तीन दिनसम्म मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, भागेर उम्कन सफल भएँ : विमला वली

 साउन २१, २०७८ बिहिबार १४:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लुम्बिनी प्रदेशकी प्रदेश सभा सदस्य विमला वलीले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा आफूलाई बन्धक बनाएर राखिएको र बल्लतल्ल उम्कन सफल भएको बताउनुभएको छ ।

आफू नेकपा माओवादी केन्द्रमा लागेदेखि नै एमाले र मुख्यमन्त्रीले दबाब दिइरहेकोमा अहिले बन्धक बनाउने र एमालेमै बसेर मन्त्री पद खानसमेत प्रलोभन देखाएको बताउनुभएको छ । पत्रकार सम्मलेनमार्फत वलीले आफू साउन १५ गते उपचारका लागि नेपालगञ्ज हिँडेकोमा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानवबहादुर रावतले जबरजस्ती मुख्यमन्त्रीको निवास बुटवल ल्याएको बताउनुभएको छ ।

बुटवल ल्याएपछि आफूलाई १६, १७ र १८ गते त्यहीँ बन्धक बनाइएको र २० गते सबै जना आराम गरिरहेको मौका छोपेर शौचालय जाने चप्पल लगाएरै भाग्न सफल भएको वलीले बताउनुभएको छ ।

मुख्यमन्त्रीको कार्यालयमा एमालेमै रहेको वक्तव्य छपाएर आफूलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको र वक्तव्यको ब्यहोरासमेत नदिइएको विमला वलीको दाबी छ । 

दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट उपचुनावमा निर्वाचित हुनुभएकी वली नेकपा विभाजन भएपछि माओवादीमा लाग्नुभएको थियो, पछि उहाँ एमालेमै रहेको वक्तव्य सार्वजनिक भएको थियो । तर आज बिहीवार पत्रकार सम्मेलन गरेर उहाँले आफूलाई मुख्यमन्त्रीको कार्यालयमा बन्धक बनाएर जबरजस्ती वक्तव्यमा हस्ताक्षर गर्न लगाएको भन्दै आफू माओवादी केन्द्रमै रहको प्रष्ट पार्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Narayan panthi

    Aug. 5, 2021, 6:42 p.m.

    केन्द्रमा महेश बस्नेत सहितको जसपा सांसद अपहरणकारी टिमलाई कारबाही नगर्ने हो भने यि एमाले का गुन्डाहरु प्रदेश र स्थानीय तहसम्म अपहरण, गुन्डागर्दी, अशान्ति मच्चाउन उद्यत रहन्छन् र जनतालाई आतंकित पारेर स्थानीय निर्वाचनमा शान्ति संग स्व-बिबेक प्रयोग गर्न नदिने तिकडम गरिरहने छन्।

  •  0 Reply

तपाईको प्रतिक्रिया