‘नेपाली क्रिकेटकाे भविष्य राम्राे छ तर क्यानले धेरैभन्दा धेरै खेल आयाेजना गर्नुपर्छ’

 असोज ४, २०७८ सोमबार १३:२८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो । यसअघि शृङ्खलाका सबै भेटमा नतिजा गुमाएको नेपालले घरेलु टोलीमाथि सात विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षकको सुखद बिदाइ हुँदा उनै प्रशिक्षकले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउनका नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहल गर्नुपर्ने सुझाव दिएका छन् । 

त्रिदेशीय शृङ्खलाअन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो । भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखियो । कप्तान ज्ञानेन्द्र मल्लसहित आसिफ शेख, कुशल भुर्तेलजस्ता युवा खेलाडीले सम्झनलायक प्रदर्शन गरे । एकदिवसीय क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित पनि गर्‍याे । कप्तान ज्ञानेन्द्रले आफ्नो एकदिवसीय करिअरको चौथो अर्धशतक पनि पूरा गरे । उनी चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान भए ।

युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुसी भएको प्रतिक्रिया दिए । पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए ।

उता प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ वाटमाेरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरैभन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने अनुभव सुनाए । वाटमोरले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर नेपाल क्रिकेट सङ्घले खेलाडीलाई धेरैभन्दा धेरै खेल आयोजना गरेर अनुभव दिनुपर्ने सुझाव दिएका छन् । भएको क्षमताभन्दा माथि उठ्नका लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको औल्याए ।  

ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा पाँच विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुनपुगेको थियो । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको आठौँ खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

आठ खेलबाट आठ अङ्क नै जोडेको नेपालभन्दा माथि शीर्ष स्थामा १३ खेलबाट २० अङ्क जोडेको ओमान रहेको छ । दोस्रो स्थानमा १५ खेल खेलेर १४ अङ्क जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा आठ खेलबाट नाै अङ्क बनाएको स्कटल्यान्ड अटाएको छ । नामिबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र पपुवा न्युगिनी (पीएनजी) क्रमशः पाँचौँ, छैटाैँ र सातौँ स्थानमा रहेका छन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया