अस्तित्वको सङ्कटमा सामुदायिक क्याम्पस

 भदौ २१, २०७८ सोमबार १५:४२:५१ | सन्ताेष गाैतम
unn.prixa.net

प्रतिकात्मक तस्बिर

विश्वका सामुदायिक क्याम्पसको इतिहासलाई केलाउँदा सामुदायिक क्याम्पसको स्थापना उच्च शिक्षाको स्थानीयकरण, अवसर र पहुँचको विस्तार तथा प्रजातान्त्रिकीकरण प्रयासका परिणामस्वरूप भएको पाइन्छ  ।

उच्च शिक्षालाई उच्च वर्गीय शिक्षा र सम्भ्रान्त शिक्षाका रूपमा लिने सोचलाई सामुदायिक क्याम्पसको अवधारणाले चुनौती दिएको छ । हरेक व्यक्तिको ज्ञान आर्जन गर्ने, सम्भावनाको गगनमा विचरण गर्ने, प्राज्ञिक अभ्यास गर्ने र ज्ञानको भण्डार र प्रणालीमा योगदान दिने क्षमताको कदर हुनुपर्छ । सामुदायिक क्याम्पसको अवधारणा यही मान्यतामा आधारित छ ।

समुदायले आफ्नो समुदायका नागरिकहरूलाई आवश्यक पर्ने र सबैभन्दा उपयुक्त हुने खालको शिक्षाको खाका आफै‌ँ तयार गरी लागू गर्न सक्छ भन्ने विकेन्द्रीकृत सोचमा आधारित छन् सामुदायिक क्याम्पसहरू ।

समुदायका विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्तिको आपूर्ति गर्ने केन्द्रका रूपमा समेत रहेका छन् सामुदायिक क्याम्पसहरू । शैक्षिक संस्थाहरूले भेदभाव, दमन, उत्पीडन, दुर्व्यसन, घरेलु  हिंसा, अन्धविश्वास, यौन दुर्व्यवहार, बेरोजगारी, गरिबी लगायत समुदायका विविध समस्याको समाधान गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । यसै सोचले विभिन्न देशका विद्यालयहरूले आफूलाई जुनियर क्याम्पसको रूपमा अगाडि बढाएका हुन् ।

एकातिर स्थानीय रोजगारदाताको आवश्यकतालाई सम्बोधन गर्ने, अर्कोतिर उच्चतम योग्यता आर्जनको आधार बन्ने लक्ष्यका साथ संस्थाहरू सञ्चालित छन् । यसरी अन्तर्राष्ट्रिय सन्दर्भमा विद्यालय शिक्षालाई विश्वविद्यालय शिक्षासँग जोड्ने सेतुको रूपमा सामुदायिक क्याम्पसहरू रहेको देखिन्छ । 

सामुदायिक क्याम्पसका विशेषताहरू    

एसियन विकास बैंक लगायतका संस्थाहरूद्वारा प्रकाशित प्रतिवेदनका अनुसार सामुदायिक क्याम्पसका विशेषताहरू यस्ता छन्– 

१. पहुँच, समावेशिता र विविधता  

२. स्थानीय रोजगारदाताहरूको आवश्यकताबारे खुलापन , स्थानीय समुदायसँग निकट सम्बन्ध 

३. क्याम्पसको सीप विकास कार्यक्रममा रोजगारदाताहरूको संलग्नता 

४. स्थानीय प्रतिष्ठानहरू, सामुदायिक सङ्गठनहरू, क्याम्पसका फ्याकल्टी र स्टाफहरू र विद्यार्थी प्रतिनिधिहरू समेत रहने गरी बहु–साझेदारी स्वरूपमा क्याम्पसको व्यवस्थापन 

५. संस्थागत विकेन्द्रीकरणको परिणामस्वरूप कार्यकारी स्वायत्तता र लचिलोपना 

६. आधुनिक कार्यसम्पादनमा आधारित जवाफदेहिता संयन्त्र  

७. आधारभूत सीपहरूलाई पहिलो प्राथमिकतामा राखिएको र प्राविधिक र पेसागत लगायत उद्यमशीलतासम्बन्धी सीपहरूलाई पनि समावेश गरिएको पाठ्यक्रम 

८. लचिलो समय प्रबन्धसहित विभिन्न अवधिका विविध कार्यक्रमहरू 

९. विविध शिक्षण सिकाइ विधिहरू

१०.स्थानीय रोजगारदाता र उद्योगहरूसँगको सम्बन्धलाई सबलीकरण गर्दै विद्यार्थीकालको रोजगारी र पछिका जागिरका अवसरहरू  

११. माध्यमिक र विश्वविद्यालय शिक्षाको बीचमा सेतुको काम गरी उच्च शिक्षाको यात्राको सहजीकरण गर्ने

१२. विद्यार्थीको सफलतालाई सहजीकरण गर्न, उनीहरूलाई थप सफलताको लागि प्रेरित गर्न विस्तृत विद्यार्थी सहयोग कार्यक्रमहरू 

यसरी विश्वमा रहेका सामुदायिक क्याम्पसहरू हेर्दा कम शुल्क, खुल्ला भर्ना, आवासीय विद्यार्थी नभइकन अध्ययन गर्ने सुविधा, पार्टटाइम विद्यार्थीहरूलाई सुविधा, छोटो अवधिका कार्यक्रमहरूद्वारा विशिष्ट पेसागत सीप विकास र प्रमाणीकरण, विश्वविद्यालयहरूसँग स्थानान्तरण सम्झौता लगायतका विशेषताहरू सामुदायिक क्याम्पसहरूमा देखिने गर्दछन् । 

नेपालका सामुदायिक क्याम्पसहरूको वर्तमान 

हाम्रा सामुदायिक क्याम्पसहरू पूर्णरूपमा सामुदायिक चरित्रका र विशेषताका छैनन् किनकि यिनीहरू विभिन्न विश्वविद्यालयको पाठ्यक्रम र कार्यक्रमका आधारमा सञ्चालित छन् । एकातिर यिनीहरू पूर्णरूपमा स्थानीय माग र आवश्यकताको आधारमा सञ्चालित छैनन् भने शैक्षिक रूपमा पनि विद्यालयको शिक्षालाई विश्वविद्यालयको शिक्षासँग जोड्ने सेतुको रूपमा मात्र रहेका छन् । यिनीहरू आफ्नो विशिष्ट स्वायत्तताका साथ सञ्चालित छैनन् । 

अर्कोतर्फ दिगो आर्थिक व्यवस्थापनको अभावमा र राज्यको  प्रभावकारी नीतिको अभावमा नेपालका सामुदायिक क्याम्पसहरू निरीह रहेका छन् । अझ भनौँ सङ्कटपूर्ण अवस्थामा छन् । नेपालका धेरैजसाे सामुदायिक क्याम्पसहरू अहिले आफ्नो अस्तित्वको सङ्कटको लडाइँमा देखिएका छन् । 
 
नेताका व्यक्तिगत र दलगत स्वार्थ पूरा गर्न र अन्य केही पेसाकर्मीहरूलाई सजिलै कमाइ खाने भाँडो बनाउन पनि  स्थापना भएका छन् सामुदायिक क्याम्पस । सम्भाव्यता र आवश्यकताको वस्तुपरक अध्ययनविना हचुवाको भरमा विभिन्न समयमा सञ्चालन स्वीकृति दिँदा नै सामुदायिक क्याम्पसहरूको अहिलेको दयनीय अवस्था आएको हो । 

अनावश्यक राजनीतिको हस्तक्षेपले आक्रान्त छन् सामुदायिक क्याम्पसहरू । अर्को शब्दमा धेरै सामुदायिक क्याम्पसहरू राजनैतिक दलको कब्जामा रहेको देखिन्छ । यतिसम्म कि क्याम्पसका जिम्मेवार र निर्णायक पदमा रहेका व्यक्तिहरूले समेत पार्टीको जिम्मेवार पदाधिकारीका रूपमा काम गरेकाे देखिन्छ । जसले गर्दा सदाचार, तटस्थता, तथा प्राज्ञिक आचरण  र गरिमालाई तिलाञ्जली दिएको देखिन्छ । साथै बौद्धिक संस्कार र नैतिकताको खिल्ली समेत उडाइरहेको अवस्था छ ।

आजकल हरेक कार्यक्रम, नियुक्ति, बढुवा, ठेक्कापट्टा, खरिद, तथा अन्य विविध अवसरहरूको बाँडफाँडमा र त्यस्तै विभिन्न निर्णयहरूमा राजनैतिक रङ्गको प्रभाव प्रष्टरूपमा देख्न सकिन्छ । यसबाट सामुदायिक क्याम्पसहरू पनि अछुताे रहेका छैनन् । 

धेरै सामुदायिक क्याम्पसहरू उपयुक्त भौतिक पूर्वाधारको अभावमा दयनीय अवस्थामा देखिन्छन् । वर्तमान भूमण्डलीकरणको युगका युगिन जिम्मेवारी बहन गर्न सक्ने योग्य नागरिक उत्पादन गर्न आवश्यक पर्ने संरचना नहुँदा धेरैजसाे क्याम्पसहरू आकर्षणको केन्द्र बन्न सकेका छैनन् । 

केही सामुदायिक क्याम्पसहरूमा प्राज्ञिक भन्दा आर्थिक र भौतिक गतिविधिहरूमा जोड दिइनु अर्को विडम्बना हो । समुदायका नागरिकले आफ्नो गाँस काटेर दिएको चन्दा समेतबाट प्राप्त सहयोगलाई क्याम्पसका आकर्षक शैक्षिक कार्यक्रम तथा अनुसन्धान, फ्याकल्टी र कर्मचारीको स्तरोन्नति र उत्प्रेरणा अनि विद्यार्थीको बहुआयामिक विकासमा भन्दा अनावश्यक  निर्माण र खरिदमा खर्च गर्ने गरेको पाइन्छ । 

शिक्षक र कर्मचारीको सेवा सुविधा र हक हितका सवालमा पनि प्रश्नै प्रश्न गर्ने ठाउँहरू देखिएका छन् । भोको पेटमा रहेका कर्मचारीबाट गुणस्तरीय सेवाको अपेक्षा गर्नु मूर्खता सिवाय के हो र ? प्रभावकारी शैक्षिक नीति, नियम, कार्यक्रम र  सुधारात्मक अनुगमन र मूल्याङ्कन, उत्प्रेरणा, दण्ड र पुरस्कारको अभावमा सामुदायिक क्याम्पसहरू उत्कृष्टताका उदाहरण बन्न सकेका छैनन् । साथै प्राध्यापक र कर्मचारीको पूर्ण क्षमता, ज्ञान, सीप, सिर्जनशीलताले पनि सामुदायिक क्याम्पसहरू सिञ्चित भएको पाइँदैन ।

एकातिर राष्ट्रिय विश्वविद्यालयसँगको आबद्धता उनीहरूकै पाठ्यक्रम र कार्यक्रमको आधारमा सामुदायिक क्याम्पसहरू सञ्चालित छन् । भने गैरसरकारी र गैरव्यावसायिक चरित्रका कारण आर्थिक व्यवस्थापन साँच्चै जटिल बन्दै गइरहेको छ । 

त्यसैको परिणामस्वरूप धेरै सामुदायिक क्याम्पसहरू अत्यन्तै दयनीय अवस्थामा सञ्चालित छन् । साथै दिगो आर्थिक व्यवस्थापनको अभावमा त्यसैगरी सस्ता, पुराना र म्याद गुज्रेका शैक्षिक कार्यक्रम कर्मकाण्डी रूपमा सञ्चालन गरिरहेको कारण यी क्याम्पसहरू विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकेका छैनन् । 

यी क्याम्पसहरूको अपनत्व समुदायले प्रभावकारी र व्यवस्थितरूपमा लिएको देखिँदैन । दिगो आर्थिक स्राेत व्यवस्थापन हुने गरी नीतिगत व्यवस्था नभएमा यी क्याम्पसहरू प्रभावकारीरूपमा चल्न गाह्रो छ किनकि यो छोटो अवधिको कुनै कार्यक्रम वा अभियान जस्तो  नभएर अविच्छिन्न रूपमा सञ्चालन गर्नुपर्ने समाजका महत्त्वपूर्ण अवयवकाे रूपमा हाे । विद्यार्थीको शुल्कले मात्र त अहिले सामुदायिक क्याम्पसको प्रभावकारी सञ्चालन सम्भव देखिँदैन । 

न त सरकारी नियन्त्रण, नियमन र व्यवस्थापन न निजी क्षेत्रको व्यावसायिक उत्कृष्टता त्यसैको उपज एक्काइसौँ शताब्दीको युग सापेक्ष कार्यक्रम र गुणस्तर कायम हुन नसक्दा सामुदायिक क्याम्पसहरू समुदाय र राष्ट्रका बोझ बन्ने अवस्था आउँदै छ ।

सामुदायिक क्याम्पस सुधारका उपायहरू 

१. सामुदायिक क्याम्पसलाई समुदायको श्रोत केन्द्रको रूपमा विकास गरी आवश्यक ज्ञान, सीप, क्षमता र सुझबुझसहितका युगिन जिम्मेवारी बहन गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका केन्द्र बनाउने । 

२. स्थानीय निकाय र सङ्घसंस्थाहरूसँग सामुदायिक क्याम्पसको सहकार्य र साझेदारी आपसी विश्वास, आपसी स्वार्थ र आपसी फाइदाका आधारमा अगाडि बढाउने ।

३. राज्यले जिम्मेवारी लिने वा स्थानीय सरकारसँगको सहकार्यमा दिगो आर्थिक व्यवस्थापनको व्यवस्था मिलाउने ।

४. खुल्ला प्रतिस्पर्धा र पारदर्शी विधिद्वारा  कर्मचारी, प्राध्यापक, प्रशासनिक नेतृत्व र व्यवस्थापन चयन गर्ने ।

५. विद्यालयसँगको सहकार्य बढाउने र विद्यालयहरूको सशक्तीकरणका कार्यक्रमहरूमा सामुदायिक क्याम्पसको क्षमताको प्रयोग गर्ने ।

६. निजी क्षेत्रसँगको सहकार्यलाई दिगो , व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउने ।

७. सामुदायिक सशक्तीकरण र समृद्धिका कार्यक्रममा श्रोतकेन्द्रको भूमिका निर्वाह गर्ने 

८. रूपान्तरणकारी अनुसन्धानलाई शैक्षिक कार्यक्रमको अभिन्न अङ्गको रूपमा अगाडि बढाउने र यसबाट सामुदायिक समस्या समाधानमा पनि सहयोगी भूमिका निर्वाह गर्ने ।

९. विभिन्न तहका विशिष्ट सिकाइ सूचकहरू निर्धारण गर्ने र शैक्षिक उन्नयनका अतिरिक्त कार्यक्रमहरू सञ्चालन गर्ने ।

१०. अनावश्यक राजनीतिकरण बन्द गरेर शैक्षिक र प्राज्ञिक वातावरण निर्माणमा जोड दिने ।

११. विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग आपसी सहयोग र सहकार्यको सम्बन्ध विस्तार गर्ने ।

१२. प्रवासी नेपाली विज्ञहरूसँग विभिन्न खालका सहयोग र सहकार्यको लागि पहल गर्ने ।

१३. सेमिनार संस्कृति, अनुसन्धान र प्रकाशनमा जोड दिने , फ्याकल्टी अनुसन्धान, सशक्तीकरण कोस निर्माण गरी प्रयोग गर्ने ।

१४. पूर्व विद्यार्थी म‌ञ्चहरूकाे गठन गरी प्रभावकारी बनाउन पहल गर्ने । 

१५. सबै पदाधिकारी, शिक्षक र कर्मचारीको कार्य सम्पादन सम्झौता गर्ने र अचारसंहिता निर्माण गरी कडाइका साथ लागू गर्ने ।

१६. प्राध्यापक कर्मचारीको समय सापेक्ष सेवा, सुविधाको ग्यारेन्टी गर्ने र उच्च मनोबल र उत्प्रेरणाका साथ काम गर्ने वातावरण बनाउने ।

हाम्रो सन्दर्भमा सामुदायिक क्याम्पसहरूलाई  वास्तविक रूपमा समुदायको श्रोतकेन्द्रको रूपमा विकास गर्दै अहिलेको युगका प्रतिस्पर्धी जनशक्ति उत्पादनका निकाय  बनाउनु आवश्यक छ ।   

स्थानीय निकायको संलग्नतामा दिगो आर्थिक सबलीकरण, युग सापेक्ष शैक्षिक कार्यक्रम, प्राज्ञिक वातावरण र संस्कृतिको विकास,  प्रभावकारी व्यवस्थापन विना त्यो सम्भव देखिँदैन । 

संस्थागत जवाफदेहिता स्थापित गरी यी संस्थाहरूलाई ‘विचरा’ बन्न दिनु हुँदैन ।  गुणस्तरीय अवसर र पहुँचको विस्तारद्वारा साँचो अर्थमा शिक्षाको र खास गरी उच्च शिक्षाको स्थानीयकरण र प्रजातान्त्रिकीकरणको अभ्यासलाई सार्थक बनाउन सामुदायिक क्याम्पसहरूको सबलीकरण साथै सम्बन्धित निकायले विशेष ध्यान दिनु र सरोकारवालाहरूले हातेमालो गर्नु आवश्यक छ । त्यसका लागि सामुदायिक क्याम्पसहरूले पनि सबैको विश्वास जित्ने काम गर्नु आवश्यक छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

सन्ताेष गाैतम

गाैतम शिक्षा विज्ञ हुनुहुन्छ । 

2 Comments

  • पदमप्रसाद पाण्डे

    Sept. 7, 2021, 12:22 p.m.

    सरकारी उदासीनता , अति राजनीतिक हस्तक्षेप, गैर प्राज्ञिकता , असक्षम नेतृत्व र आर्थिक समस्याका कारण सामुदायिक क्याम्पस धराशायी हुँदैछन् । राम्रो विश्लेषण र समसामयिक विषयका लागि लेखकलाई धन्यवाद छ ।

  •  0 Reply
  • Krishna Khanal

    Sept. 6, 2021, 6:21 p.m.

    Correct idea

  •  0 Reply

तपाईको प्रतिक्रिया