ओलीको अरिङ्गाल र बाँदरपछि देउवालाई ढाडे कि ढेडु ?

 साउन ९, २०७८ शनिबार ९:११:२९ | मिलन तिमिल्सिना
unn.prixa.net

तीन वर्ष बालुवाटारमा रजगज गर्दा ओलीले अरिङ्गाल र स्याल मात्रै होइन, बाँदरको हुलसमेत तयार पारिसकेका रहेछन् । सधैं बालकोटतिर धारे हात लगाएर बस्ने कोटेश्वर एमालेका अनुसार केही दिनअघि सडकमा देखिएका बाँदर माधव नेपालको नक्कल हैन, ओलीको सक्कल अवतार हो । पछिल्लोपल्ट सडकमा देखिएका बाँदर ओलीका हुन् कि नेपालका सन्तान भनेर अलमलिएका बालुवाटारका देउवालाई अन्तत कोटेश्वर एमालेका  कुरा पत्याउनै कर लाग्यो । 

अरिङ्गाल पनि ओलीका, स्याल पनि ओलीका र अन्तत बालुवाटार छाडेपछि सडकमा छोडेका बाँदर पनि ओलीका ! ओलीका हरेक चटकको अपार सफलता देखेर र सुनेर देउवालाई डाहा भयो । आफ्ना नेता कार्यकर्तालाई अरिङ्गाल, स्याल, हनुमानभन्दा भिन्न कुन छविको बनाउँदा बालुवाटार बसाइ सबैका लागि सजिलो होला भनि देउवाले धेरै विद्वानको टाउको कन्याए । तर सबै विद्वानका टाउकोमा जुम्रा मात्रै भेटिए । त्यसपछि देउवालाई एउटा दिव्यज्ञान प्राप्त भयो “टाउकाबाट जुम्रो झार्न सजिलो, जुक्ति झार्न गाह्रो !” त्यसमाथि कहिले प्रचण्डको, कहिले माधव नेपालको, कहिले उपेन्द्र र महतोको, कहिले बाबुरामको त आफ्नै पार्टीको थरीथरी ककटेल कुरा सुनेर दिमाग नै जाम भइसक्यो ।  ओलीले खाली गरेर हिँडेका मन्त्रीको कुर्सीमा बसाउनेहरुको त टुङ्गो छैन, अरिङ्गाल र बाँदरको कुर्सीमा बस्न मिल्ने पात्र कसरी छुट्याउनु ? 

ओलीले पहिल्यै रोजेको अरिङ्गाल खोज्ने कुरो भएन, बाँदरको भर पर्न सकिएन । बारुलो होला त ? देउवाले दिमाग घुमाउन थाले । बारुलो भनेपछि अरिङ्गाल वर्गकै जीव, त्यसमाथि अरिङ्गालभन्दा सानो र लुते । ओलीलाई त्यत्रो अरिङ्गालले त सुरक्षा दिन सकेन भने आफूलाई जाबो लुते बारुलोले के नै नाप्ला र ? कार्यकर्तालाई बारुलो बनाउन देउवालाई उपयुक्त लागेन ।

कमिलो के होला ? हत्तपत्त बालुवाटारको आँगनमा निस्केर कमिलो खोज्न थाले । नजिकैको रुखको फेदबाट कमिलोको ताँती अघि बढ्दै रैछ । लाइनको अघिल्तिर रहेको कमिलो कति बाठो । जहाँ आहारा पाइने ठाउँ छ, त्यहीँ ताकेर हिँड्दो रहेछ । अर्थात लक्ष्यभन्दा दायाँबायाँ नै नगर्ने । अनि उसको पछिल्तिर रहेका कमिला अनुशासित ढङ्गले उसको पछिल्तिर हिँड्ने रहेछन् । देउवाले आफूलाई अघिल्तिरको कमिलासँग तुलना गरे । अहँ उसको र आफ्नो र्याङको ठ्याङ कुरै मिल्दैन । कमिलो ठ्याङठ्याङ, आफू ल्याङल्याङ । कमिलो आफ्नै बलबर्कतमा अघि बढेको, आफू ओलीका शब्दमा टालाटुली बटुली अरुको बलबुद्धिमा अघि लागेको । अनि पछिल्तिरका कमिला कस्ता, आफू पछिल्तिरका सहयात्री त्यस्ता । देउवाको मनले कमिलो पनि नहुने ठहर गर्यो ।

कमिलो हेर्दै गर्दा बालुवाटारको बाहिर चौरमा गाई चरेको देखियो । कार्यकर्तालाई गाईजस्तो बन्नुपर्छ भनियो भने के होला ? हत्तेरी गाई त कमल थापाको पेवा । ओलीलाई हटाएर आफू बस्न आएकोमा सबैभन्दा धेरै दुःख उनै थापाले मानेका छन् । अब उनको गाईमा पनि आँखा लगाए त साँढे फुकाएर खेद्लान् भन्ने डर ।

गाई सम्झँदै गर्दा एउटा बाँदर फुत्त पर्खाल नाघेर भित्र पस्यो । बाटो हिँड्दै गरेका मान्छेको हातबाट सुन्तला खोसेर खाँदै रैछ । बाँदरले सुन्तला खोसेर खाएको देखेर देउवा मुसुमुसु हाँसे । लाग्यो बरु यही बाँदर ठिक हुन्थ्यो, तर के गर्नु बाँदरमा ओलीजीले कपिराइटको दाबी गरे भने बित्यास पर्छ ।

बाँदरकै हजुरबा नाता पर्ने डेढु पो हुन्छ कि ? तर आफ्ना प्रतिस्पर्धी र पार्टी कार्यकर्ता यसै पनि डेढु प्रवृत्तिका छन् । सभापतिको भाग खोस्न पाइन्छ कि भनेर उहिलेदेखि नै दाउ हेरेर बसेका छन् । अहिले उचालेर बालुवाटारमा बसालेर के गर्नु, अलि दिनपछि ल तेरो पालो पुग्यो भनेर चिथोर्न आउन के बेर ? त्यसैले डेढुमाथि अर्को डेढु त थप्नै मिल्दैन ।

के चाहिँ होला त ? गाई, बाँदरभन्दा अलि शक्तिशाली र डरलाग्दा जनावरको नाम सम्झँदै गए । बाघ, भालु, हात्ती, गैँडा, सर्प, अजिङ्गर...........। तर नाम सम्झँदैमा त डर लाग्छ, अब आफ्नै सहयोगी र कार्यकर्ता यस्तै डरलाग्दा भएर निस्के भने त ज्यान जोगाउन मुश्किल पर्छ । 

बरु कसैले देख्न नसक्ने जीव खोज्नुपर्छ । त्यो के होला त ? अँ कोरोना भाइरस । नाम सुन्दैमा सबैको सातो जान्छ । कोरोनाको नाम लिएर काम गर्न थालेपछि अहिलेसम्म नभएका र हुन नसकेका काम पनि फटाफट हुन्छ । तर सहयोगी र कार्यकर्तालाई कोरोना भाइरसजस्तो हुनु भनेर कसरी भन्नु ? कताकता के नमिलेजस्तो । त्यसमाथि खेपका खेप खोप आउन थालेको छ । खोपले काम गर्न थाल्यो भने कोरोनाले काम गर्दैन । यो आइडिया पनि ठिक लागेन।

देउवा टाउको कन्याउँदै भित्र पसे । बालुवाटारको अर्को कुनाबाट ङयाउ गर्दै ढाडे बिरालो भित्र पस्यो । अँ अरिङ्गाल र बाँदरको ठाउँमा बिरालो पनि विकल्प हुन सक्छ । बिरालोको विकल्प सोच्दै गर्दा मोबाइलमा घण्टी बज्यो । प्रचण्डको रहेछ । ‘हैन देउवाजी मन्त्रिपरिषद् विस्तार गर्ने सुरसार देखिएन त ? हाम्रा साथीहरु भौतिक र स्वास्थ्य नभइ त हुँदै हुन्न भन्छन्, कसो गर्ने हो ?’ 

‘गर्ने गर्ने, तपाईंले भनिसकेपछि गर्नै परिगो नि, नत्र कुर्सी हल्लिन सक्छ’ देउवाले फोन राखे । उता उपेन्द्रदेखि राजेन्द्रसम्म, यता आफ्नै रामचन्ददेखि सिटौलाकासम्मले मुख आँ गरेका छन् । माधव नेपाल, बाबुराम भट्टराईको पनि चित्त बुझाउनुपर्ला । उनीहरुको मात्रै चित्त बुझाउन थालियो भने आफ्नै पार्टीका अरुले बाँदरजस्तो झम्टन पनि बेर मान्दैनन् । 

यति सोच्दै गर्दा देउवा झल्याँस्स भए : ढाडे बिरालोजस्तो दाउ हेर्ने र ढेडुलेजस्तो झम्टने प्रवृत्ति भएकाहरु आफ्नै वरपर रहेछन् । बेकारमा ओलीले जस्तो सडकमै देखाएर किन जात्रा गरिरहनु पर्यो ?

अन्तिम अपडेट: चैत १४, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया