इजरायली एक कम्पनीले अधिकारकर्मी, पत्रकार तथा अधिवक्ताको टेलिफोनसम्बन्धी जानकारी बेचेको खुलासा

 साउन ४, २०७८ सोमबार १४:२०:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायली एक कम्पनीले विश्वभरका अधिकारकर्मी, पत्रकार तथा अधिवक्ताहरूको टेलिफोनसम्बन्धी जानकारी अधिनायकवादी सरकारहरूलाई बेचेको पाइएको छ । 

५० हजारको हाराहारीमा रहेको फोन नम्बरको सूची इजरायली कम्पनी एनएसओले आफ्ना क्लाइन्टहरूलाई बेचेको विश्वका प्रमुख सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक भएको खबरमा उल्लेख छ ।  

एनएसओले फोन नम्बरहरू आफ्ना सेवाग्राहीहरूलाई उनीहरूको चासो र आवश्यकताका आधारमा प्रदान गरेको हुन सक्ने अनुमान छ । फोन नम्बरहरू एनएसओले कसरी प्राप्त गर्‍याे भन्ने स्पष्ट भएको छैन ।

एनएसओले भने आफूले कुनै पनि प्रकारको खराब काम नगरेको दाबी गरेको छ । आपराधिक गतिविधि नियन्त्रणका लागि बनाइएको सफ्टवेर सेना, प्रहरी र गुप्तचर निकायलाई मात्र उपलब्ध गराइएको एनएसओले जनाएको छ ।   

पेगासस नामक सफ्टवेरको प्रयोग गरी टेलिफोनको जानकारी ह्याक गरिएको सम्बन्धी खबर हिजो आइतवार द वाशिङ्गटन पोस्ट, द गार्जियन, ले मोन्डे र विश्वका अरू १४ वटा ठूला सञ्चारमाध्यमले छापेका थिए ।

पेगाससले आइफोन वा एन्ड्रोइड डिभाइसबाट मेसेज, तस्बिर र इमेल हेर्न अनि कल रेकर्ड गर्न र गोप्य रूपमा माइक्रो–फोन चालु गर्न सहयोग गर्छ ।

यो स्फटवेअरबाट निगरानीमा राखिएकाहरूको सूचीमा समाचार संस्था एएफपी, सीएनएन, द न्यूयोर्क टाइम्स र अलजजिरासहित कैयौँ समाचार संस्थाका झन्डै एक सय ८० पत्रकार रहेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया