बझाङ : यार्सागुम्बाले मूल्य पाएन, ‘रासन र लुगाफाटो किन्दाकाे उधारो पनि तिर्न नसकिने भयो’

 साउन २१, २०७८ बिहिबार १८:४७:५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बहुमूल्य जडीबुटी यार्सागुम्बाले मूल्य नपाउँदा बझाङका यार्सा सङ्कलक समस्यामा परेका छन् । पछिल्ला केही वर्षयता यार्साको मूल्य घट्दै जानथालेको छ । यार्सा सङ्कलकहरू वैशाख दोस्रो हप्तादेखि दुई महिनाका लागि गाँसबासका आवश्यक सामानसहित सङ्कलन गर्ने क्षेत्र जाने गर्दछन् ।  उनीहरू तीन महिना यार्सा सङ्कलन क्षेत्रमै त्रिपाल टाँगेर बस्छन् । 

एकातिर यार्सा सङ्कलनमा कमी आएको र अर्काेतिर बजार मूल्य नपाउँदा मार्कामा परेको साईपाल गाउँपालिका १ का मिलन धामीले बताउनुभयो । ‘पोहोर साल यार्सा सङ्कलन गर्न सकिएन । दुई वर्षअघि प्रतितोला १२ हजारदेखि १३ हजार पाँच सय रुपैयाँसम्ममा बिक्री भएको थियो । यसपालि पनि राम्रै मूल्य पाइएला भन्ने सोचेका थियौँ । अहिले त ह्वात्तै घटेर प्रतितोला आठ हजारदेखि नौ हजारमा आयो । कोरोना महामारीले कतै जानै पाइएन । हिमाली क्षेत्र भएकाले उत्पादन पनि कमै हुन्छ । सबै किनेरै खानुपर्छ । हिउँदमा यार्सा बेचेर पैसा दिउँला भनेर साहुसँग ऋण निकालेर घर खर्च चलाइयो । अहिले यार्सागुम्बाले मूल्य नपाउँदा साहुको ऋण तिर्न त परको कुरा हो, घर खर्च चलाउन पनि समस्या भइरहेको छ’, उहाँले गुनासो पोख्नुभयो ।

बझाङका साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, बुंगल नगरपालिका, छविसपाथिभेरा गााउँपालिका लगायतका पालिकाको आम्दानीको मुख्य स्रोत यार्सालगायतका जडीबुटी हुन् । यहाँका नागरिकले लेकतिर गइ जडीबुडी सङ्कलन गर्ने र त्यही जडीबुटी बेचेर गुजारा चलाउने गरेका छन् । गएको वर्ष कोरोना महामारीका कारण यार्सा सङ्कलन क्षेत्र बन्द हुँदा सङ्कलन कार्य प्रभावित भएको थियो । यस वर्ष सङ्कलन गरे पनि मूल्य नपाएपछि सङ्कलकहरू निराश भएका छन् ।  

यार्सागुम्बाले मूल्य नपाउँदा सुर्मा गाउँपालिकाका प्रेमबहादुर बोहरा यसरी गुनासो पोख्नुहुन्छ, ‘यार्साले राम्रै मूल्य पाउला भन्ने थियो तर मूल्य झन् घट्यो । पोहोर साल सङ्कलन गरिएन, त्योभन्दा अघिल्लो वर्ष डेढ लाख रुपैयाँसम्म कमाइएको थियो । यार्सा टिप्न जाने बेलाको रासन र लुगाफाटोलगायतका सामान किनेको उधारो पनि तिर्न नसकिने भयो ।’

बझाङका विभिन्न गाउँमा यार्सा सङ्कलक र व्यापारीको सहमतिमा प्रतिगोटा र तोलाको हिसाबले यार्सा बिक्री हुने गरेको छ । दुई वर्षअघि प्रतिकिलो १० लाख रुपैयाँमा बिक्री भएको यार्सा यस वर्ष घटेर प्रतिकिलो झन्डै आठ लाख रुपैयाँमा बिक्री भइरहेको छ । 

यार्सा सङ्कलन गर्ने क्षेत्रमा फोहोर भएका कारण यार्सा सङ्कलन घट्दै गएको हो । हिउँ पर्ने र पग्लिने अवधिमा अनियमितता, अनियमित र अपरिपक्व रूपमा यार्साको सङ्कलन, जलवायु परिवर्तनलगायत कारणले यार्साको उत्पादन घट्दै गएको विज्ञहरू बताउँछन् । नेपालमा पछिल्लो दुई दशकयता मात्र यार्साको व्यावसायिक सङ्कलन तथा बिक्री सुरु भएको उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनुहुन्छ । यार्साको मूल्य घट्दा बझाङको अर्थतन्त्रमा ठूलो असर परेको उहाँको भनाइ छ ।

जडीबुटीले मूल्य नपाउँदा यहाँका धेरैजसो मानिस भारतको पिथौरागढ, धार्चुला जान बाध्य छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया