माधव र प्रचण्डले 'शेरबहादुरवाद' लेखे हुन्छ : ओली

 असोज ६, २०७८ बुधबार १९:१६:१० | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डलाई शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्न सुझाव दिनुभएको छ ।   

नेकपा एमाले बाँकेले नेपालगञ्जमा आयोजना गरेको वृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘माधव नेपाल र प्रचण्डले शेरबहादुरवाद, नेकावाद, पिछलग्गुवाद लेख्नुपर्नेमा अझै मार्क्सवाद, लेनिनवाद, एकीकृत समाजवाद लेखिरहेका छन् ।’ 

अध्यक्ष ओलीले माधव नेपाललाई केही समयमै दुई/चार जना लिएर कसैको दैलोमा जाने बताउनुभयो । ओलीले भन्नुभयो, ‘पार्टीलाई गलत ढङ्गले कब्जा गर्ने प्रयास भएको थियो । कार्यकर्ताले त्यसलाई निस्तेज पारिदिए । नदीको छालले फोहरमैलालाई किनारामा पुर्‍याए जसरी किनारामा पुर्‍याइदिए ।’

अध्यक्ष ओलीले माधव नेपालको राजनीति सकिएको टिप्पणी गर्नुभयो । ‘रसुवामा एउटा बाटो छ । त्यहाँ गाई चर्दै गएपछि फर्किने ठाउँ छैन । माधव नेपाल त्यही बाटोमा हिँडिरहेका छन् । यिनको राजनीति फर्किँदैन’, उहाँले भन्नुभयाे ।  

ओलीले यही चुनावपछि प्रचण्डको सेखी झर्ने ठोकुवा गर्नुभयो । ‘प्रचण्डले कहिलेकाहीँ राम्रो कुरा गर्छन् । ‘अस्ति कता हो, दुई वर्षपछि म एक्लै हुन्छु कि क्या हो भनेछन्’, ओलीले भन्नुभयो, ‘धेरै भाग खान हिँडेका थिए । अब सकिन्छन् ।’

ओलीले माधव नेपाल र प्रचण्डको दिमागमा पद, मान, सम्मानमात्रै रहेको बताउनुभयो । ‘यिनीहरूले हिमालतिर हेर्दैनन्, खाली सिंहदरबारतिर मात्रै हेर्छन्’, ओलीले भन्नुभयो । 

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले परमादेशबाट बनेको सरकारले केही गर्न नसक्ने बताउनुभयो । ‘यो सरकार त मुद्दा लडेर जाली किर्ते पाराले बनेको हो । पाँच दलीय गठबन्धनको यो सरकारले केही गर्नेवाला छैन, ओलीले भन्नुभयो, ‘गठबन्धनमा चन्द्रमुखी छन् । कोही कता फर्केका छन्, कोही कता फर्केका छन् ।’

लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल, लीला गिरी, मो. हारुनलगायतले एमालेलाई एक ढिक्का बनाएर अघि बढ्न अनुरोध गर्नुभयो ।  

पार्टी अध्यक्ष ओलीको भाषण सुन्न ठूलो सङ्ख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति थियो । त्यसअघि ओलीले बर्दियामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया