अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, ‘सस्तो शुल्क’ मा सोझै नेपाली बैँकको खातामा पैसा पठाउन सकिने

 असोज ८, २०७८ शुक्रबार १९:५६:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको लाेकप्रिय एपमध्येकाे एक हाम्रो पात्रोले रेमिट्यान्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपालमा पैसा पठाउन सकिने सेवासमेत थपिएको हो ।

आज शुक्रवारदेखि सुरु भएको यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा पैसा पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा पैसा पठाउन सकिने हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले जानकारी दिनुभयाे । 

तत्काल अमेरिकामा रहेका नेपालीका लागि उपलब्ध यो सेवा आउँदा दिनमा क्रमशः अस्ट्रेलिया, जापान, दक्षिण कोरिया हुँदै अन्य देशमा समेत विस्तार गरिने संस्थापक उप्रेतीले जानकारी दिनुभयाे । 

‘हाम्रो पात्रो एपमार्फत प्रयोगकर्ता आफैँले रकम पठाउन सकिने भएपछि त्यसका लागि हाम्रो ओभरहेड (जनशक्तिमा लाग्ने खर्च) एकदमै कम हुन्छ’, उहाँले भन्नुभयाे, ‘जसले गर्दा न्यूनतम सेवा शुल्कमा विदेशबाट रेमिट्यान्स नेपाल पठाउन सम्भव भएको हो ।

कम्पनीले अहिले बजारमा उपलब्ध रेमिट्यान्स सेवाको तुलनामा आफ्नो सेवा निकै सस्तो रहेको दाबी गरेको छ ।

रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत सार्वजनिक गरेको छ । जसअनुसार दशैँ–तिहारको अवसरमा प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा पैसा पठाउन सक्नेछन् ।

तत्कालका लागि रेमिट्यान्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा पैसा जम्मा हुने भन्दै कम्पनीले एक महिनाभित्र एपमाइन्स्टेन्ट (तुरुन्तातुरुन्तै) रकम पैसा ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध हुने बताएकाे छ ।

पात्रोको रूपमा सुरु भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरक्स अर्थात् विदेशी मुद्राको नेपाली विनिमय दर हेर्न सकिने सुविधा दिँदै आएको छ । अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिट्यान्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा पैसा पठाउने सबैभन्दा सहज विकल्पको रूपमा रहने हाम्रो पात्रोले विश्वास लिएकाे छ ।

रेमिट्यान्स सेवाका लागि कम्पनीले सम्बन्धित देशका लाइसेन्स होल्डरसँग सहकार्य गरेको छ । प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्लेस्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ । तर सम्बन्धित देशमा रहेका प्रयोगकर्ताले मात्र एपमा रहेको यो फिचरमा पहुँच पाउन सक्ने कम्पनीले जनाएकाे छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया