४५ रुपैयाँको अभावमा पढाइ छाडेर साउदी पुगेका भोलाराम अहिले देशमै उद्योग चलाउँछन्

 भदौ ९, २०७८ बुधबार १६:३६:३५ | सन्जिता देवकोटा
unn.prixa.net

सिराहा – कक्षा ८ को रिजल्ट आयो । रिजल्ट हेर्न दौडिँदै स्कुल पुगेका भोलाराम महराले पास हुनेहरूको लिस्टमा आफ्नो नाम भेट्नुभएन । 

सन् २००० तिरको त्यो क्षण सम्झँदै भोलाराम भन्नुहुन्छ,‘४५ रुपैयाँ स्कुल फिस नबुझाएकाले मेरो परीक्षा गन्ती नै गरिएन छ ।’ हुन त जम्मा ४५ रुपैयाँको कुरा थियो । तर भोलारामका लागि त्यो रकम निकै ठुलो थियो ।
आमाले मेलापात गरेको पैसाले घरको चुलो बल्थ्यो । आफ्नो त मुन्टो लुकाउने घरसम्म थिएन । 

भोलारामको पढाई ४५ रुपैयाँ शुल्क तिर्न नसक्दा रोकियो ।

यही अभावले उहाँलाई वैदेशिक रोजगारीतिर डोहोर्‍यायाे ।

सन् २००१ मा भोलारामको गाउँ सिराहाको बसबिट्टाबाट कमाउनका लागि विदेश जानेहरू फाट्ट फुट्ट मात्रै भेटिन्थ्यो । विदेश जानेहरूको गाउँमा छुट्टै सान र मान थियो । 

गाउँका युवालाई विदेश पठाउने एजेण्टलाई भेटेर आफ्नो बाध्यता सुनाउनुभयो भोलारामले पनि । 

‘गाउँका एजेण्टले अर्को एजेण्टसँग कुरा गरेछन्, त्यसपछि मेरो पासपोर्ट बन्यो, ऋण गरेरै मेडिकल जाँच गरेँ,’ भोलाराम भन्नुहुन्छ,‘पढ्न मागेको भए त ऋण पत्याउने थिएनन्, विदेश जान्छु भनेपछि त ऋण दिने चलन छ नि समाजमा, मलाई पनि यति छिटो भिसा आएको छ भनेर मान्छेले ऋण पत्याए ।’

रोजगारीका लागि देश छाडेर खाडी उड्नेसँग बाध्यता र सपना दुवै हुन्छन् । भोलारामको भने सपनाभन्दा बढी बाध्यता थियो । घरको गरिबीलाई हटाउने, एक्ली आमालाई घर चलाउन सघाउने उहाँको सपना थियो । यही सपना र बाध्यताको साथमा २१ वर्षको उमेरमै देश छाडेर विदेश उड्नुभयो उहाँ । 

साउदी जाने जहाज चढ्दा भोलारामको काँधमा सय कडा पाँचका दरले काढेको १ लाख ६ हजार रुपैयाँ ऋणको भारी पनि थियो । 

यस्तै जिम्मेवारीको एउटा भारी बोकेर भोलाराम सन् २००१ को एक साँझ साउदी अरेबियाको विमानस्थलमा ओर्लिनुभयो । 

साउदीको जमिनमा पाइला टेक्दासम्म पनि न साउदीको बारेमा केही थाहा थियो न त आफूले गर्नु पर्ने काम र बोल्नु पर्ने भाषाबारे जानकारी । भोलारामको मनमा विदेश गएपछि कमाइन्छ भन्ने विश्वास मात्र थियो । 

सिराहाको घाम खेपेको भए पनि साउदी पुग्दा भोलारामलाई त्यहाँको घाम र तातो हावाले सबैभन्दा पहिले सतायो । महिनौँसम्म निकै कमजोर बनायो ।

‘जब जहाजबाट ओर्लिए नि, ओहो कति तातो घाम, हावा पनि उस्तै तातो, मलाई त अब यहाँ एक छिन् पनि सक्दिन, घामले पोलेर मर्छु झैँ लाग्यो,’ २१ वर्षअघि साउदीमा पाइला टेक्दाको त्यो समय सम्झँदै भोलाराम भन्नुहुन्छ,‘बरु मरे भने बाकसमा फर्किन्छु तर म ऋण नतिरी चाहिँ फर्कन भन्ने सोचेँ ।’

बेल्चा उचाल्न सक्दाको त्यो क्षण

तातो घाम र हावा जे भए पनि १४ दिनमै भिसा पाएर साउदी पुग्दा भोलारामको मनमा छुट्टै खुसी थियो । त्यही सुखी र उत्साह बोकेर काम गर्ने साइड(ठाउँ)मा जानुभयो । 

पहिलो दिन नै बेल्चा उचाल्न पर्‍यो । तर सक्नुभएन । 

‘मलाई सुपरभाइजरले यो काम गर भन्यो, बेल्चा उठाएर बालुवामा हाने, तर मैले उठाउन सकिनँ,’ भोलाराम भन्नुहुन्छ,‘त्यसपछि उसले मलाई हातमा तानेर लग्यो, त्यो बेला त कति डर लाग्यो लाग्यो नि ।’

तर भोलारामलाई त्यो कठिन परिस्थितिमा उनै सुपरभाइजरको नसोचेको साथ मिल्यो । आठ अलिअलि अङ्ग्रेजी जान्ने भएकाले भोलारामलाई सुपरभाइजरसँग कुरा गर्न सजिलो भयो । 

आफ्नो कोठामा लगेर सुपरभाइजरले सोधे – पढ्ने उमेरमा किन यहाँ आएको ?

जानी नजानी भोलारामले जवाफमा भन्नुभयो,‘मेरो घरमा पैसा थिएन, त्यसैले पढ्न पाइनँ ।’

अब नेपाल नै फर्काउने भयो भन्ने ठुलो डर लाग्यो भोलारामलाई । तर सुपरभाइजरले मायालु स्वरमा भने,‘म अर्कै काम सिकाउँछु, सिकाएको काम गर्न सक्छस् ।’

भोलारामले टाउको हल्लाएर सहमति जनाउनुभयो । 

त्यसपछि सुपरभाइजर आफैले भोलारामलाई इलेक्ट्रिसियनको काम सिकाउन थाले । उनले जे सिकाए त्यो सीप भोलारामले एकै पटकमा सिक्नु पनि भयो । 

सुपरभाइजरकै साथ र सहयोगले भोलारामले लेबरको भिसामा गएको भए पनि प्राविधिकको काम गर्न पाउनुभयो । तीन महिनामै नसोचेको सफलता पनि मिल्यो । 

‘मैले त्यहाँ फेरि कुनै दिन पनि बेल्चा चलाउन परेन, तीन महिनामा त लगभग इलेक्ट्रिसियनको काम जानिसकेको थिएँ,’ भोलारामले सुनाउनुभयो ।

मासिक तलब ३५० साउदी रियाल थियो । तर भोलारामको मेहनतकै कारण तीन महिनाभित्रमा थप ४५ रियाल तलब कम्पनीले बढाइदियो । उहाँको मेहनत सँगै हातको सीप बढ्दा कम्पनीले तलब र सेवा सुविधा पनि बढाउँदै गयो । एक वर्ष बित्दा त मासिक ५४५ रियाल कमाउने हुनुभयो भोलाराम ।

भोलारामले साउदीमा चार वर्ष बिताउनुभयो । दुई वर्ष त जाने बेला काढेको ऋणको सावा ब्याज तिर्न लाग्यो । त्यसपछि कमाएको रकमले घर व्यवहार चलाउँदै बचत गर्नुभयो । 

साउदीमा ६ वर्ष बसेपछि भोलारामको यात्रा कतार तिर मोडियो । उहाँले कतारमा पनि साउदीमा सिकेको सीप अनुसारकै काम पाउनुभयो ।

‘हातमा सीप हुने हो भने जहाँ गए पनि काम लाग्ने रहेछ, मैले साउदीमा केही नसिकी जाँदा र कतारमा हातमा सीप लिएर जाँदा निकै फरक महसुस भयो’ आफ्नो अनुभव सुनाउँदै भोलाराम भन्नुहुन्छ,‘विदेश मेहनत गर्न जाने हो, रमाइलोका लागि होइन भनेर हामीले बुझ्न जरुरी छ ।’

सुकुम्वासी बस्तीमा बसेको घरलाई भोलारामले जग्गा किनेर आफ्नै नाममा बनाउनुभयो । केही घडेरी किन्नुभयो । 

भोलारामले आफ्नै कमाइले घर घडेरी जोड्न सक्नुमा उहाँले गरेको बचत नै हो । महिनामा कमाएको पैसा नियमित पठाउनुभयो । आफ्नो खाना बाहेक हुने सबै फजुल खर्चहरू उहाँले कटौती गर्नुभयो ।

‘मैले कहिले पनि विदेशमा फजुल खर्च गरिनँ, कमाएको रकमबाट आफ्नो ज्यानलाई चाहिने खानेकुरा बाहेक मैले एक रुपैयाँ पनि खर्च गरिनँ,’ भोलाराम भन्नुहुन्छ,‘जति पनि बच्थ्यो त्यो सबै मैले घरमा आमा र श्रीमतीलाई नै पठाएँ ।’

अनि आफ्नै देश फर्किए

साउदी र कतारमा गरी भोलारामको १२ वर्ष बित्यो । यी १२ वर्षमा विदेशले धेरै कुरा दियो र केही कुरा लियो पनि । एक्ली आमालाई छाडेर परदेशी हुन पर्‍यो । बिहे पछि पनि पैसाकै लागि साना छोराहरू छाडेर खाडीमा सङ्घर्ष गर्नुभयो । 

यही मेहनतले आफ्नो नामको एक मुठी माटोसमेत नभएका भोलारामले विदेशकै कमाइले पक्की घर बनाउनुभयो । दुई छोरालाई राम्रो स्कुल पठाउनुभयो । घरको हरेक आवश्यकता पुरा गर्नुभयो । 

तर विदेश कहिलेसम्म ? यही प्रश्नले खुब सताउँथ्यो उहाँलाई । 

भन्नुहुन्छ – ‘विदेशमा त काम छ, पैसा छ, तर परिवार, छोराछोरी त यही छ नि, मलाई अब चाहिँ नेपाल जानुपर्छ भन्ने लाग्थ्यो ।’

कतारमा बसेर विदेशको विकल्प खोजिरहेकै बेला भोलारामलाई श्रीमती रीता कुमारीको साथ मिल्यो । 

गाउँघरमा परदेशीका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा बस्न थाल्नुभएकी रित्ता कुमारीले देशमै पनि केही गर्न सकिन्छ भन्ने आँट दिनुभयो भोलारामलाई । 

‘मैले कक्षामा बसेर आम्दानी गर्ने, व्यवसाय गर्ने कुराहरु सिकेको थिएँ, त्यही कुरा उहाँलाई पनि सुनाएँ, यसो सोच्दा त यही पनि गर्न सकिन्छ जस्तो लाग्यो अनि उहाँ पनि आउनुभयो,’ रित्ता कुमारी भन्नुहुन्छ ।

‘श्रीमतीले मलाई यहाँको कुराहरू सुनाउँथिन्, मैले पनि अब देशमै केही गर्नुपर्छ भनेको, उसले पनि मलाई आँट दिइनँ,’ श्रीमतीको पनि साथ पाएपछि भोलाराम देशमै केही गर्ने सोच बनाएर गएको २०७७ साल पुसमा स्वदेश फर्किनुभयो । 

गाउँघरमा परिवारकै साथमा बसेर गर्न सकिने काम के हुन्छन् त भनेर निकै खोजी गर्नुभयो भोलारामले । 

उहाँको गाउँमा धेरै जना कुल्फी बेच्नेहरू छन् । तर उद्योग चाहिँ थिएन । उनीहरू गाउँभन्दा १८ किलोमिटर पर गाउँमा रहेको उद्योगबाट कुल्फी ल्याउने कुरा थाहा पाउनुभयो भोलारामले । आफ्नै गाउँका मानिसले कुल्फी ल्याउन गरेको सङ्घर्ष थाहा पाएपछि भोलारामले सोच्नुभयो अब गाउँमै कुल्फी उद्योग म खोल्छु ।

खाली रहेको आफ्नै जग्गामा सब परिवार मिलेर टहरो बनाउनुभयो । काठमाण्डौबाट मेशिन मगाउनुभयो । विदेशमा कमाएर बचेको जति रकम यही उद्योग खोल्नमा लगाउनुभयो । 

‘सुरुमा त डर पनि लागेको थियो, उद्योग चल्ने हो कि होइन भन्ने लाग्यो,’ भोलाराम सुखी हुँदै भन्नुहुन्छ,‘ जब खोले तब सोचेभन्दा निकै राम्रो भयो । 

अहिले त भोलारामले १७ जनालाई रोजगारीसमेत दिनुभएको छ ।

श्रीमती रीताकुमारी पनि सबै परिवार साथमा रहेर काम गर्न पाउँदा खुसी हुनुहुन्छ । भन्नुहुन्छ,‘आफ्नो काम गर्दा आफै मालिक भइन्छ, अरूको काम गर्दा नोकरको नोकर नै हुन्छ, अहिले श्रीमान् यही हुनुहुन्छ सबै कुरा राम्रो छ ।’ 

४५ रुपैयाँको अभावमा साउदी पुग्नुभएका भोलारामलाई अब आफ्नै देशमा आफूजस्तै थुप्रै युवालाई रोजगारी दिन मन छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया