एमालेको अवरोधबीच राष्ट्रिय सभाबाट लोक सेवा आयोग विधेयक पारित

 भदौ २८, २०७८ सोमबार १४:२१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको अवरोधका बीच राष्ट्रिय सभाको दोस्रो बैठकले लोक सेवा आयोग विधेयक २०७८ पारित गरेको छ ।

राष्ट्रिय सभाको दोस्रो बैठकमा पनि एमालेका सांसदले अवराेध गरेका थिए । तर अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लोक सेवा आयोग विधेयक २०७८ निर्णयार्थ पेस गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिनुभएको थियो ।

त्याे प्रस्ताव निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले घोषणा गर्नुभयो । यसअघि एमालेकी सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा नदिइ बैठक सुरु हुन नदिने अडान राख्नुभएको थियो । उहाँले परमादेशबाट सरकार र अध्यादेशबाट पार्टी फुटाउने कामले लोकतन्त्रलाई समाप्त गर्ने भएकाले आफ्नो पार्टीले सभामुख सापकोटाको आफ्नो दल फुटाउने षड्यन्त्रविरुद्ध उभिनुपरेको पनि पटक–पटक दोहोर्‍याउनुभयाे । 

एमालेका सांसदको अवरोधकाबीच राष्ट्रिय सभाको दोस्रो बैठकले राष्ट्रिय सभाका पूर्व सांसद रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । गएकाे भदौ २६ गते काठमाण्डाैमा उहाँकाे निधन भएकाे थियाे । उहाँ २०४८ सालमा राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो ।

यसैबीच राष्ट्रिय सभाको अर्को बैठक आउँदाे भदाै ३० गते बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया