पारिवारिक हत्याको डरलाग्दो तथ्याङ्क : किन बढ्दै छन् यस्ता घटना ?

 भदौ २८, २०७८ सोमबार १०:३४:४० | वैद्यनाथ पाैडेल
unn.prixa.net

सङ्खुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्या भयो । हत्या भयो भन्ने खबर जसले गरेका थिए, तिनै व्यक्ति सामूहिक हत्यामा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले आइतवार सङ्खुवासभामा सार्वजनिक गरेका आरोपित लोकबहादुर कार्कीले नै ५२ वर्षीय तेजबहादुर कार्कीको शव देखेको भन्दै गाउँलेलाई खबर गरेका थिए ।

सङ्खुवासभाको पछिल्लो यो घटनाले यसअघिका अरु आपराधिक घटनाको पनि स्मरण गराएको छ । सामूहिक हत्याको सबैभन्दा ठूलो र डरलाग्दो घटना डेढ वर्षअघि पाँचथरको मिल्काजुङ गाउँपालिकाको आरुबोटेमा भएको थियो । 

श्रीमती लिन जाँदा नआएको र ससुराली तथा साँढुदाइको परिवारका कारण आफूलाई श्रीमतीले छाडेको रिसमा यसरी सामूहिक हत्या गरेको आकलन गरिएको थियो । घटनामा बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको नौजना परिवारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमले सामूहिक हत्यापछि रूखमा झुण्डिएर आत्महत्या गरेका थिए । अभियुक्तले झुण्डिएर आत्महत्या गरिसकेपछि यसमा अनुमान बाहेक सत्यतथ्य पत्ता लगाउने आधार रहेन ।

२०७७ जेठ २ मा रुपन्देहीको तिलोत्तमामा पाँच जनाको सामूहिक हत्या भयो । त्यस घटनामा गादेवी पशु फार्ममा काम गर्ने रुपन्देहीको सैनामैना नगरपालिका– ५ दरखासी घर भएका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी, १६ वर्षका पोषराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौधरीको सामूहिक हत्या भएको थियो । 

सामूहिक हत्याको सबैभन्दा बहुचर्चित घटना ललितपुर जिल्लाको बडिखेल गाविसमा भएको हत्या प्रकरण हो । घटनाको १२ वर्षपछि बल्ल प्रहरीले हत्याका अभियुक्त चन्द्रबहादुरलाई पक्राउ गरेको थियो ।

२०६० साल असोज १८ गते भएको घटनामा भानु नगरकोटी, उनकी श्रीमती, दुई छोरी र एक छोराको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।  हत्यारा भानु नगरकोटीका जेठान थिए । 
उनको श्रीमतीसँग ज्वाइँको सम्बन्ध रहेको आशङ्काका आधारमा उनले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो । मदिराको नशामा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 

२०७३ साल वैशाखमा सल्यानको रानागाउँमा एक युवकले चारजनाको हत्या गरे । स्थानीय बासिन्दा सञ्जय भारतीले सीता खाण, उनकी बहिनी गीता र सीताका दुई बच्चाको हत्या गरेका थिए ।प्रहरीको तथ्याङ्कलाई आधार मान्दा २०६० साल असोज १६ गते भएको ललितपुर बडिखेल हत्याकाण्डदेखि २०७८ को २० भदौ सङ्खुवासभामा भएको हत्या काण्डसहित कुल २३ सामूहिक हत्याकाण्ड भएको देखिन्छ । 

किन हुन्छन् यस्ता घटना ?

नेपाल प्रहरीको तथ्याङ्कअनुसार परिवारभित्रैबाट हत्याका घटना बढेका छन् । आखिर बारम्बार किन हुन्छन् त यस्ता किसिमका क्रुर र पाशविक सामूहिक हत्याका घटना ?

मनोविश्लेषक वासु आचार्यको विचारमा घटनापिच्छेको प्रकृति फरक-फरक हुने हुँदा ठ्याक्कै यही कारण भनेर किटानीका साथ ठोस कारण बताउन नसकिए पनि हत्याराको जीवन प्रवृति के हो भन्ने कुराले धेरै कुरा निर्धारण गर्छ । 

उहाँ भन्नुहुन्छ,  ‘उसको मूल प्रवृत्ति जीवन हो कि मृत्यु यसले सबै कुरा निर्धारण गर्छ । समाजमा जति मान्छे बाँच्न बचाउन, सहयोग गर्न, प्रेम बाँड्न र बढाउन चाहन्छन् त्यत्तिकै मान्छे सिध्याउने, मारकाट, हिंसा, कुटपिट, घृणा र आफैं सिद्धिने बाटोमा पनि छन् । यसकारण मानिसको मूल प्रवृत्तिमा हामीले नियाल्नु पर्छ ।’ 

यस्ता आपराधिक प्रवृत्तिका मानिसहरुमा मृत्यु मूल प्रवृत्ति हाबी हुने गर्छ । यस्ता मानिसहरु प्रायः असामाजिक, स्वार्थी, आवेगी हुन्छन् । साथै आफ्ना आवेग नियन्त्रण गर्न नसक्ने अनि क्षणिक आवेगका भरमा पनि कुनै किसिमको जघन्य अपराध गर्न पछि नपर्ने पनि हुन्छन् । लामो समय मनोविश्लेषकको रुपमा काम गरेको उहाँको अनुभवले यसै भन्छ । 

सामान्यतः मानिसलाई आफू कुन मूल प्रवृत्तिको हो भन्ने थाहा हुन्छ । यदि उ अलमलमा छ वा उसलाई थाहा भएन भने त्यो झनै डरलाग्दो हुने पनि उहाँको ठम्याइ छ, ‘मानिसलाई आफ्नो मूल प्रवृत्तिको बारेमा थाहा हुन्छ यदि नभएमा त्यो डरलाग्दो हुन्छ,’ ।

यस्ता घटनामा मानिसका संस्कार, सिकाइ र भोगाइले पनि उल्लेख्य भूमिका खेल्ने उहाँको बुझाइ छ । मानिसको घर परिवारमा कस्तो वातावरण छ, परिवारमा कस्तो संस्कार छ र उसको हुर्काइ /भोगाइ कसरी भएको छ भन्ने कुराले पनि उसको मनोभाव कस्तो हुन्छ भन्ने कुरामा प्रभाव पर्छ । 

‘यदि परिवारमा बेमेल, कलह, अभाव र निरन्तर झैझगडा भइरहने गर्छ भने त्यस्तो वातावरणमा हुर्किएकाहरुमा चिढचिढाहट, आवेग, क्रोध अत्याधिक हुने खतरा रहन्छ । त्यसकारण आफू हुर्किएको वातावरणले पनि धेरै कुरा निर्धारण गर्छ,’ उहाँ भन्नुहुन्छ, ‘मनोदशा र मनोवृत्ति पनि यस्ता सामूहिक हत्याका कारक हुन सक्छन्,’ । 

व्यक्तिको काम र उसको काम वा वरपरको वातावरण अनि अन्य निरन्तरको आधारले पनि उसको मनोवृत्तिमा असर गर्ने गर्छ । र कुनै घटनाप्रतिको ग्रहणशीलताले पनि मानिसको मनोवृत्ति कस्तो छ भन्ने कुरा थाहा पाउन सकिने आचार्यको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘साइकल पाइएन भनेर व्यक्ति साइकल चोर्न जान्छ वा पाङ्ग्रा गुडाउँछ । यसले उसको ग्रहणशीलतालाई झल्काउँछ,’ ।

यस्ता व्यक्तिहरुको व्यवहार अध्ययन गर्ने हो भने पनि उनीहरुले केही न केही सङ्केत र स्वभाव पहिले देखिनै केही देखाइरहेका हुन्छन् । र, केही न केही ‘क्लू’ छोडिरहेका हुन्छन् तर त्यसलाई हामीले राम्रोसँग नियालिरहेका हुँदैनौँ। यदि त्यस्ता सङ्केतहरुलाई हामीले राम्रोसँग नियाल्ने हो भने अपराधका घटनामा कमि ल्याउन सकिन्छ । 

यस्ता सामूहिक हत्याका घटना प्रायः एकै व्यक्तिबाट हुने तथा प्रतिशोध, डिप्रेसन, यौन सम्बन्ध, सम्पत्ति तथा आवेगसम्बन्धी कारण प्रमुख रहेको प्रहरीको ठम्याइ छ । तर, यस्ता सबै घटनामा मानसिक रोग कारक भएको भन्ने प्रहरीको बुझाइसँग आचार्यको आपत्ति छ ।

अपराधमा संलग्न सबै मानसिक रोगी हुँदैनन् । सङ्खुवासभाको घटनालाई लिएर कुरा गर्दा छ/छ जनाको हत्या गर्न सक्ने मान्छेलाई सामान्य मान्छे भन्न सकिँदैन । तर, असामान्य भन्दैमा मानसिक रोगी पनि भन्न मिल्दैन । बरु उसमा आपराधिक मानसिकता धेरै देखिन्छ यसमा चाँहि सत्यता रहेको पनि आचार्यको निर्क्योल छ ।

यस्ता आपराधिक घटनामा कमी ल्याउन हामीले शिक्षा र चेतनाको स्तर अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनु पर्ने पनि उहाँको सुझाव छ । यदि हामीले अपराध र यसबाट समाजमा हुने खराब प्रवृत्ति र असरका बारे जनचेतना फैलाउन सके पनि यस्ता घटनामा कमि ल्याउन सकिन्छ ।

अझ नैतिक शिक्षा, आचरण, सकारात्मक सोच, समाजका हुने गरेका असल व्यवहार र प्रवृत्तिलाई प्रकाशमा ल्याउन सकेमा पनि यस्ता आपराधिक मनोवृत्ति र घटनामा कमी ल्याउन सकिन्छ।

अन्तिम अपडेट: असोज ६, २०७८

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया