सुख त होइन दुःखकै पेसा : बाख्रापालनबाट कमाइ हुने आशा

 भदौ २६, २०७८ शनिबार २०:२४:३३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – दुई दशकसम्म बंगुरपालन व्यवसाय गर्नुभयो लमजुङ श्रीमञ्ज्याङका कुलप्रसाद श्रेष्ठले । उहाँ गाउँमै सञ्चालन गरेको बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सफल पनि हुनुभयो । तर विभिन्न कारणले पछि त्यो व्यवसायलाई निरन्तरता दिन सक्नुभएन, उहाँले ।

‘२० वर्षसम्म बंगुर पालन गरियो । कमाइ राम्रो पनि भयो,’ उहाँले भन्नुभयो, ‘पछि विविध कारणले यसलाई निरन्तरता दिन सकिएन ।’

पानीको उचित व्यवस्थापन हुन नसक्नु, दानापानी बोक्न असहज भएकाले पनि लामो समयसम्म सञ्चालन गरेको बंगुरपालनलाई पछि निरन्तरता दिन नसकेको उहाँले बताउनुभयो ।

बंगुरपालन छोडी बाख्रापालन 

बंगुरपालन छाडेपछि उहाँले निर्वाहमुखी ढंगले बाख्रा पालन गर्नुभयो । निर्वाहमुखी ढंगले सञ्चालन गरेको व्यवसायबाट जीवनस्तर उकासिने सम्भावना नदेखेपछि उहाँले यसैलाई व्यवसायमा बदल्ने सोच बनाउनुभयो । लगत्तै, घरपरिवारको सल्लाहमा उहाँले दोर्दी गाउँपालिका–३, श्रीमञ्ज्याङमै ‘नमूना कृषि फर्म’ दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गर्नुभयो । २०७५ सालबाट उहाँले व्यावसायिक रुपमा बाख्रापालन सुरु गर्नुभएको हो ।

उहाँले व्यवस्थित रुपमा बाख्राको खोर निर्माण गरी बाख्रा पाल्दै आउनुभएको छ । उहाँको फर्ममा अहिले सानाठूला गरी ७० को हाराहारीमा बाख्रा पालिएका छन् । फर्ममा ३५ वटा माउ बाख्रा, ५ वटा खसी, एउटा बोयर बोका र अन्य साना पाठापाठी रहेका छन् ।

उहाँको फर्ममा स्थानीय जातका साथै जमुनापारी, बिटल क्रस जातका बाख्रा रहेका छन् । 

तीन लाखको लगानीमा खोर निर्माण

व्यवस्थित रुपमा बाख्राको खोर निर्माण गरी बाख्रापालन गर्न सकेमा उत्पादन राम्रो हुने र राम्रो कमाउन सकिने उहाँ बताउनुहुन्छ । त्यसैले उहाँले लाखौँ रुपैयाँ खर्चेर व्यवस्थित बाख्राको खोर बनाउनुभएको छ । 
बाख्राको व्यवस्थित खोर निर्माणका लागि सरकारी निकायबाट उहाँले सहयोग समेत पाउनुभएको छ । 

गएको वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले खोर निर्माणमा १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो ।

‘विज्ञ केन्द्रको एक लाख पचास हजार र आफ्नो पनि एक लाख पचास हजार रुपैयाँ गरी तीन लाख रुपैयाँ खर्चेर बाख्राको खोर बनाइएको हो,’ उहाँले भन्नुभयो ।

बाख्रापालनबाट राम्रो आम्दानी

बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको उहाँले बताउनुभयो । ‘सुरुवातको चरणमा बाख्रा खरीद र खोर निर्माणमा धेरै खर्च भयो,’ उहाँले भन्नुभयो, ‘बिस्तारै व्यवसाय विस्तार हुँदै गएको छ । आम्दानी राम्रो हुँदै गएको छ ।’

फर्मबाट गएको वर्ष मात्रै ३ लाख रुपैयाँ आम्दानी भएको उहाँले बताउनुभयो । दुःख, मेहनत बढि भएतापनि बाख्रापालनबाट राम्रो आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।

‘सुख त होइन दुःखकै पेसा हो । व्यवस्थित रुपमा बाख्रा पाल्न सके यसबाट राम्रो कमाउन सकिन्छ । सजिलै जीवनस्तर चलाउन सकिन्छ,’ उहाँले भन्नुभयो ।

खेर गएको जमिनको पनि उपयोग हुने र घरगाउँमै बाख्रापालन गरी स्वरोजगार बनी राम्रो आर्जन गर्न सकिने उहाँले बताउनुभयो ।

‘राम्रो कमाउन सकिने आशा र विश्वासका साथ बाख्रापालन गरेको हुँ । राम्रो पनि भइरहेको छ । यसैलाई निरन्तरता दिने सोच छ,’ उहाँले भन्नुभयो, ‘फर्ममा बिस्तारै एक सय हाराहारीमा बाख्रा पुर्याउने लक्ष्य छ ।’

अन्तिम अपडेट: बैशाख ६, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया