सङ्घीयताबारे सरकार नै अनभिज्ञ छ : राष्ट्रिय सभा सदस्य बिडारी

 साउन १९, २०७८ मंगलबार १९:३३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले सङ्घीयताको विषयमा सरकार आफैँ अनभिज्ञ रहेको टिप्पणी गर्नुभएको छ । 

सङ्घीय संसद्काे राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आज मङ्गलवारको बैठकमा बोल्दै उहाँले सङ्घीयताबारे सरकार आफैँ अनभिज्ञ रहेको दाबी गर्नुभयो । सांसद बिडारीले अहिलेको ‘ब्युरोक्रेसी’ समेत सङ्घीयताको बारेमा जानकार नरहेको बताउनुभयो । 

आफूले सङ्घीयताको बारेमा पटक–पटक भन्ने गरेको स्मरण गराउँदै उहाँले भन्नुभयो, ‘हाम्रो अहिलेको ब्युरोक्रेसी, अहिले हाम्रो चलिरहेको सरकार सङ्घीयताको बारेमा अनभिज्ञ ।’ सङ्घीयताको बारेमा उसले जिन्दगीभर कुनै अभ्यास नगरेको, नपढेको हुनाले सरकार र देशकाे ब्युरोक्रेसी यसबारेमा अनभिज्ञ रहेको सांसद बिडारीको तर्क छ ।

‘अन्तको सङ्घीयताको अभ्यास हाम्रोमा अभ्यास भएन । हाम्रो देशमा थिएन’, सांसद बिडारीले प्रश्न गर्नुभयाे, ‘बिचरा, सरकारको दिमागमा कसरी सङ्घीयता छ भन्ने सोच आओस् ?’ कानुनका जानकार उहाँले नेपालमा कति वटा ऐन छन् भन्ने कुरा नेपाल सरकारका पदाधिकारीलाई समेत थाहा नभएको जिकिरसमेत गर्नुभयो ।

समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ सम्बन्धमा छलफल भइरहेको छ । बैठकमा राष्ट्रिय सभाका अर्का सांसद राधेश्याम अधिकारीले प्रदेश र पालिकाले पनि कानुन बनाउने भएकाले त्यसको अनुगमनको काम उनीहरू आफैँले गर्ने भएकाले त्यस सम्बन्धमा सङ्घीय कानुनको व्यवस्था गरिरहन नपर्ने बताउनुभयो । 

बैठकमा समितिका सभापति परशुराम मेघी गुरुङले यस विधेयकको प्रस्तावनामा छिटो आफ्नो राय दिन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आग्रह गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया