महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गर्दै देउवालाई ज्ञापन पत्र

 साउन २१, २०७८ बिहिबार २०:६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षहरूले १४ औँ महाधिवेशनको सुनिश्चितताका सम्बन्धमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । 

बिहीवार सबल कांग्रेस निर्माणका लागि युवा अभियान नामबाट पार्टी कार्यालय सानेपामा सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै १४ औँ महाधिवेशनको सुनिश्चितता गर्न माग गरेका हुन् । उनीहरूले पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न पनि माग गरेका छन् ।

पार्टीका नीति प्रशिक्षण तथा गणेशमान प्रतिष्ठानका सदस्य प्रमोदहरि गुरागाईंले पार्टीलाई वैधानिक हिसाबले कब्जा गर्नका लागि विभिन्न बहानामा गरिएका आलटाल र देखाइएका उदासीनताले आफूलाई झकझकाएको बताउनुभयो । उहाँले ७७ वटै जिल्ला, सबै क्षेत्रमा विधिवत् ढङ्गले पार्टीलाई कब्जा गर्ने, गलत गर्ने नियतका साथ काम भइरहेको र इतिहासलाई छायामा पार्ने कुचेष्टा गरिएकाले यसमा आफू गम्भीर भएको बताउनुभयो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन कार्यतालिकाअनुसार तल्लो तहको अधिवेशन हुन सकेको छैन । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया