गायिका विष्णु माझीको माइतीघरमा प्रहरी

 भदौ २८, २०७८ सोमबार १६:३६:४७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लाेकदाेहाेरी गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको छ ।  

राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीकाे अवस्था बुझ्न आग्रह गरेको थियो । 

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।  

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् ।

आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिनुभयो । 

तीज विशेष भन्दै माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्ने बहस पनि चलिरहेको छ । धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क गरेका छन् । माझीले गाएको त्यस गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीले शब्द रहेको छ ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाएको थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया