त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग ५ विकेटले पराजित

 भदौ ३०, २०७८ बुधबार ७:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय क्रिकेट श्रृंखलामा नेपाल ओमानसँग पराजित भएको छ ।

नेपाललाई घरेलु टोली ओमानले ५ विकेटले हराएको हो । नेपाल ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ । लिग–२ अन्तर्गत यसअघि घरेलु मैदानमा भएको दुई खेलमा नेपाललाई ओमानले हराएको थियो । अल अमिरात मैदानमा नेपालले दिएको १ सय ९७ रनको लक्ष्य ओमानले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । ओमानका जतिन्दर सिंहले १ सय ७ रनको शतकीय पारी खेले ।

नेपालका करण केसी र कुशल मल्लले २/२ तथा सुशन भारीले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले ९० रनको अर्धशतकीय पारी खेले । आसिफको यो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत हो । ओमानका बिलाल खानले ४ विकेट लिए । त्यस्तै नेस्टर धाम्बाले २ तथा जिशन मक्सुद र मोहमद नदीमले १/१ विकेट लिए ।

अब नेपालले शुक्रबार अमेरिकासँग दोस्रो खेल खेल्नेछ । सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । लिग–२ को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ । नेपालले ६ खेलमा ६ अंक जोडेको छ । ओमान ११ खेलमा १८ अंक जोडेर शीर्ष स्थानमा छ ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया