बाघकाे वासस्थान सुरक्षित गराउन विशेष ध्यान दिनुपर्छ : प्रधानमन्त्री देउवा

 साउन १४, २०७८ बिहिबार १६:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको वासस्थानलाई सुरक्षित गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको वासस्थानका लागि जङ्गल आवश्यक रहेको र जङ्गल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । 

उहाँले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी–निकासी रोक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले बाघ र मानिसका बीचमा समस्या रहेको भन्दै ती समस्याको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बाघका लागि जङ्गल आवश्यक छ । जङ्गल र बाघ एकअर्काका लागि आवश्यक कुरा हुन् । बाघको वासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ ।’

वन्यजन्तु मैत्री पूर्वाधार निर्माणका लागि आवश्यक मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाे प्रधानमन्त्री देउवाकाे भनाइ छ । 

उहाँले पाटे बाघका कारण प्रसिद्ध नेपालमा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनकाे माध्यम बन्न सक्ने बताउँदै बाघ र उसको वासस्थानका साथै पर्यापर्यटनको विकासमा लाग्नुपर्नेमा जाेड दिनुभयाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया