विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

 असोज ९, २०७८ शनिबार १३:४५:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ –  विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरि योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन बर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गर्नुभएको थियो । त्यसयता आकाशे पुलको डिजाइन गरि ठेक्का समेत लगाइए पनि अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल बनाउने ठाँउको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित् निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिला गरि ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो । नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछि र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरि योजना अघि बढाइएको छ । त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कञ्चनबाडीचोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ । महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ ।

घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कलाबिल्डर्सले आवश्यक सामाग्री र प्राविधिक भारतबाट झिकाई सके पनि बनाउने ठाँउको सुनिश्चिता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताएको छ । यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सिर्जना भएको हो । कला बिल्डर्सले त्याे ठाँउमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरे पनि स्थानीयको विरोधका कारण निर्माण कार्य रोकिएको छ । पुल निर्माण गर्न लागिएको छेउका जग्गाधनीहरुसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित् जग्गाधनीहरुले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्डर्सका प्रोप्राइटर सञ्जय यादव बताउनुहुन्छ ।

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । देखिएका विवादहरुलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उहाँको भनाई छ ।

महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याए पनि सरोकारवाला पक्षहरुसँग पर्याप्त छलफल नगरिएको र स्थानीयलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन । यसको समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्ष र निकायबीच समन्वय हुन जरुरी देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया