ओमानको खाडीबाट एक पानीजहाजलाई हाइज्याक गरेर इरान लगिँदै

 साउन २०, २०७८ बुधबार ७:२१:४२ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पानामाको झण्डा भएको एक पानीजहाजलाई ओमानको खाडीबाट हाइज्याक गरेर इरान लगिँदै छ । बन्दुकधारीको एक समूहले जहाजलाई हाइज्याक गरेर इरानतिर लिइरहेको लोइड मेरिटाइम इन्टेलिजेन्सको भनाइलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । बिटुमेन ट्याङ्कर एमभी अस्फाल्ट प्रिन्सेस् नाम गरेको जहाज स्टेट अफ हर्मुजतर्फ अगाडि बढीरहेको जनाइएको छ ।

जहाजलाई कसले हाइज्याक गरेको भन्नेबारे प्रष्ट नभए पनि यसमा इरानको हात रहेको आशंका गरिएको छ ।

एक हप्ताअघि मात्रै इजरायली तेल ट्याङ्करमा ड्रोन हमला भएको थियो जसमा बेलायती र रोमनियन दुई जना सुरक्षागार्डको ज्यान गएको थियो । अमेरिका, बेलायत र इजरायलले त्यो हमलाको दोष इरानमाथि लगाएका थिए । तर इरानले भने त्यो आरोप सही नभएको बताएको थियो ।

त्यसैले पनि अहिलेको जहाज हाइज्याक गरिएको विषयलाई तेल ट्याङ्कर प्रकरणसँग जोडिएको आशंका गरिएको हो । बीबीसीका अनुसार एमभी अस्फाल्ट दुबईको एक कम्पनीको जहाज हो । त्यही कम्पनीको जहाजलाई दुई वर्ष पहिले इनरानको शैन्य शक्ति रिभोलुस्नरी गार्डले हाइज्याक गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया