नेपाल एकीकरणका प्रथम सेनापति बस्न्यातको सालिक निर्माण हुने

 साउन २१, २०७८ बिहिबार १८:०:४३ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको सालिक निर्माण गरिने भएको छ । बस्न्यातले वीरगति प्राप्त गर्नुभएकाे शङ्खरापुर नगरपालिका–३ जहरसिंहपौवामा निर्माण हुन लागेको सालिकको आज बिहीवार प्रधानसेनापति पूर्णचन्द्र थापाले शिलान्यास गर्नुभयो ।   

त्याे ठाउँमा उहाँको पूर्णकदको सालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण हुने छ । सालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा कार्यालयले साँढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ ।

शिलान्यास कार्यक्रममा प्रधानसेनापति थापाले इतिहास बिर्सिए धर्म, संस्कृति र संस्कार सबै बिर्सने भएकाले नेपाल एकीकरण मार्गलाई संरक्षण गर्ने अभियान सुरुवात गरिएको बताउनुभयो । गोरखाबाट काठमाण्डाैसम्मको एकीकरण एवम् यस वरपर रहेका ऐतिहासिक किल्ला, गढीको संरक्षण गरेर सङ्ग्रहालय, उद्यान, सालिक, स्तम्भजस्ता स्थल निर्माणलाई सेनाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

‘सिन्धुलीगढी, जितपुरगढीजस्ता ऐतिहासिक स्थलले नेपाल र नेपालीको अस्तित्व जोगाउन महत्त्वपूर्ण भूमिका निभाएका छन्, अङ्ग्रेजसँग भएको युद्धमा वीर योद्धाले यी ठाउँबाट शत्रु पराजित गरेकाले यिनको संरक्षणमा काम भएको छ, सिन्धुलीलगढीमा सङ्ग्रहालय निर्माण भएको छ, त्यसलाई हेरेर यहाँ पनि एकीकरण सङ्ग्रहालय निर्माण गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

एकीकरणमा तराईवासीको भूमिका पनि महत्त्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै उहाँले सिन्धुलीगढीको युद्धका क्रममा जनकपुरबाट रसद पानी नआएकाले सेनालाई युद्ध रणनीतिमा सहज भएको तथ्य उल्लेख गर्नुभयो । बारा र पर्साका मानिसको पनि नेपाल एकीकरण र अङ्ग्रेजलाई हराउन योगदान रहेको उहाँले स्मरण गर्नुभयो । 

शङ्खरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थल जहरसिंहपौवामा निर्माण गर्न लागिएको एकीकरण अभियानका प्रथम सेनापति बस्न्यातको सालिक, सङ्ग्रहालय र उद्यानलगायत संरचनाले यसको महत्त्वलाई अझ बढाउने विचार राख्नुभयो । नगरपालिकाको साँगाचोक भन्ने ठाउँमा बस्न्यातले वीरगति प्राप्त गरेपछि उहाँका नाति जहरसिंह बस्न्यातले प्रथम सेनापति शिवरामको स्मृतिमा पौवा बनाएपछि नै यस ठाउँकाे नाम जहरसिंह पौवा रहेको ऐतिहासिक दस्तावेजका आधारमा यस ठाउँको विकास गर्न लागिएको हो ।

नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा पनि एकीकरण अभियानका पहिलाे सेनापति बस्न्यातका बारेमा पाठ समावेश गरिएको छ । कक्षा सातको व्यक्ति परिचय शीर्षकको पाठ समावेश गरिएको नगरपालिकाको शिक्षा शाखाका पूर्व प्रमुख बोधराज निरौलाले जानकारी दिनुभयो । वडाध्यक्ष सन्तबहादुर वाइवाले पर्यटन र कृषिका माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने योजना अनुरूप ऐतिहासिकस्थल जहरसिंह पौवालाई संरक्षण एवम् प्रचारप्रसार गर्न लागिएको बताउनुभयो ।

सैनिक इतिहासको विषयमा खोज अनुसन्धानमा लाग्नुभएका पूर्व जर्नेल डा. प्रेमसिंह बस्नेतले तामाङ राजाले जार काटेर जहरसिंह पौवा नाम रहेको भन्ने स्थानीयवासीमा रहेको भ्रमलाई ऐतिहासिक दस्तावेज तथा प्रमाणका आधारमा मेटाएर सालिक, सङ्ग्रहालय र उद्यान निर्माण गर्न लागिएको बताउनुभयो ।  

श्रीपाली बस्नेत समाजको नेतृत्वमा सालिक, सङ्ग्रहालय र उद्यानलगायत संरचना निर्माण गर्न लागिएको हो । कार्यक्रममा समाजका अध्यक्ष पूर्व राजदूत डा. निरञ्जनमानसिंह बस्नेतले एकीकरण सुरु भएपछि शिवरामसिंह बस्न्यात प्रथम सेनापति नियुक्त भइ नाै सय सेनाका साथ गोरखाबाट नुवाकोट, काठमाण्डाै विजय गर्दै जहरसिंह पौवाबाट पूर्व लाग्नुभएकाे बताउनुभयो ।

वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जहरसिंह पौवाको पनि पुनर्निर्माण गर्न लागिएको जानकारी कार्यक्रममा दिनुभयो । पौवा निर्माण गर्दा १६ रोपनी जग्गा भए पनि अहिले त्यो मासिएकाले नगरपालिकासँग जग्गा लिएर संरचना निर्माण गर्न लागिएको जानकारी दिइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया