कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएससी) भनेको बालबालिकामा देखिने काेराेना भाइरससँग सम्बन्धित रोग हो । यो बहुप्रणालीगत अर्थात् दुई वा दुईभन्दा धेरै प्रणालीलाई असर पार्ने रोग हो । एमआईएससी हुँदा शरीरका विभिन्न भागमा समस्या देखिन्छ ।
यो कोरोनासँग सम्बन्धित हुने भएकाले यसलाई सुरुमा ‘पेडियाट्रिक मल्टिसिस्टेमिक इन्फ्लामेटरी सिन्ड्रम’ पनि भन्ने गरिन्थ्यो । बालबालिकामा कोरोना आफैँमा खतरनाक देखिँदैन । ६० देखि ८० प्रतिशत बालबालिकामा कोरोनाको सामान्य लक्षण नै नदेखिकन ठिक हुन्छ । १५ देखि २० प्रतिशतमा सामान्य समस्या देखिन्छ । धेरै जटिलता देखिँदैन र पाँच प्रतिशत बालबालिकालाई मात्र कोरोना लागेको बेला जटिलता देखिने गर्छ ।
कोरोना लागेको केही हप्तापछि एमआईएससी देखिने गर्छ । कोरोना लागेको बेलामा लक्षण देखिएका वा नदेखिएका जोसुकैलाई पनि यस्तो समस्या देखिन सक्छ । जन्मेदेखि १९ वर्ष उमेर समूहका बालबालिकामा यस्तो लक्ष्यण देखिन सक्छ भनिए पनि धेरैजसो पाँच वर्ष उमेर समूहका बालबालिकामा देखिने गरेको छ ।
एमआईएससी भएमा ज्वरो आउने, ज्वरोबाहेक अरु खालका लक्षण देखिन्छन् । जस्तै आँखा, जिब्रो वा ओठ रातो हुने, हात खुट्टा लगायतका शरीरका विभिन्न भागहरु सुन्निने, श्वासप्रश्वासको समस्या हुने, अक्सिजनको आवश्यकता पर्न सक्ने हुन सक्छ ।
एमआईएससी भएकामध्ये ५० प्रतिशत बालबालिकामा हृदयको गति तेज हुने हुन्छ । कुनै पनि बालबालिकालाई ज्वरोसँग दुई वा दुई भन्दा धेरै लक्षण एकैपटक देखिएको छ भने एमआईएससी भएको हो कि भनेर शंका गर्नुपर्ने हुन्छ । यो दुर्लभ खालको रोग हो । यस्तो समस्या ०.००१ प्रतिशत बालबालिकामा मात्र देखिन्छ ।
नेपालमा अहिलेसम्म कतिजना बालबालिकालाई यस्तो समस्या भएको छ भनेर प्रभावकारी रुपमा रिपोर्टिङ भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार अहिलेसम्म ८० जना बालबालिकामा यस्तो खालको समस्या देखिएको र त्यसमध्ये ४ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाको पहिलो लहरमा झण्डै ८ प्रतिशत बालबालिका संक्रमित भएका थिए भने दोस्रो लहरमा १० प्रतिशतको हाराहारीमा बालबालिका संक्रमित भएका पाइएको छ ।
विभिन्न देशहरुको तथ्याङ्क हेर्ने हो भने १२, १३ प्रतिशतसम्म कोरोना संक्रमित भएका बालबालिकामा धेरै जटिलता देखिएन । तर एमआईएससी चाहिँ भयानक र जटिल खालको बिरामी हो । तर सबै कोरोना लागेका बालबालिकामा यस्तो समस्या भने देखिँदैन ।
कोरोनाको तेस्रो लहर आउने भनेर विज्ञहरुले चेतावनी दिइरहेका छन् । बढी उमेर समूहका मानिसहरु संक्रमित भइसकेका र कतिपयले खोप पनि लगाइसकेकाले तेस्रो लहरमा कोरोना संक्रमित बालबालिकाको संख्या बढ्न सक्छ । तर तथ्याङ्क अनुसार ६० देखि ८० प्रतिशत कोरोना संक्रमण भएका बालबालिकामा लक्षण देखिँदैन ।
धेरै बालबालिकालाई कोरोना भएको र नभएको थाहा नै हुँदैन । उनीहरुलाई लक्षण कम देखिने भएकाले संक्रमण भएको भए पनि परीक्षण नगरेकाले थाहा नहुने हो । एमआईएससी भएमा अवस्था जटिल हुन्छ । र बालबालिकालाई सुईमार्फत् औषधि दिनुपर्ने भएकाले त्यसले मुटुमा प्रभाव पार्न सक्ने सम्भावना धेरै रहन्छ । खतरापूर्ण हुने भएकाले एमआईएससी भएका बालबालिकालाई घरमा उपचार गर्न सम्भव छैन ।
कोरोना भएको ६ देखि ८ हप्तासम्ममा यो रोग देखिन सक्छ । केहीमा १० देखि १२ हप्तासम्म पनि देखिएका छन् । यो रोग लाग्नबाट बच्नका लागि आधारभूत सावधानी मात्रै अपनाउन सकिन्छ । त्यो भनेको बालबालिकाको शरीरमा कोरोना भाइरसको संक्रमण हुनै नदिने हो । कोरोनाको संक्रमण भएन भने यो रोग लाग्दैन । त्यसले बालबालिकालाई कोरोना भाइरसको संक्रमण हुनै नदिनका लागि विशेष सावधानी अपनाउनुपर्छ । त्यसका लागि जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्छ ।
( बाल प्रतिरक्षात्मक विषेशज्ञ डा. धर्मागत भट्टराईसँग गरिएको कुराकानीमा आधारित)
डाक्टर धर्मागत भट्टराई बालरोग विशेषज्ञ हुनुहुन्छ।