तपाईँले पैसा लिइरहेकाे भिडियाे मसँग छ भन्दै प्रहरीलाई 'ब्ल्याकमेल' गरेपछि...

 साउन १५, २०७८ शुक्रबार १९:१६:२४ | गोविन्द शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बाँके – प्रहरीलाई 'ब्ल्याकमेकिङ' गरेर रकम असुल्न खोज्ने एक जना अनलाइनकर्मी नेपालगञ्जबाट पक्राउ परेका छन् । एबीपी क्राइम न्यूजको संवाददाताको परिचयपत्रधारी राजन वैश्यलाई जिल्ला प्रहरी कार्यालय बाँकेले बिहीवार पक्राउ गरेको हो । 

वैश्यले प्रहरीलाई होटलमा बोलाएर पैसा लिइरहेको भिडियो आफूसँग रहेको भन्दै एक लाख ६० हजार रुपैयाँ माग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । वैश्यले सीमा क्षेत्रमा कार्यरत प्रहरीलाई ब्ल्याकमेलिङ गर्न खोजेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगीका अनुसार वैश्यले क्यामरा खरिदका लागि प्रहरीसँग रकम माग गरेको स्वीकार गरेका छन् । प्रहरीले अनलाइनका सञ्चालक आशिष मल्ल ठकुरीलाई समेत पक्राउ गरेका छ । विवादित छविका मल्ल यसअघि युवालाई प्रहरी बनाइदिने भन्दै रकम लिएको अभियोगमा पक्राउ परेका थिए ।

पत्रकारिता पेसाको नाम जोडेर अपराधजन्य क्रियाकलापमा संलग्न हुने, रकमको बार्गेनिङ गर्ने, ब्ल्याकमेलिङ गर्ने जस्ता कार्यमा संलग्न हुनेहरूको वकालत नगर्ने र गल्तीको भागीदार हुनुपर्ने महासङ्घले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया