कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन जना प्रहरी घाइते

 असोज ५, २०७८ मंगलबार ८:५३:५३ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर - कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् ।

आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारकाे टाउकाे हात र खुट्टा चाेट लागेकाे छ । 

घाइतेहरुको दोधारा चाँदनीको स्वास्थ्य चौकीमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिनुभयो । ७/८ जनाको समूहमा आएका तस्कर आक्रमणपछि भागेका छन् ।

मोटरसाइकलमा भारतबाट सामान ल्याउँदै गरेका उनीहरुले सीमाक्षेत्र नजिक ढु्ङ्गामुढा गरेका हुन् । उनीहरुको पहिचान भएको र पक्राउ गरी कानुन अनुसार कारबाही गर्ने आश्वासन भारतीय पक्षले दिएको पनि एसपी ऐरले बताउनुभयो । यसअघि कैलालीमा तस्कर समूहले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक र प्रहरी जवानकाे हत्या गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया