फेसबुकमा आउने कोरोनाबारे झुटा सूचनाले मानिसको ज्यान लिइरहेको छ : बाइडेन

 साउन २, २०७८ शनिबार १५:१:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुक लगायत सामाजिक सञ्जालमा फैलिरहेका कोरोना सम्बन्धी  झुटा सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताउनुभएको छ ।

उहाँले झुटा सूचना नियन्त्रण गर्न फेसबुक असफल भएको पनि बताउनुभएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसले गलत सूचना प्रवाह रोक्न सामाजिक सञ्जालहरूमाथि दबाब बढाउँदै गएको छ । यसअघि ह्वाइट हाउसकी प्रवक्ता जेन सकीले फेसबुक र अरु सामाजिक सञ्जालहरुले खोपका बारेका मिथ्या सूचना नियन्त्रणका लागि पर्याप्त कदमहरू नचालेको बताउनुभएको थियो ।

राष्ट्रपति बाइडेनले पनि त्यही कुरा जोड्दै अहिले खोप नलगाएका ठाउँहरुमा महामारी बढ्दै गएको र मानिसमा खोपप्रतिको विश्वास कम हुनुमा फेसबुक लगायत सामाजिक सञ्जालमा आउने मिथ्या सूचना रहेको बताउनुभएको छ ।

आफ्नो प्रतिक्रियामा फेसबुकले मानिसहरूलाई कसरी खोपसम्म पहुँच प्राप्त गर्ने भन्ने जानकारी दिएर आफूले जीवन बचाइरहेको टिप्पणी गरेको छ । अमेरिकामा खोप लगाउन योग्य कयौँ व्यक्तिहरूले आफूहरूलाई खोपमा विश्वास नभएको बताइरहेका छन् । गएको महिना एउटा प्रतिवेदनले फेसबुक, ट्विटर, युट्युब र इन्स्टाग्राममा खोपविरोधी अभियानकर्ताहरूलाई पछ्याउनेको संख्या पाँच करोड ९० लाख नाघेको उल्लेख गरेको थियो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया