व्यङ्ग्य : बालकोटको बार्दली र कोटेश्वरको कुर्सीबाट ‘अदक्ष’ र ‘अध्यक्ष’को फोनवार्ता

 भदौ १२, २०७८ शनिबार ९:२८:१८ | मिलन तिमिल्सिना
unn.prixa.net

बुधवार बेलुका बालकोटको बार्दली र कोटेश्वरको कुर्सीमा बसेका दुई जनाको मनमा एउटै कुरा खेल्दै थियो । पार्टी नफुट्ने हो कि भन्ने कत्रो चिन्ता थियो । धन्न पार्टी फुट्यो । छुट्टाभिन्न भएर आ–आफ्नो बाटो लाग्ने र भाग खोज्ने लक्ष्य पूरा भयो। बाल्कोटका बा भन्दा कोटेश्वरका काका बढी गद्‌गद् भए । पार्टी र सरकार दुवैतिरको कुर्सी हात पारेपछि नेकपा एसका घरमूलीले बाल्कोटतिर फर्केर बार्दलीमा बसेका बाको फोनमा घण्टी बजाए ।


–हेलो अदक्षज्यू, के छ त खबर ? तपाईँलाई नो भनेर यता एस भएको थाहा पाउनुभयो होला नि ?

–अदक्ष होइन, अध्यक्ष भन्नुहोस् । गाउन, नाच्न र नचाउन दक्ष मान्छेलाई अदक्ष भन्ने ? चन्द्रागिरिको चिसोले दिमागको तार लुज भयो कि क्या हो ?

–अब त म पो अध्यक्ष, तपाईँ त अदक्ष नै हो । चुनावमा त्यति धेरै सिट जितेको पार्टीलाई खुम्च्याएर सानो बनाउने तपाईँ कसरी दक्ष ? कसरी अध्यक्ष ? पार्टीलाई बलियो बनाउन नसक्ने तपाईँ त दक्ष नै नभएको अध्यक्ष हो । 

–जुन गुरुको सिङ छैन उसकै नाम तिखे ! अध्यादेशको अध्यक्षलाई के को दक्ष भन्नु ? पुच्छर झुण्ड्याउँदैमा सग्लो भइन्छ ? बैठकमा आउनुहोस् भन्दा पनि नो, मिलौँ भन्दा पनि नो, चुनावमा जाउँ भन्दा पनि नो, मलाई नमस्ते गरिरहनु भन्दा पनि नो, जे मा पनि नो गर्ने मान्छेको पार्टीको नाम एस भएर के गर्नु ।  त्यसमाथि कहिल्यै दक्ष हुन नसक्ने तपाईँ चाहिँ कसरी अध्यक्ष ?

–यी हेर्नुस् निर्वाचन आयोगले दिएको प्रमाणपत्र । अब त स्थायी अध्यक्ष । पहिले सडकमा प्रचण्डसँगै अस्थायी अध्यक्ष भइयो । साँच्चैको स्थायी अध्यक्षको कुर्सीमा बस्ने तलतल बल्ल मेटियो ।

–त्यही परमादेशको सरकार र अध्यादेशको अध्यक्षको लागि त यति गर्नुभएको नि ? अब त मन शान्त भयो होला नि ?

–भयो त के गर्नुहुन्छ ? तपाईँसँग बसिरहेको भए अशान्ति हुन्थ्यो । अब बल्ल ढुक्क भइयो । खोजेकै कुरा अध्यक्ष मिल्यो । तपाईँले नदिएर के भयो त ?

–महाधिवेशनबाट चुनिने म, अनि तपाईँ चाहिँ कसरी अध्यक्ष ? केटाकेटीले पापा मागेजस्तो हो अध्यक्ष पद र दिनलाई ?

–नदिएर के भयो त ? हामीले लिएरै छाड्यौँ । तपाईँको एमाले त अब रित्तो भयो । समाजवादी भरि भयो ।

–ल भो भो धेरै नखोकौँ कम्रेड । समुद्रबाट एक लोटा पानी लैजाँदैमा समुद्र रित्तो हुँदैन । एमाले समुद्र हो समुद्र ।

–खुब समुद्र । बर्खाको पानी जमेको खाडलजस्तो हो । केही दिनमै रित्तो हुन्छ अनि थाहा हुन्छ ।

–तपाईँ बसिरहेको भए अझ खाडलजस्तो हुन्थ्यो । अब त समथर मैदान भइसक्यो । अहिले मैले नाचिरहेको घरको आँगनजस्तै समथर भएको छ पार्टी ।

–ए डान्स पो हानिरहनुभएको छ ? हामीले अर्को पार्टी खोलेको खुसीयालीमा हो कि क्या हो ?

–तपैँले पार्टी खोल्दा के खुसी, के बेखुसी । राधिकाको बर्थ डेमा यसो कम्मर मर्काएको नि ?

–ए...गीतमा त खुबै म त भाग्यमानी भन्ने धुन बज्दैछ त ।

–हो नि मान्छे पनि भाग्यमानी, आफूले लेखेको गीत पनि भाग्यमानी भाकाको । आफ्नो गीतमा नाच्नु परेन ?

–तपाईँ के को भाग्यमानी नि ?

–ल म जस्तो भाग्यमानी को होला ? बाझनेहरु पाखा लगाइहाले ।

–के हो बाझने भनेको ?

–बा भनेको वामदेव, झ भनेको झलनाथ, ने भनेको तपाईँ नेपाल । घाँडो नै तपाईँहरु हो, तपाईँहरु हिँड्दा मजस्तो भाग्यमानी को होला ?

–हेरौँला को कति भाग्यमानी । क्रान्ति गर्न नसकेर थाकेकाहरु त्यतै बसेका छन् । कुन दिनदेखि टिकीखान दिँदैनन् । चाल पाउनुहोला ।

–केही नाप्दैनन् अब ? सबै बुझिसकियो । तपाईँले उचालेर बुरुकबुरुक गर्दै थिए । अब चुप लागेर थन्किसके । अनि अध्यक्ष हुनुभएको भोज खुवाउनुहुन्न ?

–देउवा र प्रचण्डलाई खुवाउन भ्याएको छैन, तपाईँलाई के को भोज ? त्यसमाथि मेरो दल दर्ता भएकै दिन कम्मर मर्काएर खुसीयाली मनाउने तपाईँ जस्तोलाई के को भोज ?

–कम्मर मर्काउनु त मेरो दैनिकी हो । मेरो लागि डान्स के नै ठूलो कुरा हो र ? गीत गाउने, सारङ्गी बजाउने, पार्टीमा तपाईँहरु जस्ता मान्छेलाई बझाउने मलाई जाबो डान्स । बरु ल आउनुहोस् सँगै डान्स गरौँ ।

–परेको छैन तपाईँसित डान्स गर्न । पार्टीमा सँगै भएको बेला नचाउनु नचाइहाल्नु भयो नि । म त अस्तिसम्म मसँगै भएका, अहिले तपाईँसँग टाँसिन गएका साथीहरुको फेसबुक र टिकटकमा आएको ट्रोल हेर्दै हाँसिरहेको छु । हेर्नुभएको होला नि उतिबेला तपाईँलाई केसम्म भनेका थिए तिनले ?

–त्यतिबेला भनेर के भयो ? म खिइएँ ? सानो भएँ ? मेरो सिङ पुच्छर उम्रियो ? 

–हेर्दै जानुस् अलि दिनपछि के-के उम्रिन्छ ।

–ल भैगो धेरै नखोकौँ । कति दिनको फुरफुर हो हेरौँला हामी पनि । कुन दिन प्रचण्डले लोप्पा खुवाइ दिन्छन् अनि थाहा पाउनुहोला ।

–खुवाउँदैनन्, उनीसँगै एकता गर्ने हो अब । त्यसपछि तपाईँलाई चाहिँ लोप्पा खुवाउने हो हामीले ।

–हेरौँला ।

–देखौँला ।

–भेटौँला ।
“भो त्यो पर्दैन !” बाल्कोटमा बाले यति भनेर फोन राख्नु भो, तर बाल्कोटको बार्दलीमा बजेको गीतको धुनले कोटेश्वरका काकाको निद्रा खल्बल्याइरहेको थियो । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया