हरिवंशको ‘कालु भेना’ले भन्छ – ‘विदेश भन्दा देशमै बेस’

 भदौ १०, २०७८ बिहिबार १७:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘कोदोको रोटीसँग एक चम्चा घ्यू अनुहार डढे पनि बलियो छ ज्यु ।’ 

हरिवंश आचार्यको आजै रिलिज भएको गीत ‘ए कालु भेना’ले कोदोको रोटी खानु परे पनि आफ्नै देश ठीक भन्ने सन्देश दिन खोजेको छ । 

गायिका मिलन नेवारसँग गाउनुभएको कालु भेना गीतले विदेशमा गएर काम गर्नुभन्दा दुःख सुख जे भए पनि देशमै बेस हुने कुरालाई देखाउन खोजेको छ । गीतको म्युजिक भिडियो दुई जना साथीहरु कलाकारद्वय नाजिर हुसेन र आर्यान खरेलबीचको सम्वादबाट सुरु हुन्छ । विदेशबाट बिदामा घर आएका आर्यानले नाजिरलाई 'तँ विदेश हिँड्दैनस्' भनेर सोध्छन् । त्यसको जवाफमा नाजिरले भन्छन्, ‘कोदोको रोटी र घ्यू खान पाएकै छ किन जाने हो र विदेश ?, जहाँ गए नि टाउकै जोत्ने हो ।’

फेरि आर्यानले जोर गर्दै भन्छन्, ‘नेपालमा बसेर केही काम छैन केटो, हिँड् मसँग विदेश ।’

नाजिरले फेरि दोहोर्याउँछन्, ‘जाँदिन म विदेश ।’

आर्यानले साेध्छन्, ‘किन जाँदैन विदेश ?’

नाजिरले हिँड्, खेतमा गएर भन्छु भन्छन् । त्यसपछि सुरु हुन्छ, गीत । 

विदेशभन्दा देशमै बेस भन्ने कुरा ६ मिनेटको गीतले प्रष्ट पार्छ । विदेश जान लालायित आर्यानमा यही गीतले देशमै केही गरौँ भन्ने भावना जगाउँछ । सुख–दुःखका साथीहरु छोडेर, घर–परिवार छोडेर पनि के विदेश जाने भन्ने कुरा गीतको भिडियोमार्फत देखाउन खोजिएको छ । सुरुमा विदेश जाउँ भनेर जोर गर्ने आर्यान अन्त्यमा आफै स्वदेशमै केही गर्नुपर्छ भन्ने विचार गर्छन् । गाउँमै बसेर आधुनिक कृषिकर्मतर्फ लाग्नुपर्छ भन्दै नाजिरलाई समेत सल्लाह दिन्छन् ।

एकदमै गाउँले परिवेशमा रचिएको गीतले वैदेशिक रोजगारीको तृष्णा पालेका र आफ्नै गाउँघरका स्रोतसाधन बिर्सेर पराइभूमिमा पसिना बगाउन जानेहरुलाई सचेत गराउन खोजेको छ । गीतमा हरिवंश आचार्यको शब्द र मिलन नेवार र हरिवंश आचार्यकै स्वर रहेको छ । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलले अभिनय गरेको यो गीतको भिडिओ गम्भीर बिष्टले निर्देशन गरेका हुन् । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया