बजेट सुनिश्चित नहुँदै हचुवाका भरमा योजना छनोट, तीन वर्षदेखि सडक स्तराेन्नतिले गति लिएन

 साउन १४, २०७८ बिहिबार १६:२:३९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – वीरेन्द्रनगरको मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडक स्तरोन्नतिकाे काम अलपत्र परेको छ । बजेट सुनिश्चित नहुँदै हचुवाको भरमा योजना छनोट गर्दा तीन वर्षदेखि सडक स्तराेन्नतिकाे काम अलपत्र परेको हो । लामो समय बितिसक्दा पनि नाला निर्माणको कामसमेत अधुरो छ । 

आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा यो सडक निर्माणको काम अघि बढाइएको थियो । सडक समयमै नबन्दा यात्रुलाई बाह्रै महिना सास्ती हुने गरेको छ । यो सडक खण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्छ । 

निर्माण कार्यले गति नलिँदा आवागमनमा समेत अवरोध हुने गरेको छ । डोजरले खनेर खराब अवस्थामा रहेको सडकमा ठूल्ठूला खाल्डाखुल्डी छन् । सामान्य वर्षमा पनि हिलाम्मे बन्ने हुँदा यातायातका साधन र पैदलयात्रुलाई समेत सास्ती हुन्छ । निर्माण कार्य छिटो सक्न वडा कार्यालय र नगरपालिकालाई आग्रह गर्दा–गर्दा आजित भइसक्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । प्रदेश राजधानीको मुहार फेर्ने ठानिएका महत्वपूर्ण सडकहरूको निर्माणमा लापर्बाही हुँदा स्थानीयवासीले झनै सास्ती भोगिरहेका हुन् ।

प्रदेश राजधानीको सडक भएकाले नगरको मात्र नभइ प्रदेशकै महत्त्वको हो । वीरेन्द्रनगर बजारदेखि काँक्रेविहार संरक्षित क्षेत्र जोड्ने यही सडक भएर उपत्यकाका दक्षिणी क्षेत्रका नागरिकको दैनिक आउजाउ हुन्छ । प्रदेश र नगर दुवैको गौरवको आयोजना भए पनि स्तरोन्नतिमा भने चरम लापर्बाही भइरहेको छ ।

सुरुमा वीरेन्द्रनगर नगरपालिकाले नाला निर्माण गर्ने र बाँकी काम प्रदेश सरकारले गर्ने सहमति भएको थियो । त्यस बेला प्रदेशले पाँच करोड र नगरपालिकाले एक करोड रुपैयाँ बजेट छुट्याएका पनि थिए । नाला निर्माण सम्पन्न नभइ सडकको अन्य काम प्रदेशले सुरु गरेन । नाला निर्माण नहुँदै सडक निर्माणका काम अघि नबढाइएपछि प्रदेशको बजेट फ्रिज गयो । नगरपालिकाले तीन वर्ष लगाएर एकतर्फी एक हजार दुई सय मिटर नाला मात्र निर्माण गरेको छ । नगरपालिकाका प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार यो कामका लागि नगरपालिकाको दुई करोड ५० लाख रुपैयाँ बजेट खर्च भएको छ । 

प्रदेश सरकारले बाँकी रहेको नाला र सडक निर्माणको काम अघि बढाउने गरी फेरि प्रक्रिया थालिएको जनाएको छ । निर्माणाधीन सडकको बाँकी काम गर्न १८ करोड रुपैयाँको लागत अनुमान प्रदेश सरकारले गरेको छ ।

पूर्वाधार विकास निर्देशनालयका अधिकृत हरि शर्मा धितालले गएको फागुनमा नै प्रदेशले लागत अनुमान गरेर योजनालाई बहुवर्षीय रूपमा अघि बढाएको बताउनुभयो । बजेट यकिन नगरि र योजना नबन्दै काम सुरु गरिँदा निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘योजना छनोट गर्दा नगर र प्रदेशले संयुक्त रूपमा लगानी गर्ने भन्ने भयो । तर कति खर्च लाग्छ भन्ने अनुमान र त्यसको सुनिश्चितता भएन । जसले गर्दा सडक निर्माणको कामले गति लिन सकेन ।’ 

आउँदो भदौदेखि निर्माणको थप काम अघि बढाइने पूर्वाधार विकास निर्देशनालयले जनाएको छ । नगरपालिकाको बजेटले चार/पाँच वर्षमा पनि सम्पन्न नहुने भएकाले प्रदेश सरकारले निर्माण गर्ने गरी प्रक्रिया अघि बढाएको सरकारी अधिकारीहरू बताउँछन् । 

दुई किलोमिटर तीन सय मिटर लम्बाइ रहेको यो सडक २५ मिटर चौडा छ । दुवैतर्फ डेढ/डेढ मिटर चौडा नाला बनाइने, सडक छेउमा खानेपानीका पाइप तथा बिजुलीका पोल राख्ने, दुई मिटर बीचमा सडक लाइट तथा फूल लगाउने र बाँकी १५ मिटरमा कालोपत्रे गर्ने योजना छ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया