मर्स्याङ्दी तटमा ध्यानमग्न शिवजी !

 साउन २, २०७८ शनिबार २०:१९:१४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – पाउँदी र मर्स्याङ्दीको दोभान । छाल हान्दै बगेको मर्स्याङ्दी नदी । नदी आडैमा १२ फीट उचाइको भगवान शिवको ध्यानात्मक मूर्ति । 

लमजुङको राइनास नगरपालिका–८, हर्राबोटमा रहेको सर्वोदय सेवा आश्रम नजिकै रहेको भगवान शिवको कलात्मक यस मूर्तिले धेरैको ध्यान/मन खिच्ने गरेको छ । आश्रमको पहलमा देश तथा विदेशमा रहेका विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाको सहयोगमा मर्स्याङ्दी नदी तटमा कृत्रिम कैलाश पर्वत बनाइ पर्वत माथमा ध्यानात्मक शिवजीको मूर्ति बनाइएको हो ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य

​पर्यटक तथा श्रद्धालु भक्तजनहरुको आकर्षण बढाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले पवित्र नदी मर्स्याङ्दी​ किनारामा भगवान शिवको मूर्ति बनाइएको आश्रमका अध्यक्ष कृष्णराज ओेलियाले बताउनुभयो । लमजुङको प्रवेशद्वार पाउँदीबजारबाट पनि यस कलात्मक, ध्यानात्मक शिवजी मूर्तिलाई नियाल्न सकिन्छ । यहाँसम्म आएर तस्बिर खिचाउनेको संख्या पनि बढ्दो रहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार झण्डै पाँच लाखको लागत रहेको शिवको मूर्ति निर्माणको काम लगभग सकिएको छ । मूर्ति बनाइएको यस क्षेत्रमा २० रोपनी जग्गा रहेको छ ।

‘यस क्षेत्रलाई ‘धर्मनाथ धाम’को रुपमा विकास गर्ने लक्ष्यका साथ धर्मनाथ धाम नै दर्ता गरी अघि बढेका छौँ’, आश्रमका अध्यक्ष ओलियाले भन्नुभयो, ‘यस क्षेत्रमा १ सय ८ शिवलिङ्ग, १ सय ८ गोमुखे धारा पनि जडान गरिने छन् ।’

शिवजीको यो मूर्ति एघार दिनको धार्मिक अनुष्ठान विधिसहित निर्माण गरिएको हो । यस क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण गरी यसलाई ध्यान केन्द्रको रुपमा विकास गरिने लक्ष्य रहेको छ ।

थपिँदै भाैतिक पूर्वाधार 

आश्रममा रहेका वृद्ध बाआमाका लागि खाद्यान्न, लत्ताकपडा लगायतका सहयोग सामग्री लिएर आश्रम पुग्नुभएका प्रमुख जिल्ला अधिकारी लुइँटेल र जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रमुख एवंं प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्णबहादुर कार्की लगायतको टोलीले शनिबार यस क्षेत्रको अवलोकन समेत गरेको छ । यही अवसरमा मूर्ति बनाइएको क्षेत्रमै लमजुङ प्रशासन र जिल्ला प्रहरी कार्यालय, लमजुङको समन्वयमा चौतारा निर्माण गरिने समेत उहाँहरुले बताउनुभएको छ ।

नदी कटान रोक्न, मानिसलाई बस्न र वातावरणीय रुपमा पनि फाइदा पुग्ने भएकाले यस पवित्र धार्मिक स्थल क्षेत्रमा वर पिपल, स्वामी र नारेश्वरको बिरुवा लगाई चौतारा निर्माण गरिने जनाइएको छ । मनसुनको सुरुवातसँगै बाढीबाट शिवजीको मूर्ति बनाइएको क्षेत्रमा क्षति पुगेकाले तटबन्धको आवश्यकता रहेकाले संरचना संरक्षण तथा तटबन्धका लागि सहयोग गरिने प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया