महाकाली प्रकरणमा भारतले क्षमायाचना गर्नुपर्छ, हेपाहा प्रवृत्ति सह्य हुँदैन : नेता श्रेष्ठ

 साउन २०, २०७८ बुधबार १५:५८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले महाकाली नदीमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनामा तुरुन्त क्षमायाचना गर्न भारत सरकारसँग आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभा बैठकको विशेष समयमा प्रवक्ता श्रेष्ठले तथ्यहरूले भारतीय सीमा सुरक्षा बलका व्यक्तिले तुइनको तार काटिदिएका कारण धामी नदीमा बेपत्ता भएको देखाएको दाबी गर्नुभयो । उहाँले त्यस घटना अमानवीय र क्रूर भएको भन्दै भर्त्सना पनि गर्नुभयो ।

‘’त्यस घटनाका निम्ति भारतले अविलम्ब सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ, नेता श्रेष्ठले भन्नुभयो, ‘’दोषीमाथि तत्काल कडा कारबाही गर्न र अबका दिनमा यस्तो प्रवृत्ति नदोहोर्‍याउन जोडदार माग गर्दछु ।

उहाँले त्यस घटनाका सन्दर्भमा नेपाल सरकारले छानबिन समिति बनाएर कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न आवश्यक कदम चाल्ने दृढता प्रकट गरेकामा सरकारको सराहना गर्नुभयो । उहाँले छानबिन समितिको प्रतिवेदन छिटो ल्याइ दोषीमाथि कारबाहीका लागि भारत सरकारसँग माग गर्न र पीडित परिवारलाई उचित राहत दिन सरकारसँग माग गर्नुभयो ।

भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध राख्न चाहेको र सबै समस्या कुटनीतिक ढङ्गबाट सकारात्मकरूपमा समाधान गर्ने पक्षमा रहेको जानकारी गराउँदै नेता श्रेष्ठले राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताविरुद्ध हेपाहा व्यवहार कहिल्यै नसहने चेतावनी पनि दिनुभयो । ‘’त्यसका निम्ति जे गर्नुपर्छ, सबै गर्न नेपाली नागरिक तयार छन्, उहाँले थप्नुभयो । 

उहाँले पटक–पटक सीमामा अतिक्रमण गरिएको र विदेशीको तटबन्ध र बाँधका कारण कतिपय बस्ती डुबानमा परिरहेको सन्दर्भ जोड्दै विदेशी हस्तक्षेपविरुद्ध एक हुन पनि राजनीतिक दललाई आग्रह गर्नुभयो ।

उहाँले कतिपय असमान सन्धि–सम्झौता लादिरहेको र आन्तरिक मामिलामा हस्तक्षेप भइरहेकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई आफ्नो स्वार्थका निम्ति विदेशी हस्तक्षेपमा चुप लागेर नबस्न अनुरोध पनि गर्नुभयो ।

उहाँले नेपालको प्राकृतिक स्रोत, सम्पदा पारस्परिक हितका निम्ति उपयोग गर्नुपर्नेमा विदेशीले आफ्नो हितलाई मात्रै ध्यानमा राखेर स्रोतलाई दमन गरिरहेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले त्यस्ता सबै प्रवृत्तिप्रति सचेत हुँदै त्यसविरुद्धको सङ्घर्षलाई सफलतामा पुर्‍याउनेमा दृढता व्यक्त गर्नुभयो ।

नेपालमा आन्तरिकरूपमा पार्टीबीच केही विवाद रहेको स्वीकार गर्दै नेता श्रेष्ठले भन्नुभयो, ‘’आवश्यक पर्दा नेपाली नागरिक र राजनीतिक दल राष्ट्रियताको पक्षमा एक ढिक्का भएका छन् र अब पनि एक ढिक्का हुन्छन्, नेपालप्रति दुर्व्यवहार गर्ने काम कसैले नगरोस् ।

संविधान र लोकतन्त्रको पक्षमा सचेत हुँदै अघि बढ्न र अलोकतान्त्रिक, निरङ्कुश, व्यक्तिवादी र भ्रष्ट प्रवृत्ति अन्त्य भइनसकेकाले त्यसप्रति गम्भीरतापूर्वक सोच्न सबै राजनीतिक दल र सरकारसँग उहाँले आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा विघटन गरेको प्रतिगामी कदममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभइ त्यसमा संलग्न सबै दलसमेत जिम्मेवार रहेको बताउँदै नेता श्रेष्ठले त्यस कुरालाई नभुली आफूलाई बदलेर जिम्मेवारपूर्वक काम गर्न दलहरूसँग अपिल पनि गर्नुभयो । 

कोभिड–१९ सङ्क्रमणको अवस्था कायमै रहेकाले तत्काल खोपको व्यवस्थापन गर्न र बाढी पहिरो प्रभावितलाई राहत प्याकेज व्यवस्था गर्न तथा उद्योग व्यवसायलाई सही ठाउँमा ल्याउन पनि उहाँले सरकारसँग माग गर्नुभयो । 

उहाँले भ्रष्टाचार नियन्त्रण र कानुनको पूर्ण पालना गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । नेता श्रेष्ठले सामाजिक भेदभावको अन्त्य गर्न र हिंसा र बलात्कारजस्ता जघन्य अपराधको अन्त्य गर्ने कुरामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया