सिङ्गापुर र जापान छाडेर चितवनमा ड्रागन खेती : ड्रागनको श्रोत केन्द्र बनाउने लक्ष्य

 साउन ४, २०७८ सोमबार १४:५९:५२ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - एक भाइ सिङ्गापुरको लाहुरे,अर्को भाइ व्यवसायको क्रममा जापान । विदेशमै रमाउँदै सुख सयलको जिन्दगी बिताउन कुनै कुराको कमी थिएन । तर आफ्नै भूमिमा नयाँ काम गर्ने सोचका कारण विदेश छाडेर नेपालमा कृषिमा सक्रिय भरतपुर महानगरपालिका– २६ दिव्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उहाँका भाइ ताइबहादुर गुरूङले चार बिघा जमिनमा ड्रागन फ्रुट खेती गर्नुभएको छ । विदेशको जागिरबाट अवकाशपछि व्यावसायिक कृषिमा सक्रिय हुनुभएका उहाँहरु नेपालमा नयाँ भएकोले ड्रागन खेती थालेको बताउनुहुन्छ । 

दाइ पदमबहादुर व्यवसायको क्रममा  लामो समय जापानमा काम गरेर फर्किनुभएको हो भने ताइबहादुर सिङ्गापुर गोर्खा कन्टिन्जेन्टबाट सेवा निवृत्त भएका हुन् । बाँकी जीवन स्वदेशमै सक्रिय भएर बिताउन पुर्खाको कृषि कर्ममा फर्केका हुन् ।

ड्रागन खेतीका लागि तीन बिघा क्षेत्रफलमा १२ हजार बिरुवा रोपिएका छन् ।  दुई मिटर फरकमा तीन हजार वटा सिमेन्टका पोल गाडेर हरेक पोलमा चारवटा बिरुवा रोपेका छन् । अहिलेसम्म एक करोड २० लाख लगानी गरेका उनीहरु यो खेतीलाई क्रमिक रुपमा थप्दै जाने बताउँछन् । 

एकपटक लगाएपछि निकै वर्ष फल दिने, रोग–किरा कम लाग्ने र नयाँ पनि भएकोले ड्रागन फ्रुट लगाएको ताइबहादुर गुरुङले बताउनुभयो । ‘यो खेती अरु बालीको भन्दा सजिलो र सरल छ’, उहाँले भन्नुभयो, ‘ माग बढ्दै गएको र बजारको पनि अभाव देखिएन ।’

चितवनका अन्य ठाउँमा पनि ड्रागन फ्रुट लगाइएको छ, जिल्लामा व्यावसायीक रुपमा एकै पटक यति धेरै बिरुवा लगाउने चाहिँ गुरुङ दाजुभाइ नै हुन् । 'गर्मीमा सप्रने यो फलको लागि चितवन निकै उपयुक्त ठाउँ देखियो' गुरुङले भन्नुभयो 'सिउँडी प्रजातिको भएकाले ड्रागन फ्रुटलाई चर्को घाम लाग्ने चैत, वैशाख र जेठमा मात्र पानी दिए पुग्ने रहेछ ।'

डिप बोरिङ गरेर थोपा सिँचाइ प्रणाली अपनाइएको खेतीमा बिरुवालाई पानीसँगै मल दिने गरिएको बताउदै उहाँले पानी लाग्ने तर नजम्ने तराई र भित्री मधेशमा ड्रागन फ्रुटको राम्रो व्यावसायीक सम्भावना रहेको जानकारी दिनुभयो । 

सुरुमा बिरुवा पाउन भने समस्या परेको बताउदै उहाँले त्यसका लागि काठमाण्डौ, काभ्रे,भारत र भियतनामसम्म पुगेर महँगो –प्रति बोट पाँचसय रुपैयाँसम्म तिरेर बिरुवा ल्याउनु परेको जानकारी दिनुभयो ।  ‘अहिले आफैँले नर्सरी तयार गरेर बिरुवा बिक्री गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ‘लगभग ६०  हजार बिरुवा बिक्री गरिसकेका छौँ ।’

बिरुवाको प्रति गोटा दुई सयका दरले बिक्री गर्दै आएको जानकारी दिदैँ उहाँले अब यो लागत पनि कम गरेर सस्तोमा बिरुवा दिने तयारीमा रहेको जानकारी दिनुभयो । 'हामी ड्रागनको श्रोत केन्द्रको रुपमा विकास गर्दै छौँ' गुरुङले भन्नुभयो 'कोही यो खेती गर्न रुची राख्नुहुन्छ भने हामी सहयोग गर्छौँ ।'

ड्रागन फ्रुटको बिरुवा लगाएको दुई वर्षमा फल्न थाल्छ । जेठदेखि कात्तिकसम्म ५–६ पटक फल दिन्छ । फल २५० ग्रामदेखि एक किलोसम्मको हुन्छ । यो फल टिपेको १५ दिनसम्म नबिग्रने र किलोको पाँच सय रुपैयाँसम्म बिक्री भइरहेको उहाँले बताउनुभयो । 


रसिलो, गुलियो र स्वादिलो फल ड्रागन फ्रुटमा  १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यसबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिङ्क, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको फूलको तरकारी स्वादिलो हुन्छ । 

ड्रागन  फ्रुट तीन किसिमको हुन्छ–खाने भाग सेतो, रातो र बाहिरी भाग पहेँलो हुन्छ । बाहिर बोक्रा रातो र भित्र खाने भाग सेतो हुने ड्रागन फलमा बाहिर रातो र भित्र खाने भाग पनि रातो हुने प्रजातीको तुलनामा गुलियोपन कम हुन्छ ।

भित्र–बाहिर रातो हुने ड्रागन फलमा गुलियोपन बढी भए पनि फल कम लाग्ने ताइबहादुर गुरुङले बताउनुभयो । अहिले नेपालमा बाहिर रातो भित्र सेतो हुने ड्रागन फल बढी लगाइएको उहाँले बताउनुभयो । बोक्रा हल्का पहेँलो र खाने भाग सेतो हुने प्रजाति पनि हुन्छ, तर त्यसको पनि फल कम लाग्छ । 'हामीले सबै जातको लगाएका छौँ'  उहाँले भन्नुभयो 'उत्पादकत्व र बजारको माग अनुसार पछि बढाउँछौँ ।'

ड्रागनको बोटमुनी अन्तरबाली समेत लगाउन सकिने छ । अन्तर बालीका रुपमा राजमा ,लसुन, प्याज,चुकन्दर तरभुर्जा, भेण्डी, खुसार्नी लगायतका तरकारी तथा फलफूल लगाउन सकिन्छ । अन्तरबाली लगाए र स्याहारसुसार गर्न सके राम्रो लाभ लिन सकिने गुरुङको भनाइ छ ।

यसको सेवनले शरीरमा क्यान्सर प्रतिरोधी शक्तिको विकास गर्न मद्दत पुग्ने,शरीरमा रहेको विषाक्त तत्वलाई हटाउनुका साथै रगतमा भएको उच्च कोलेस्टेरोल घटाएर उच्च रक्तचापलाई सन्तुलनमा ल्याउने बताइन्छ ।'भरतपुरमा रहेको वीपी मेमोरियल क्यान्सर अस्पतालका बिरामी र चिकित्सकहरुको अर्डर धेरै आउने गरेको छ' गुरुङले भन्नुभयो 'अस्पतालका चिकित्सकहरु फिल्डमै आएर अवलोकन गरेर अर्डर गर्ने क्रम बढेको छ ।' यो फल नियमित खाने मान्छेमा मुटु रोग, क्यान्सर, सुगर, ग्याष्ट्रिक, कब्जियत, कोलेस्टेरोल लगायतका रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

ड्रागनको बोटले कम्तीमा पनि १२ वर्षसम्म उत्पादन दिइरहन्छ । १२ वर्षपछि बोटलाई एक फुटको उचाइमा काट्नुपर्छ । त्यसपछि फेरि त्यसले करिब १० वर्षसम्म उत्पादन दिन्छ । यसरी राम्रोसँग उचित स्याहारसुसार गरेर खेती गरेमा यसले २० देखि ३० वर्षसम्म फल दिन्छ ।

नेपालमा सुख्खा क्षेत्रमा रहेका बाँझो जमिनमा प्रशस्त खेती गर्न सकिने बताउदै उहाँले यो खेती प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सहयोग र प्याकेजको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । यसको फललाई इनर्जी ड्रिङ्क, वाइन, ब्रान्डी, उच्चस्तरीय आइसक्रिम, शरीरमा लगाउने क्रिमलगायतका कुराहरु बनाउन पनि प्रयोग गरिन्छ । ड्रागनको फूलको पत्ता सुकेपछि यसबाट विशेष प्रकारको चियापत्ती बनाउन सकिने गुरुङले बताउनुभयो । 

'उत्पादन सुरु भयो, अब बजार व्यवस्थापनमा ध्यान दिदैँ छौँ' गुरुङले भन्नुभयो 'उत्पादनमा वृद्धी र व्यवस्थित बजार बनाउन सके नेपालमा उत्पादन भएको ड्रागन विदेश पठाउन सकिन्छ ।'

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया