कमेडी च्याम्पियन : बेग्लै प्रस्तुति, 'जज' विवादमा !

 भदौ १३, २०७८ आइतबार १७:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कान्तिपुर टेलिभिजनमा हरेक शुक्रवार र शनिवार प्रसारण हुँदै आएको चर्चित रियालिटी शो 'कमेडी च्याम्पियन' सिजन–२ मा शनिवार राति भएका दुई वटा प्रस्तुति चर्चामा रहे । 

पहिलो थियो विक्की अग्रवालको प्रस्तुति । अग्रवालको पेन्टाेमाइम (नबाेली अभिनय गर्ने शैली) प्रस्तुतिको प्रशंसा गर्दै जज तथा चलचित्र निर्देशक प्रदीप भट्टराईले भने, ‘यो लेभलमा आएर यो रिस्क लिनु जायज छ ? मैले कति सिनेमाहरू देखेको छु, जो समयभन्दा अघि बन्दा जति पाउनुपर्ने हाे त्यति अडियन्स नपाएको, जति उठाउनुपर्ने पैसा नउठाएको, आर्टलाई माया गरेर बनाएको आर्ट फिल्महरू नचलेको संसारमै उदाहरण छ । तपाईँमाथि पनि मलाई त्यस्तै डर छ ।’ 

त्यस्तै नायिका तथा जज ऋचा शर्माको प्रतिक्रिया थियो, ‘यसकाे रिजल्ट जे पनि हुन सक्छ । तर कमेडी च्याम्पियनका लागि तपाईँ एउटा उदाहरण हो, आउने धेरै–धेरै सिजनका लागि हामीसँग विक्की अग्रवाल भन्ने एक जना कन्टेस्टेन्ट हुनुहुन्थ्यो, जसले कमेडी च्याम्पियनमा सबै भेराइटी ट्राई गर्नुभयो इन्क्लुडिङ माइन्ड भन्न पाउँछाैँ ।’

अर्का जज तथा हास्य अभिनेता मनोज गजुरेलले पनि विक्कीको प्रदर्शनको तारिफमा भने, ‘​विक्कीले हरेक पटक नयाँ प्रयोग गर्दै आएको छ । हामी हरेक पटक कमेडीमा नयाँ चाहियो नयाँ चाहियो भन्छौँ तर संसारमा चलिसकेको यो माइन्ड एक्टिङ हामीले गर्ने त्यही क्यारिकेचर, त्यही स्ट्यान्ड अप, त्यही रोस्ट भन्दा माथिको कलाकारिता हो ।’ 

तर अर्का जज तथा हास्य अभिनेता सन्तोष पन्तले भने विक्कीको प्रस्तुतिका बारेमा बेग्लै प्रतिक्रिया दिए । ‘नयाँ प्रयोगका लागि धेरै–धेरै बधाई छ । तर हरेक ठाउँको आफ्नो आफ्नो स्वाद हुन्छ । हाम्रो हाँस्ने शैली र विदेशीको हाँस्ने शैली फरक छ । विदेशीके कमेडीको टेस्ट र नेपालीको कमेडीको टेस्ट फरक छ । कमेडी च्याम्पियनमा यो फिलोसोपी त भयो तर हाँसो आएन । कोही हाँस्नु भो ?’, उनले उल्टै प्रश्न गर्नुभयो ।

उहाँको यस प्रतिक्रियाका लागि सामाजिक सञ्जालमा सन्तोष पन्तप्रति थुप्रै नकारात्मक प्रतिक्रिया आएका छन् । प्रतिक्रियाका कारण उनी विवादमा पनि तानिएका छन् । 

जगन राई लेख्छन्, सन्तोष पन्तलाई तेस्रो सिजनमा पनि जज राख्ने हो भने टीआरपी पक्कै घट्ने छ । उही पुरानो शैलीले नेपाली कमेडीलाई नयाँ लेभलमा लैजान सक्दैन । 

यस्तै चन्दु अधिकारी लेख्छन्, यो शो कोे सब्से ठूलो मजाक भनेकै नै सन्तोष पन्त निर्णायक हुनु हो । 

यस्तै कमेडी च्याम्पियनको अर्को प्रस्तुति भरतमणि पौडेलले गरेका थिए । यसअघि पनि उत्कृष्ट प्रस्तुति दिँदै आएका पौडेलले यस पटक पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका थिए । पहिरन अनि रुद्राक्षको माला तथा लामो कपालले उनलाई पारस शाह देखिनमा निकै सघाएको थियो । शाहकै शैलीमा टाउको हल्लाउने र बोल्ने गर्दा उनको प्रस्तुतिले सबै दर्शकलाई पेट मिची–मिची हँसाएको थियो । 

उनको प्रस्तुतिको सन्दर्भमा जज पन्तले भने, एकदमै राम्रो क्यारिकेचर, राम्रो सटाएर । अहिलेको याे अवस्थामा याे प्रस्तुति आफूलाई धेरै राम्रो लागेकाे भन्दै उनले दाेस्रो पटक पनि स्ट्यान्डिङ अबिएशन दिएका थिए । याे कमेडी च्याम्पियनको इतिहासमै पहिलो पटक पनि थियो । 

गजुरेलको प्रतिक्रिया थियो, ‘उत्कृष्ट प्रस्तुति । जहाँ युद्ध जित्नुपर्छ, त्यहाँ बलियो गढी हुन्छ, जहाँ कमेडी च्याम्पियन जित्नुपर्छ, त्यहाँ भरतमणि हुन्छ ।’

ऋचा शर्माको प्रतिक्रिया थियो, ‘तपाईँ सेलिब्रेटीहरूको पनि सेलिब्रेटी भइसक्नुभएको छ ।’

भट्टराईको प्रतिक्रिया यस्तो रह्यो, ‘सरकार ! सरकारले यो जोखिम परिस्थितिमा चलाउनुपर्ने अस्त्र चलाउनुभएको छ ।’ 

भरतमणिकाे प्रस्तुतिलाई चारै जना जजले स्ट्यान्डिङ अबिएशन दिएका थिए । साथै उनी पर्फमर अफ द राउन्ड बनेर फाइनल पुग्ने पहिलो प्रतिस्पर्धी पनि बने ।   

अन्तिम अपडेट: बैशाख ९, २०८१

2 Comments

  • Ramhari

    Aug. 29, 2021, 6:41 p.m.

    भरत मणीको प्रस्तुति ज्यादै उत्कृष्ट छ।नयाँ प्रयोग पनि राम्रो छ।

  •  0 Reply
  • सुमन आले

    Aug. 29, 2021, 5:10 p.m.

    कमेडीका बिधा जे सुकै होस हाँसो फुत्काउन सक्नुपर्छ ...दर्शक हाँस्नै पर्छ, अझ माइम एक्टिङमा त लाटो पनि हाँस्दछ, हाँस्नुपर्छ। सन्तोष पन्तलाई कमेडी सिकाउनेहरुले यत्ती चैँ जानेका रहेनछन ?

  •  1 Reply

तपाईको प्रतिक्रिया