व्यङ्गय : कोरोना तर्साउने नेपाली शैलीकी जय !

 साउन २३, २०७८ शनिबार १०:४९:३० | मिलन तिमिल्सिना
unn.prixa.net

पोहोरको लकडाउनले गरिब नेपालीको लक मात्रै डाउन भयो, कोरोना डाउन भएन । यसपालिको निषेधाज्ञाले मान्छेलाई मात्रै निषेध गर्यो, कोरोनालाई छेकेन । हर्रो, बर्रो, बेसार पानी, गुर्जो, दालचिनी, असुरो, तुलसी, तेजपात, पानको पात सबैलाई कोरोनाले मर्स्याङ्दी सलल बनाइहाल्यो । हुँदाहुँदा बल्लतल्ल लगाउन पाइएको खोपले पनि कोरोनाको मुटुमा ऐया हुने गरी चोट लागेजस्तो देखिएन । 

थाम्दाथाम्दै, छेक्दाछेक्दै कोरोना नानाथरीको औतार देखाएर जिस्काइरहन्छ । देख्लास्, पख्लास् भन्दै ङिच्च दाह्रा देखाएर झम्टिरहन्छ । पहिले कोरोनाको अर्कै औतार, अहिले कोरोनाको अर्कै अवतार । कहिले यस्तो, कहिले उस्तो औतार बनाएर तर्साउने कोरोनालाई उल्टै कसरी तर्साउने त ? संसारका अरु देशहरु खोप र मापदण्ड बनाएर कोरोना तर्साउँदै र भगाउँदैछन् । नेपालले चाहिँ धानबारीमा खरायो धपाउन बुख्याँचा राखेझैँ आफ्नै मौलिक शैली अपनाइरहेको छ । कोरोनालाई घरभित्र लुकेर होइन, सडकमा खुलेआम उफ्रेर तर्साउन सकिन्छ भन्ने निष्कर्षमा सरकार, राजनीतिक दल र नागरिक एकमत छन् ।

नेपाली आफैँले पत्ता लगाएको कोरोना तर्साउने एउटा हतियार हो–मास्क लगाउने थरीथरीका काइदा । नाक र मुख छोपेर हिँड्दा अनुहार देखाउन लाज हुनेहरुलाई मात्र काइदा भयो, कोरोनालाई बेफाइदा भएन । त्यसैले औतार फेरेको कोरोनालाई तर्साउन मास्क लगाउने काइदा पनि फेर्नुपर्छ । हिजोआज धेरैले नाकमुख छोपिने गरी मास्क लगाउँदैनन् । कसैले चिउँडोमा त कसैले कानमा झुन्ड्याउँछन् । कोही चाबी घुमाएझैँ हातले मास्क घुमाउँदै सडकमा लखरलखर हिँड्छन् । कसैले त चस्मा अड्याएझैँ टाउकोमा समेत मास्क भिर्ने गरेका छन् । कोही कोहीले त मास्कलाई रिबन र कट्टुको रुपमा समेत प्रयोग गर्ने गरेको देखिन्छ । यो सबै तमासा कोरोनालाई भुलभुलैयामा पार्न र तर्साएर भगाउनको लागि हो ।

कोरोना लखेट्ने नेपालीको अर्को काइदा हो हुल बाँधेर र ठेलम्ठेल भएर सडकमा हिँड्ने । एक्लै दुक्लै हिँड्दा त कोरोनाले टेर्दैन । एक्लोलाई एकान्तमा पाएर उल्टै थर्काउन सक्छ । हुल बाँधेर हिँडेपछि कत्राकत्रा भुसतिघ्रेहरु त डराउँछन् भने जाबो कोरोनाको के कुरा ! त्यसैले हिजोआज सडकमा हेर्नुहोस्, बजारमा हेर्नुहोस्, गाडीमा हेर्नुहोस्, खोप लगाउने ठाउँमा हेर्नुहोस् मेला लागेजस्तै हुन्छ । यो भीडभाड, घुइँचो, लावालस्कर, ठेलम्ठेल सबै कोरोना तर्साउनको लागि जानीबुझी अपनाएको फौजी शैली हो भनेर बुझ्दा हुन्छ । 

बाटोघाटो, सार्वजनिक बस र सरकारी अड्डामा त पहिले पनि भीड लाग्ने गरेकै हो । अहिले खोप केन्द्रमा पनि भीड बढाएर सरकारले कोरोनाविरुद्ध अर्को अचुक अस्त्र प्रयोग गरेको छ । खोपसँग त कोरोना यसै पनि डराउँछ । खोप लगाउन जानेहरुसँग झन् नडराउने कुरै भएन । त्यसमाथि हुल बाँधेर, ठेलम्ठेल गरेर खोप लगाउनेहरु देखेपछि त कोरोना त्यसै पनि तर्सिन्छ । सबैलाई खोप पुगेन भने पनि मान्छे देखेरै कोरोनालाई खोपजत्तिकै डर हुन्छ । खोप केन्द्रमा भीडभाड गराएर सरकारले पनि कोरोना भाइरसविरुद्ध नागरिकलाई एकजुट बनाइरहेको छ । 

कोरोनाको ध्यान भङ्ग गर्न सरकारले आधुनिक रुपरङ्गसँगै परम्परागत शैलीलाई पनि कायमै राखेको छ । हरेक दिन यतिलाई कोरोना लाग्यो, यति मरे, यति बाँचे, यतिले खोप लगाए भन्ने विवरण आइरहन्छ । दिनहुँ आइरहने यी विवरण मान्छेले मात्र होइन, कोरोनाले पनि हेर्छ, सुन्छ र थाहा पाउँछ । थाहा पाइसकेपछि ओहो अब यहाँ योभन्दा बढी गर्नुहुन्न यतिमै चित्त बुझाउनुपर्छ भनेर अन्तै हिँड्न सक्छ ।

त्यसबाहेक सरकारले ठाउँठाउँमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर र अरु स्वास्थ्य उपकरण भुइँमै लडाएर कोरोना तर्साउँदैछ । दाताहरुले दान गरेको उपकरण सञ्चालनमा ल्याएर कोरोना लखट्नुभन्दा भुइँमा ठाडो पारेरै कोरोना तर्साउन सजिलो छ । अस्पताल बाहिरै अलपत्र थन्किएका उपकरण देखेर कोरोना तर्सन्छ भने उसलाई अस्पतालभित्र जबर्जस्ती किन छिराउनु । अस्पताल पस्न नपाउँदै बाहिरबाटै कोरोना भगाउने सरकारको अग्रगामी छलाङलाई मान्नै पर्छ ।

त्यसमाथि सरकार खोप खोप खोप भनेर हल्ला गरेरै कोरोनाको सातो उडाउने प्रयासमा छ । प्रधानमन्त्री र मन्त्रीहरुको मुखमा मात्रै हैन, भर्खरै खुस्केका बाहेक बाँकी पूर्व प्रधानमन्त्रीको मुख पनि खोपले भरिन र पुरिन थालेको छ । तर, सबैलाई पुग्नेगरी खोप ल्याएर व्यवस्थित ढङ्गले लगाउने सुरसार छैन । त्यसमाथि सेवासुविधाको खाँचै नभएका व्यापारी मान्छे मन्त्रालय पसेका छन् । राजनीतिभन्दा फरक रुपका मान्छेलाई मन्त्रीको कुर्सीमा देखेपछि कोरोना यसै पनि डराउँछ ।

कोरोना तर्साउने सरकारी कामलाई राजनीतिक दलहरुले पनि आआफ्नै शैलीमा साथ दिइरहेका छन् । अरुलाई सभा र बैठक नगर्न भन्ने दलहरु आफैं जुलुस निकाल्छन् । केटाकेटीले लुकामारी खेलेको शैलीमा बन्धक बनेको र बनाएको खेल खेल्छन् । मान्छेको भीड थुपारेर भाषण गर्छन् । भाषणमै रेल र पानीजहाज आइसकेको, गरिबी र भ्रष्टाचार हटिसकेको देशमा भाषणले कोरोना नहट्ने कुरै भएन । 

पहिले घरभित्र एक्लै लुकेर बस्दा कोरोना तर्सेन । अब सडक, बजार, खोप केन्द्र र सरकारी अड्डामा एकैपटक सबै जम्मा भएपछि कोरोना नतिर्सी सुख ! थरीथरीका औतारमा प्रकट भएर तर्साउने कोरोनालाई उल्टै तर्साएर लखेट्ने नेपालको बुख्याचा शैलीको जय!

अन्तिम अपडेट: चैत २६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

1 Comments

  • Puspa Raj Rimal

    Aug. 7, 2021, 3:13 p.m.

    अति सान्दरभिक

  •  0 Reply

तपाईको प्रतिक्रिया