कुवेतमा ठगिंदा र नेपालमा न्याय नपाउँदाकाे दुःख

 असोज ४, २०७८ सोमबार १३:३८:३२ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

प्रतिकात्मक तस्बिर

राजकुमार साह/सिराहा

मान्छे केही पैसा कमाइ हाेला भनेर विदेश जान्छन् । त्यहाँ गएर कमाउँछन् । घरपिरवारमा खुसी छाउँछ । मैले पनि त्यही साेचेकाे थिएँ । त्यही सपना बाेकेर लाखौँ रुपैयाँ खर्चि विदेश गएँ ।  तर मेराे भागमा भने कमाइ र खुसी केही परेन । उल्टै आँखामा आँसु र मनमा दुःखकाे भारी लिएर घर फर्किनुपर्‍याे ।

नेपालमा बेरोजगार बस्नुभन्दा केही कमाइ हुन्छ कि भनेर ऋनदान गरेर वैदेशिक रोजगारीमा जाने सोचेको थिएँ । सन् २०१९ को अन्तिमतिर गाउँकै एकजना चिनेको मान्छेको हातमा सात लाख रुपैयाँ बुझाएँ । उनले मलाई कुवेतमा राम्रो काममा पठाइदिन्छु कमाइ पनि राम्रै हुन्छ भनेका थिए । त्यो मान्छेमार्फत मभन्दा पहिले पनि गाउँकै अरु साथीभाइहरु गएका थिए । मलाई विश्वास लाग्यो । पैसा बढी मागेको थियो तर कमाइ र काम दुवै राम्रो हुने भनेपछि मैले पनि मागे जति रकम बुझाएँ ।

कुवेत लग्यो । एजेण्टले मसहित ६ जनालाई सँगै कुवेत पुर्याएको थियो । त्यहाँ लिएर उनीहरुले भाडामा लिएको होटलमा राख्यो । एक दुई दिन त राम्ररी राख्यो । मुख्य एजेण्ट कपिलदेव यादव त कुवेतमै रहेछ । दुई दिनपछि त्योसँग पनि सम्पर्क हुन छाड्यो । त्यसपछि हामीहरु एक वर्षसम्म काम पाउने आशामा बस्दै गयौँ । बेलाबेला कपिलदेवसँग फोनमा कुरा हुन्थ्यो । काम लाग्छ मात्र भन्थ्यो तर वर्ष दिन बित्दा पनि काम लगाएन । कहिले त्यहाँ रहेका नेपाली साथीहरुले सहयोग गर्नुहुन्थ्यो । खाने कुरा ल्याइदिनुहुन्थ्यो । त्यसरी समय बित्दै थियो, त्यो बीचमा अवैधानिक विदेशीलाई कुवेत सरकारले आम–माफी दिने निर्णय गर्यो । त्यही मौका पारेर म घर फर्किएँ । घर फर्किनको लागि पनि मसँग पैसा त थिएन । केही पैसा साथीभाइसँग र केही घरबाट मागेर नेपाल फर्केँ ।

हामीहरुको लागि सानो रकम होइन । खल्तीमा दश रुपैयाँ हुँदा त कति खुसी लाग्छ, त्यो सात लाख रुपैयाँ डुब्दा कस्तो भएको होला मन ? त्यसैमाथि न्याय पाउँ भनेर उजुरी गर्दा पनि ऋण लिनुपर्ने अवस्था आउन थालिसक्यो । वैदेशिक रोजगारीका ठगी जिल्ला प्रशासनबाटै समाधान हुन्छन् भन्ने सुनेको थिएँ । तर मैले धेरै पटक धाइसकेँ जिल्ला प्रशासन कार्यालय । जिल्लाको कर्मचारीले पनि वैदेशिक रोजगार विभाग पुगेर हेर्नुस् भनेपछि म तीन तीन पटक काठमाण्डौ पुगिसकेँ । सिराहाबाट काठमाण्डौ आउजाउ गर्नमै धेरै पैसा सकिसक्यो । यहाँ आफ्नो कोही छैनन् । होटलमै बस्ने होटलमै खाने हो । 

मसँग एजेण्टलाई पैसा बुझाएको प्रमाणस्वरुप बैंकको भौचर छ । त्यसमा वैदेशिक रोजगारीको लागि भनेर प्रष्ट खुलाएको पनि छु । वैदेशिक रोजगार विभागले पनि पक्राउ पुर्जी पठाएको छ भनेको छ तर कहिले पक्राउ गर्ने हो, मेरो पैसा कहिले मेरो हातमा पर्ने हो, अझै कति दिन दुःख पाउनुपर्ने हो थाहा छैन । 

फसेको पैसा हातमा आए फेरि कुनै देश जान हुन्थ्यो, एक पटक एजेण्टको पछि लाग्दा दुःख पाएँ अब त राम्रो म्यानपावर कम्पनीबाटै जाने थिएँ । बुझेर जाने थिएँ । तर त्यत्रो पैसा कहिले हात लाग्छ थाहा छैन । कहिलेकाहीँ त लाग्छ टाउको ठोकेर मरिदिउँ तर त्यसो गरेर पनि पैसा त पाइने होइन । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया