क्रियाशील सदस्यता विवाद मिलाउन छानबिन समितलाई एक दिनकाे समय

 साउन १३, २०७८ बुधबार १७:३८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बुधवार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरूपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक बिहीबार फेरि बस्दैछ ।  

समितिले हिजाे मङ्गलवार मात्रै पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरणसम्बन्धी प्रतिवेदन बुझाएको थियो । २०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।

पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य हुनुहुन्छ । कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार सात सय ११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ । 

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन आउँदाे भदौ १६ देखि १९ गतेसम्म काठमाण्डाैमा गर्ने कार्यतालिका तय गरेको छ ।  

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया