सांसद पद बिउँताइदिन माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

 साउन १३, २०७८ बुधबार १४:२८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाकाे माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा रिट दिएका हुन् ।

सर्वोच्चले परमादेशमार्फत सांसद पद पुनर्स्थापना गरिदिनुपर्ने माग गरिएको नेता टोपबहादुर रायमाझीले उज्यालोलाई जानकारी दिनुभयो । माओवादीले गैरकानुनी रूपमा हटाएको र सर्वोच्चले एमालेको दशौँ महाधिवेशन कमिटी भङ्ग गरिदिएकाले आफूहरू पार्टीविहीन अवस्थामा रहेको नेता रायमाझीको गुनासो छ ।

सर्वोच्चले कर्णाली प्रदेशका सांसदलाई पुनर्स्थापना गरिदिएकाले आफूहरूको पनि पद बिउँताउनुपर्ने रायमाझीले बताउनुभयो । माओवादी केन्द्रले आफूहरूलाई दल त्याग गरेको आधारमा कारबाही गरे पनि आफूहरूले दल त्याग नगरेको चार नेताले जिकिर गरेका छन् ।

कारबाही गर्दा आफूहरूलाई सफाइको मौका पनि नदिइएकाले कारबाही बदर गर्न लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माग गर्नुभएको छ । यो रिटको पेसी भोलि बिहीवारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

1 Comments

  • Biru

    July 28, 2021, 2:38 p.m.

    सांसद पद गए पनि जावस भनेर उखानको पछि लागेको हैन , फेरि आएर माओवादीको सांसद पद चाहियो चाहियो ? पदको लागि जे पनि गर्ने ? यस्तो हुतिहारालाई नेपाले नागरिकले चिनिराखौं / आउँदो चुनावमा यस्ता हुतीहाराको नामोनिशान मेट्नु जरुरी छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया