु बाहिर राख्ने, सरसफाइमा विशेष ध्यान दिने र  दुई, चार दिन आफूलाई अनुगमन गर्न सके सङ्क्रमणको चक्र रोक्न सकिन्छ ।  

जति धेरै खोप केन्द्र भयो, त्यति धेरै सहज हुन्छ । भीडभाड कम हुन्छ । ज्येष्ठ नागरिक लगायतका समस्या भएका नागरिकलाई जान सहज हुन्छ । तर कतिपय कुराहरु प्राविधिक कारण, स्वास्थ्यकर्मीको परिचालनको कारण र सुरक्षाको कारणले समस्या हुन सक्छ । अहिले खोपको धेरै माग छ । पछि खोप पाइँदैन कि भन्ने डर धेरैमा छ  । सबैलाई पुग्नेगरी खोप ल्याउने तयारी भइरहेकाले डराउनु पर्दैन । 

केन्द्रहरु सकेसम्म धेरै बनाउनका लागि अनुरोध गरिएको छ । त्यसैअनुसार व्यवस्थापन गर्न अनुरोध पनि गरिएको छ । दैनिक रुपमा खोप केन्द्रहरुमा भइराखेका कुराहरुको विषयमा सरकारले समीक्षा गर्दै आएको छ । आफूले देखेका, सञ्चारमाध्यममा आएका र आयोजकहरुको रायका आधारमा समस्याको समाधान गर्ने प्रयास गरिएको छ ।  

चाँडो भन्दा चाँडो खोप लगाएर फर्किनको लागि व्यवस्था गरिदिनका लागि  सरकारले आग्रह गर्दै आएको छ ।  लामो समय लाइनमा नबस्ने गरी, भौतिक दूरी कायम गर्ने विषयमा ध्यान दिन उहाँहरुलाई भनिएको छ । खोप लगाउन आएकाहरुलाई सहज तरिकाले खोप लगाएर पठाउँनका लागि स्वास्थ्यकर्मीहरुलाई आग्रह गरिएको छ । 

एक डोज लगाएर, दोस्रो डोज लगाउन नपाएकाहरु, अहिल्यै खोप लगाउन पाउनुपर्यो भन्नेहरु,  पहिला एक डोज लगाएको तर  अहिले लगाउन नमिल्ने लगायतका वर्गहरु  केन्द्रमा आएका हुन सक्छन् । रिसाउन सक्छन् ।  यस्ता विभिन्न खालका मानिसहरु आउँदा कसैसँग झिँजो नमानिकन यथार्थ जे हो त्यही, मिठो भाषामा सम्झाएर व्यवस्थापन गर्न सबैलाई अनुरोध गरिएको छ । 

कोरोनाको बिरामीको उपचार स्वास्थ्यकर्मीहरुले निक्कै प्रभावकारी रुपमा गरिएकाले निक्कै प्रशंसा भएको छ ।  त्यो प्रशंसालाई पछिसम्म कायम राख्ने गरी व्यवहार गरिदिन अनुरोध गरिएको छ । 

आफ्नो र अर्को भनेर भेदभाव नगरौँ

स्वास्थ्यकर्मीहरुले तोकिएको मापदण्डभित्र रहेर सेवा दिनुपर्ने हुन्छ । यो आफ्नो मान्छे, यो अर्काको मान्छे भनेर भेदभाव गर्नु हुँदैन । लक्षित वर्गलाई तोकिएको मापदण्डभित्र रहेर खोप लगाइदिएमा  व्यवस्थापनमा त्यति गाह्रो हुँदैन । सबै नेपालीलाई खोप लगाइदिनु पर्ने सरकारको दायित्व छ । त्यो सरकारले गर्छ । आफन्तको नाउँमा, चिनेजानेको नाउँमा दबाब दिएको भरमा तोकिएको मापदण्ड भन्दा बाहिर रहेर खोप नलगाइ दिन आग्रह छ ।  

कोभिसिल्ड खोपको पहिलो  मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा लाखौँ मानिस छन् ।  उनीहरुलाई दोस्रो मात्राको पनि सुनिश्चितता  गरेर नै खोप लगाएको हो । तर भने अनुसारको समयभित्र खोप आइपुगेन। त्यही भएर केही समय उहाँहरुले कुर्नुपरेको अवस्था छ । पछिल्लो समय धेरै समन्वयात्मक विकासहरु भएका छन् । 

धेरै ठाउँबाट उनीहरुका लागि दोस्रो मात्रा खोप  आइपुग्ने सुनिश्चितता भएको छ । तर देशभित्र खोप नआइकन खोप लगाइने समय सार्वजनिक गर्न मिल्दैन । जापान लगायतका देशहरुबाट चाँडै खोप ल्याउने प्रयासहरु भइरहेका छन्। खोप आउने  बित्तिक्कै  सार्वजनिक सूचना जारी गरेर खोप अभियानमा सहभागी हुन अनुरोध गरिन्छ ।

(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीसँग गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ३, २०८१

डा. समिर अधिकारी

डा. समिर अधिकारी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता हुनुहुन्छ ।

1 Comments

  • Deepak

    July 19, 2021, 6:20 a.m.

    कोरोनाको खोप के बुढापाका हरुलाइमात्रै हो तरुनो तन्नेरी हरुलेचाही पचाउन सक्छ भनेर हो खोप नदेको अनि वैदेशिक रोजगारमा जाने श्रमिक हरुको लागि चै के गर्ने सर्कार

  •  0 Reply

तपाईको प्रतिक्रिया