पञ्चाङ्ग विवाद : महिना ११ कि १२ ? के भन्छ शास्त्र ?

 असोज ६, २०७८ बुधबार ९:२५:५ | प‍ं रामचन्द्र गाैतम
unn.prixa.net

सायन र निरयण भन्ने दुई प्रकारका गणनाका विधिहरु छन् । अयन भनेको सूर्यको हिंड्ने बाटो । सायन भनेको अयनसँग सम्बद्ध भएको समय । निरयण भनेको अयनसँग सम्बद्ध नभएको समय । यो शास्त्रीय कुरा हो । 

अयनसँग सम्बद्ध सूर्यको हिंड्ने बाटो हो । त्यो भनेको उत्तरायण र दक्षिणायन । माघे संक्रान्तिबाट उत्तरायण हुन्छ । साउने संक्रान्तिदेखि दक्षिणायन हुन्छ । 

हाम्रो धर्म, कर्म संस्कार सँस्कृति सबै निरयणको आधारमा छन् । त्यसकारण यसै अनुसार हुनुपर्छ । सबै तिथिको आधारमा हुन्छ । सायनबाट तिथिको आधार आउँदैन । 

त्यसैले निरयण पद्धतिबाट सबै तिथि चाडपर्व तय गर्ने हाम्रो अहिलेसम्मको परम्परा हो । भारतमा पनि निरयणको आधारमा नै तिथि निर्धारण गर्ने परम्परा छ । हामीकहाँ पनि निरयणको आधारमा नै पञ्चाङ्ग अर्थात पात्रो बनाउने गरिएको छ । 

अहिले ११ महिना गर्नुपर्ने भन्ने विवाद देखिएको छ । त्यसमा चाँहि ११ महिना नभइकन १२ महिना नै हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । 

कारण के हो भने विशाखा नक्षत्र भएको पूर्णिमा जुन महिनामा पर्छ, त्यसलाई वैशाख भनिन्छ । ज्येष्ठा नक्षत्र भएको पूर्णिमा जुन समयमा हुन्छ त्यसलाई ज्येष्ठ भनिन्छ । त्यसैले हाम्रो १२ महिना नक्षत्रका आधारमा यसरी बनेका हुन् । 

यस विषयमा विवाद आएको चाहिँ १२/१४ वर्ष भयो । यो विवाद निराकरण गर्न त्यसबेला चारवटा समितिहरु बनाइयो । त्यसमध्येको एउटा समितिमा मलाई पनि राखियो । त्यसबेला गिरिजाबाबू प्रधानमन्त्री र पृथ्वीसुब्बा गुरुङ सँस्कृति मन्त्री हुनुहुन्थ्यो । 

कसैले एक महिना वरतिर सार्नुपर्छ भन्छन कसैले पर्दैन भन्छन् । त्यसकारण यस विषयमा स्पष्ट प्रतिवेदन पेश गर्नका लागि एउटा मूल समिति र अरु चारवटा उपसमितिहरू बनाइयो । पूर्व उपकुलपति श्रीकृष्ण आचार्यको अध्यक्षतामा मूल समिति गठन गरियो । मूल समितिमा अरु उप–समितिका सदस्यहरु पनि थिए । 

चार वटा उपसमितिमा धार्मिक उप–समितिको अध्यक्षमा उहाँ हुनुहुन्थ्यो भने ज्योतिष समितिको अध्यक्ष भने साम्बराज आचार्य हुनुहुन्थ्यो । वैज्ञानिक उप–समितिको अध्यक्ष केशवराम जोशी । वैदेशिक उप–समितिको अध्यक्षमा खिलनाथ बस्ताकोटी ।

यसरी त्यसबेला गठन भएका चारवटा उप–समितिमा व्यापक छलफल भयो । छलफलमा सायन र निरयणको समन्वयमा २४ दिन नमिलेको देखियो । करिब १६ सय वर्ष अगाडि बराह मिहिर भन्ने ज्योतिष शास्त्रका ठूला विद्वानको पालामा यो समय मिलाइएको थियो । यस समय मिलाउनका लागि क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठीहरू पनि गरिनुपर्छ । 

भारतमा पनि यस विषयमा विवाद आएको डेढसय वर्ष भैसक्यो त्यहाँ पनि यसको समाधान निस्किएको छैन । यसमा उडिसा, पुरी, जयपुर, दिल्ली लगायत भारतका अन्य स्थानका विद्वानहरूलाई पनि बोलाएर विद्वत परिषदको छलफल गरिनुपर्छ ।

अनि छलफलबाट निस्किएको निष्कर्षको आधारमा यसको निर्णय गरिनुपर्छ भनेर चारवटै उपसमितिको समन्वयमा उहाँहरुले एउटा प्रतिवेदन पेश गर्नु भएको छ । पछि प्रचण्ड प्रधानमन्त्री तथा गोपाल किराँती सँस्कृति मन्त्री भएका बेला ‘२४ दिन नमिलेको हो यसमा बाँकी ६ दिन हो यो मिल्दै जान्छ’ भनेर सरकारले एक महिना सार्ने निर्णय गर्यो । ११ महिनाको एक वर्ष गरेर चाडपर्व लगायत अरु सबै सार्ने भन्ने सरकारले त्यसबेला निर्णय समेत गर्यो । 

त्यसबेला पशुपतिको मूल पुजारी फेरेर विष्णु दाहाललाई मूल पुजारी समेत बनाइएको थियो । त्यसबेला यो सबै कुराको विरोध भयो । संघर्ष समिति पनि बन्यो । सरकारले आफ्नो निर्णय लागू गर्न सकेन । अझै पनि ११ महिनाको एक वर्ष गर्नुपर्छ भन्ने विषयमा विवाद छँदैछ । मलमास भएको समयमा ११ महिनाको एक वर्ष बनाउनुपर्छ भन्ने उहाँहरुको तर्क छ । यस विषयमा सर्वोच्चमा रिट समेत परेको छ । 

समितिमा रहनु भएका जगमान गुरुङ, दीर्घराज घिमिरे र विद्यादेवी बज्राचार्य भने यस विषयमा मौन हुनुहुन्छ । उहाँहरु बैठकमा उपस्थित रहनु भएन । ११ महिनाको वर्ष गर्नुपर्छ भन्नेमा दिनेशराज पन्त, साम्बराज आचार्य र कीर्तिमर्दन जोशी हुनुहुन्छ । 

रामचन्द्र गौतम, सूर्यप्रसाद ढुंगेल र खिलनाथ बस्ताकोटी भने ११ महिनाको वर्ष बनाउनु हुँदैन भन्ने पक्षमा हुनुहुन्छ । ११ महिनाको एकवर्ष नगरी हाम्रा चाडपर्व वर सर्दैनन् । तर, यसो गर्दा सबै बिग्रन्छ । ११ महिना गर्नुपर्छ भन्नेहरूको तर्क भने मलमास नलिने भन्ने छ । 

३२ महिना १६ दिन ४ घडीमा मलमास पर्छ । एकपटकको मलमासलाई सामान्य महिना सरह मान्नुपर्छ भन्ने उहाँहरुको तर्क छ । त्यसका लागि पूर्वाधार बनाउनु पर्छ अनि लामो दिनसम्म सम्बद्ध पूर्णिमा, छोटो दिनसँग सम्बद्ध पूर्णिमा, लामो दिनसँग सम्बद्ध संक्रान्ति, छोटो दिनसँग सम्बद्ध संक्रान्ति भनेर लेख्नुपर्छ भन्ने उहाँहरुको भनाई छ । 

तर, त्यसो गर्न सकिँदैन भन्ने हाम्रो भनाई अर्थात शास्त्रको भनाई छ । यो चाडपर्व एक महिना अघि सार्ने अर्थात ११ महिना बनाउने पूर्वाधार हो । तर, त्यो गर्न मिल्दैन भन्ने शास्त्रको भनाई हो । अहिलेसम्मका गुरुहरुले पनि यसो गरेका छैनन् । भारतका गुरुहरूले पनि यसो गर्न सकेका छैनन् । ११ महिनाको व्यक्तिगत पात्रो पनि निकालेका छन्, तर, त्यसलाई कसैले मानेका छैनन् । 

हामीले मलमास नमान्ने भन्ने कुरै आउँदैन । मलमासका सारा कुराहरु हाम्रा शास्त्रमा छन् । अहिले गएको असोजमा मलमास थियो । अधिक शुक्लमा कसैको मृत्यु भयो वा जन्म भयो भने उसको जन्म वा मृत्युको तिथि आश्विन शुक्ल पक्षमा नै हुन्छ । 

जस्तै आश्विन अधिक शुक्ल पञ्चमी तिथिमा कसैको मृत्यु भयो वा जन्म भयो भने उसको जन्म वा मरण तिथि आश्विन शुक्ल पञ्चमी नै हुन्छ । तर, कसैको जन्म वा मृत्यु धिक आश्विन कृष्ण पञ्चमीमा भयो भने उसको जन्म वा मरण तिथि एक महिना पर जान्छ । कात्तिक कृष्ण पञ्चमी हुन पुग्छ । त्यसकारण यो मलमासलाई नलिने भन्ने कुरा हाम्रा शास्त्र विरुद्ध हुनजान्छ ।

मलमासमा के गर्न हुन्छ वा हुँदैन भन्ने शास्त्रमा व्यापक व्यवस्था छ । यस्ता व्यवस्था सबै खतम हुन्छन । त्यसकारण यो मलमासलाई सामान्य महिना सरह मान्ने भन्ने कुरा शास्त्र सिद्ध हुँदैन । त्यसकारण यो व्यवस्था गर्न सकिँदैन भन्ने हो । यस्ता अन्य उदाहरण पनि धेरै छन् । 

११ महिना बनाउनुपर्छ भन्नेहरूको तर्क भने एकपटकको मलमासलाई नमानेपछि सबै मिल्न आउँछ भन्ने रहेको छ । तर, यसो गर्दा हाम्रा धर्मशास्त्र अनि ज्योतिषशास्त्र सबै खतम हुन्छन् । एक महिना वर सार्नुपर्छ भन्ने कुनै शास्त्रमा छैन । त्यसकारण यो मिल्दैन भन्ने हाम्रो भनाई हो । यस विषयमा सर्वोच्चमा मुद्दा परेको एकवर्ष भयो । तर, यस्तो विषयमा सर्वोच्चले निर्णय गर्न सक्छ जस्तो लाग्दैन । कि त शास्त्रज्ञ चाहियो सर्वोच्चमा पनि भन्नुहुन्छ उहाँ । 

अर्को एकथरी भने यसलाई सार्नै पर्दैन भन्नेहरु पनि छन् भन्नुहुन्छ उहाँ । अहिले २४ डिग्री नमिलेको हो । २७ डिग्रीसम्म पुगेपछि फेरि फर्केर घट्दै आउँछ र शून्य हुन्छ । त्यसकारण सार्नु पर्दैन आफैं मिल्छ भन्ने उहाँहरुको भनाई छ । 

हाम्रा चाडपर्वहरू ७२ वर्षमा एकदिन वर आउँछन् । अब यो मिल्छ मिल्दैन भन्ने कुराको टुंगो लगाउन पनि तीन ७२ वर्ष चाहिन्छ । अर्थात २१६ वर्ष चाहिन्छ । २१६ वर्ष अगाडि चाहिँ यो सम्भव छैन । 

२१६ वर्षपछि घटेर आउँछ मिलाउनु पर्दैन भन्ने एकथरी ज्योतिषको भनाई छ भने अर्कोथरी ज्योतिष भने यो २७ डिग्रीबाट पनि झन बढेर जान्छ भन्ने छ । हाल पञ्चाङ्ग निर्णायक समतिका अध्यक्ष ज्योतिष श्रीकृष्ण अधिकारीको भनाई भने २७ डिग्री पुगेपछि यो घट्दै आउँछ भन्ने छ । 

भारतमा पनि यस्तै विवाद छ । वर सार्नुपर्छ भन्ने पनि छन् । पर्दैन भन्ने पनि छन् । तर, हाल चलिरहेका विश्वनाथ पञ्चाङ्ग, ऋषिकेश पञ्चाङ्ग जस्ता ठूला चलेका पञ्चाङ्गले यस कुरालाई मानेका छैनन् । 

अकाशीय ग्रह गतिको हिसाबमा अहिलेसम्म मिलिरहेको छ । आकाशको घटना र यहाँ हामीले लेखेको कुरा मिलिरहेको छ अहिलेसम्म । त्यसकारण २१६ वर्षयता सुधार गर्नुपर्दैन । २१६ वर्षपछि भने हेर्नुपर्छ । नमिल्ने र मिल्ने भन्ने कुरा त्यसबेलामा मात्र थाहा हुन्छ । त्यसकारण यो गर्न मिल्दैन हुन सक्दैन । 

(उज्यालाे सहकर्मी वैद्यनाथ पाैडेलले प‍ं रामचन्द्र गाैतमसँग गरेकाे कुराकानीमा आधारित)

अन्तिम अपडेट: चैत १३, २०८०

प‍ं रामचन्द्र गाैतम

गाैतम नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया