एमाले अध्यक्ष ‌ओली पार्टी कार्यालयमा नियमित

 साउन १४, २०७८ बिहिबार १७:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्त्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थाल्नुभएको छ । 

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाट थापाथलीमा रहेकाे केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीवार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । 

प्रधानमन्त्री रहँदा उहाँले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका बैठक गर्दै आउनुभएको थियो । अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभयो । अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उहाँ सक्रिय रूपमा कार्यालयमा उपस्थित हुन सक्ने अवस्था रहेको कार्यालय सचिव तामाङकाे भनाइ छ । कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरूलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भिडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षको व्यवस्था भएको छ । उहाँको भेटघाट गर्ने काेठाकाे व्यवस्था छ । हामीले व्यवस्थित ढङ्गले नै भेट्ने र अरू पार्टीका काम गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ ।’

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रम भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो । पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठक भौतिक उपस्थितिविना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रुम तयार गरेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया